विद्यार्थी संगठनविरुद्ध फैलाइएका भ्रम चिर्नेछौँ : अनेरास्ववियु अध्यक्ष बडाल

हिमाल प्रेस ५ फागुन २०७९ १०:२६
20
SHARES
विद्यार्थी संगठनविरुद्ध फैलाइएका भ्रम चिर्नेछौँ : अनेरास्ववियु अध्यक्ष बडाल

नेकपा एमालेसम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३औँ महाधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ। नवनिर्वाचित केन्द्रीय कमिटीले विद्यार्थीका मुद्दाहरूलाई कसरी सम्बोधन गर्ला? अनेरास्ववियुका आगामी योजना के छन्? लगायत विषयमा अध्यक्ष समिक बडालसँग हिमालप्रेसकर्मी विपिन पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंशः

अब कसरी अगाडि बढ्छ अनेरास्ववियु?

स्वतन्त्र ढंगले अनेरास्ववियुको महाधिवेशन सम्पन्न गरेका छौँ। निर्वाचनमा प्यानलबिनै स्वस्थ प्रतिस्पर्धा गर्‍यौँ। निर्वाचनमा जितहार भन्ने नौलो कुरा होइन, यसलाई सामान्य रूपमा लिनुपर्छ। यो गणितीय कुरा मात्रै हो।

अनेरास्ववियुको जिम्मेवारीबाट बाहिरिनु भएका साथीहरूलाई पार्टीमा भूमिका दिन पार्टी नेतृत्वसँग पहल गर्नेछौँ। हामी निकै चुनौतीका साथ आएका छौँ। आगामी महिना स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ। अनेरास्ववियुलाई एकताबद्ध बनाएर हाम्रो टिम अगाडि बढ्छ।

संगठनको नेतृत्वसम्म आइपुग्दा कस्ता किसिमका चुनौती भोग्नुपर्‍यो?

लामो समय अनेरास्ववियुको महाधिवेशन नहुँदा नेतृत्व जाम भयो। ऊर्जाशील समयहरू विद्यार्थीहरूले अनेरास्ववियुमै बिताउनु पर्‍यो।

नेतृत्व जाम भएर तलै बस्नुपर्‍यो। त्यसको एउटा सदस्य म पनि भएँ हुँला। अध्यक्षसम्म आइपुग्दा अनेरास्ववियुबाट धेरै कुरा सिक्न पाइयो। यसरी बोल्न सक्ने बनाएको छ।

म सबैको अनुकूलतामा काम गरेको मान्छे हो। अनुकूलतामा जिम्मेवारी प्रदान गर्दै जाने हो, प्रतिकूलतालाई सम्हालेर अगाडि बढ्नुपर्छ भन्ने भावना आइरहन्थ्यो। संगठनलाई त्यसै गरी अगाडि बढाउँछु।

पार्टी संगठनबाट कत्तिको हस्तक्षेप भयो?

हामी पार्टीकै गाइडलाइनमा छौँ। पार्टीले उत्कृष्ट विद्यार्थीको संगठन बनोस् भन्ने चाहेको छ। हामीले संगठनात्मक संरचना प्रणालीभित्र स्वस्थ प्रतिस्पर्धा गरेका छौँ।

प्यानलबिनै स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गरेका छौँ, पार्टीले हस्तक्षेप गरेको छैन। बरु नेतृत्वले सहज बनाइदिनुभयो। यसका लागि पार्टी नेतृत्वलाई पनि धन्यवाद दिनुपर्छ।

नेपालको विद्यार्थी संगठनहरू अधिवेशन गर्न सक्दैनन्। गरे पनि नेतृत्वका लागि काटमार, कुटपिट गर्ने प्रवृत्ति छ। त्यस्तो प्रवृत्तिलाई गतिलो झापड दिएका छौँ, सकारात्मक सन्देश दिएका छौँ।

अबको योजना के ?

विद्यार्थी संगठनको भूमिकाविरुद्ध प्रश्न खडा गरिन्छ। अब उत्तर खोज्ने थलोको रूपमा विकास गर्नेछौँ। नेपालका विश्वविद्यालयसम्मका विद्यार्थीहरूको समस्या समाधान गर्न अग्रसर हुनेछौँ। अहिले हाम्रो पूरै ध्यान भनेको आगामी महिना हुने स्ववियु निर्वाचनमा छ। त्यसको तयारीमा लाग्छौँ।

त्यसपछि दुई वर्षे कार्यकाल कार्ययोजना बनाएर सार्वजनिक गनेछौँ। अबको नेतृत्वले के गर्ला? सही ढंगले लैजाला कि नलैजाला? भनेर चिन्ता व्यक्त गर्ने सबै सरोकारवालाको विश्वासलाई टुट्न दिने छैन।

विद्यार्थी संगठनमाथि अहिले सामाजिक सञ्जालमा अभियन्ता भनिनेहरूले विभिन्न प्रश्नहरू उठाइरहेका छन्। सामाजिक सञ्जालमा भ्रमहरू सिर्जना गरिएका छन्। त्यस्ता भ्रमहरू चिर्दै जानेछौँ।

अब सिर्जनात्मक कामहरू, सीमा जागरण अभियान, जनजीविकाका सबालका हरेक मुद्दामा राज्यको दरिलो प्रतिपक्ष भएर आम विद्यार्थीका बीचमा लैजाने अभियानमा लाग्नुपर्छ। लाग्छौँ।

प्रकाशित: ५ फागुन २०७९ १०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =