बाँकेको बैजनाथलाई पर्यटकीय गन्तव्य बनाइँदै

हिमाल प्रेस ५ फागुन २०७९ १२:५८
8
SHARES
बाँकेको बैजनाथलाई पर्यटकीय गन्तव्य बनाइँदै

बाँके- बाँकेको बैजनाथ गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालिएको छ। त्यसका लागि उक्त गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई प्राथमिकतामा राखेर कृषि पर्यटन प्रवर्द्धनको योजना अघि सारिएको छ।

लुम्बिनी प्रदेशसभाका सदस्य रत्न खत्रीले बैजनाथ गाउँपालिका-६ लालपुरस्थित मानसरोवर प्रतीकात्मक उद्यान प्रदेशको गौरवको योजना भएको उल्लेख गर्दै टुक्राटुक्रा अवस्थामा रहेको गाभर भ्यालीलाई एकीकृत गरेर विकास गर्न चक्रपथ निर्माणको काम अघि बढाइएको बताए। गाभर क्षेत्रमा सो चक्रपथ निर्माणपछि दृश्यावलोकन गरेर पर्यटकले भरपुर आन्नद लिन सक्नेछन्।

‘पर्यटनबाट यस क्षेत्रमा स्थानीयलाई आयआर्जन गर्न सहज अवस्थाको सिर्जना हुनुका साथै यसले यहाँको वास्तविक अवस्थाको पहिचान हुन्छ,’ खत्रीले भने।

बैजनाथ गाउँपालिका-१ चिसापानीका वडाध्यक्ष रुपबहादुर मल्लले गाभर उपत्यकालाई चारतिरबाट समेट्ने गरी करिब १८ किलोमिटर चक्रपथ निर्माणको काम अघि बढेको जानकारी दिए। उनले करिब २ किलोमिटर क्षेत्रमा ट्र्याक निर्माणको काम बाँकी रहेको उल्लेख गर्दै सडक निर्माणको काम सुरु हुन लागेको बताए।  वडाध्यक्ष मल्लले पहाडी क्षेत्रमा उकालो चढेर माथि गएपछि दृश्यावलोकन गर्न सकिने बताए।

सहरी विकास तथा भवन कार्यालय नेपालगञ्जका अनुसार सो सडक निर्माण अघि बढाउन लुम्बिनी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा एक करोड बजेट छुट्टाइएको छ। मानसरोवर उद्यानका लागि १० लाख मात्रै छुट्याइएको र अर्को आर्थिक वर्षमा यसलाई प्राथमिकतामा राखिने बताइएको छ।

गाभरमा सडक निर्माण भएपछि पदयात्राका लागिसमेत महत्त्वपूर्ण कदम हुने स्थानीय बासिन्दा बताउँछन्। गाभरमा रहेको लायन्स उद्यान तथा होमस्टे र गाभर उपत्यका पछिल्लो समय पर्यटकीय क्षेत्रको रूपमा परिचित छ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा केही भाग पर्ने भएकाले निकुञ्जसँग समन्वयको काम अघि बढाइएको छ। कोहलपुर नजिकैको चारैतिरबाट जंगल र स-साना पहाडले घेरिएको गाभर रमणीय स्थानको रूपमा रहेको छ।

प्रकाशित: ५ फागुन २०७९ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 15 =