पोखराको नयाँ पर्यटकीय गन्तव्य पचभैया प्राणी उद्यान

हिमाल प्रेस २० फागुन २०७९ १५:१४
8
SHARES
पोखराको नयाँ पर्यटकीय गन्तव्य पचभैया प्राणी उद्यान

गण्डकी- सात तालको बगैँचा सहर लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुला भएको छ। बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर प्राणी उद्यान केन्द्र निर्माण गरिएको हो।

गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय कास्कीले हेर्ने गरी स्थानीय सर्वसाधारण, वन उपभोक्ता समितिका प्रतिनिधि र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा व्यवस्थापन समिति गठन गर्दै केन्द्र सञ्चालनमा ल्याइएको हो।

खुला चिडियाखानाको अवधारणासहित सञ्चालनमा आएको केन्द्र सर्वसाधारणका लागि खुला गरिएको पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले जानकारी दिए। उनका अनुसार केन्द्रको अवलोकन गर्न विद्यार्थीका लागि १५ रुपैयाँ र सर्वसाधारणका लागि २५ रुपैयाँ टिकट दस्तुर तोकिएको छ।

उक्त केन्द्रको अवलोकन गर्न पछिल्लो समय विभिन्न विद्यालयबाट विद्यार्थी आउने गरेका छन्। आगामी दिनमा यो केन्द्र पोखराको अर्को नयाँ पर्यटकीय गन्तव्य बन्ने विश्वास लिइएको ढकाल बताउँछन्। केन्द्रमा पुग्ने सर्वसाधारणले त्यहाँ चितुवा, निलगाई, रतुवा मृग, चित्तललगायको अवलोकन गर्न पाउँछन्। त्यस्तै चरीबाग, वन बिरालो, स्याल, अजिङ्गर, सेता गिद्ध, लाटोकोसेरो, मयुर, कछुवालगायत गरी विभिन्न २२–२३ प्रजातिका वन्यजन्तु तथा पंक्षी अवलोकन गर्न पाउने ढकालको भनाइ छ।

वन्यजन्तुको अवलोकनसँगै यस क्षेत्रमा रहेका विभिन्न धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षण र प्रवद्र्धनमा पनि जोड दिइएको ढकालले बताए। ‘खुला चिडियाखानासँगै यसक्षेत्रका ऐतिहासिक एवं धार्मिक महत्त्वका सीता गुफा, बज्रमुष्ठी मन्दिर, नागाबाबाको तपस्थलको पनि संरक्षण र विकास गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘यी स्थललाई पनि यहाँको पर्यटनसँग जोड्ने धेरै सम्भावना छ।’

सीता गुफा राम्रै पर्यटकीय गन्तव्य बन्न सक्ने भए पनि यसको संरक्षणसँगै प्रचार प्रसार हुन नसकेको उनको भनाइ छ। धार्मिक महत्त्वको बज्रमुष्ठी मन्दिरसँगै देवनाथ बाबाले सिद्धिप्राप्त गरेको भुशनपुरको थाप्लोलाई पनि संरक्षण गरी धार्मिक पर्यटनको गन्तव्य बनाउन सकिने सम्भावना रहेको ढकालले बताए।

स्थानीयले यसै क्षेत्रमा प्राचीनकालदेखि रहेको प्राकृतिक तोरी पेल्ने कोललाई पनि संरक्षण गर्नुपर्ने माग गर्दै आएका छन्। यस क्षेत्रमा चिडियाखाना स्थापना गर्ने सोच विसं २०६७ देखि सुरु भएको युनाइटेड क्लबका पूर्वअध्यक्ष एवं अभियन्ता हिमालय बख्रेल बताउँछन्। क्लबको पहल एवं स्थानीयको सक्रियतामा यसको निर्माणकार्य अघि बढेर सञ्चालनमा आउनु आफैमा महत्वपूर्ण रहेको उनको भनाइ छ।

युनाइटेड क्लबले प्रत्येक वर्ष गर्दै आएको पोखरा महोत्सवको आम्दानीमध्ये २० प्रतिशत रकम यो चिडियाखाना निर्माणको लागि छुट्याउने गरिएको छ। केन्द्र परिसर एवं रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा वनस्पति पाइन्छन्। रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चरा पाइन्छन्।

केन्द्रको पूर्वी भाग रुपातालसँग जोडिएको हुँदा यसको निर्माणसँगै रुपातालको पनि संरक्षण हुने विश्वास विश्वास छ। पोखराबाट जम्मा २५ किलोमिटर टाढा रहेको पचभैयामा निर्मित प्राणी उद्यान केन्द्र पोखरामा पर्यटकको बसाइ लम्ब्याउन पनि उत्तिकै महत्वपूर्ण बन्ने विश्वास लिइएको चापापानी चिसाकुना सामुदायिक वनका उपाध्यक्ष निर्मल अधिकारीले बताए।

पर्यटक लक्षित गरी गण्डकी प्रदेश सरकारको सहयोगमा चापापानीबाट भ्यूटावर र रुपाताल जाने पदमार्ग निर्माण गरिएको छ। केन्द्र सञ्चालनका लागि अघिल्लो वर्ष प्रदेश सरकारबाट एक करोड ५० लाख रुपैयाँ छुट्याइएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले जानकारी दिए।

उनका अनुसार उक्त रकमबाट पदमार्गसँगै केन्द्र जाने लिंकरोडमा भत्किएको बाटो मर्मत पनि गरिएको छ। केन्द्र सञ्चालनका लागि एक जना व्यवस्थापकसहित तीन जना कर्मचारी छन्। रासस

प्रकाशित: २० फागुन २०७९ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 10 =