उपाधि दौड कब्जा गर्ने सिटीको संकेत

हिमाल प्रेस ४ फागुन २०७९ १२:४२
22
SHARES
उपाधि दौड कब्जा गर्ने सिटीको संकेत

काठमाडौँ- केही खेलमा अप्रत्याशित हार व्यहोर्दा उपाधि दौडमा पछि परेको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा फर्किएको छ। शीर्षस्थानमाथि कब्जा जमाउन सिटीले बुधबार राति आर्सनलमाथि ३–१ को जित दर्ता गर्‍यो। यो हारपछि आर्सनल दोस्रो स्थानमा झर्‍यो।

अब सिटीको २३ खेलबाट ५१ अंक भएको छ। एक खेल कम खेलेको आर्सनलसँग पनि ५१ अंक नै छ। तर गोल भिन्नतामा आर्सनल सिटीभन्दा तल परेको हो।

इमिरेट्स रंगशालामा लिग लिडरलाई हराएपछि सिटीले राहत मसुसस गरेको छ। केही समययता सिटीको प्रदर्शनमाथि प्रश्न उठिरहेको थियो। घरेलु मैदानबाहिर लगातार दुई खेलमा सिटी पराजित भएपछि पेप ग्वार्डिओला दबाबमा थिए। तर एक महिनाअघि आर्सनलभन्दा आठ अंकले पछि परेको सिटी अब उपाधि रक्षा अभियानको बाटोमा अघि बढेको छ।

दोस्रो हाफमा ज्याक ग्रिलिस र एर्लिङ हालान्डले गोल गरेपछि ग्वार्डिओला मन खोलेर खुसीयाली मनाए। उनको मुहारमा प्रस्ट देखिन्थ्यो, अब उनी दबाबमुक्त भएका छन्। कम्तीमा केही समयका लागि।

इमिरेट्स रंगशालामा अग्रता भने पाहुना टिम सिटीले लिएको थियो। केभिन डे ब्रुएनाले २४ औँ मिनेटमा चलाखीपूर्वक गरेको गोलको जवाफ बुकायो साका ४२ औँ मिनेटमा दिए। उनले पेनाल्टीमा गरेको त्यो गोल विवादरहित भने थिएन।

दोस्रो हाफको ७२ औँ मिनेटमा ग्रिलिसले एल्काई गुन्डोगनको पासमा गोल गरेपछि भने सिटी एकपल्ट फेरि अघि बढेको थियो। त्यसपछि ८२ औँ मिनेटमा हालान्डले पेनाल्टी बक्सभित्रबाट गरेको गोलले सिटीको जित पक्का गर्‍यो।

ग्वार्डिओलाको क्षमतामाथि प्रश्न नउठेको भए पनि टिमका रुपमा सिटी ६ सिजनमा पाँचौँ पटक च्याम्पियन बन्न तयार छ कि छैन भन्ने संशय उत्पन्न भने भएको थियो। लिभरपुल, म्यानचेस्टर युनाइटेड र टोटनहमसँगै ब्रेन्टफोर्डसँग हार्नु, लिग कपबाट बाहिरिनुले सिटी ठिकठाक स्थितिमा छैन भन्ने सन्देश गएको थियो।

गत सिजन लिग जित्दा महत्त्वपूर्ण साबित भएका जाओ कान्सेलोलाई गत महिना बायर्न म्युनिख जान दिँदा सिटी कमजोर बनेको आलोचकहरू दाबी गरिरहेका थिए। तर आफ्ना पूवसहायक मिकेल आर्टेटा प्रशिक्षित टिमलाई हराएपछि भने सिटीको पुनरुउत्थान हुने विश्वास गरिएको छ।

‘अंक तालिकामा दोस्रो हुँदा हामी उपाधि दौडबाट बाहिरिएका थिएनौँ। तर थप मेहनत गर्नुपर्छ भन्ने महसुस चाहिँ भएको थियो। यो साता हामीले अभ्यासमा मेहनत ग¥यौँ। सबै खेलाडीमा एकग्रता थियौँ। आजको नतिजा अभ्यास मैदानमा गरिएको मेहनतको फल हो,’ आर्सनललाई हराएपछि सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने।

तीन सेन्ट्रल डिफेन्डर खेलाएका ग्वार्डिओलाले दोस्रो हाफमा रणनीति परिवर्तन गरेका थिए। जस अनुसार मिडफिल्डर बर्नादो सिल्भा लेफ्टब्याक पोजिसनमा सरे।

‘पहिलो हाफमा आर्सनलले दबाब सिर्जना गरिरह्यो। मैले बनाएको रणनीतिले काम गरेन। त्यसकारण दोस्रो हाफ हामीले फरक तरिकाले खेल्यौँ। आर्सनलविरुद्ध खेल्न अवश्य पनि सजिलो हुँदैन। तर स्तरीय खेलाडीले अन्ततः नतिजामा फरक पारिदिए,’ ग्वार्डिओलाको भनाइ थियो।

लिगको शीर्षस्थानमा फर्किए पनि सिटीको भविष्य अन्योलमा छ। वित्तीय नियम उल्लंघन गरेको आरोप लागेको सिटीमाथि कस्तो कारबाही हुन्छ भन्ने प्रस्ट छैन। तर कारबाही सम्बन्धी भएको व्यवस्था अनुसार सिटी प्रिमियर लिगबाट घटुवामा पनि पर्नसक्छ।

मैदानबाहिरका यो समस्याले तनाव भोगिरहे पनि सिटी प्रिमियर लिगमा केन्द्रित हुन चाहन्छ। लामो समय लिग लिडर बनेको आर्सनलसँग सिटीले अझै एउटा खेल खेल्न बाँकी छ। यो खेल अप्रिल २६ मा सिटीको मैदानमा हुनेछ।

‘अन्ततः हामी शीर्षस्थानमा फर्किएका छौँ। तर आर्सनलले हामीभन्दा एक खेल कम खेलेको छ। हामीले अझै धेरै खेल खेल्न भने बाँकी छ। यो जित बाँकी खेलका लागि प्रेरणा बन्नेछ,’ ग्वार्डिओलाले भनेका छन्।

आर्सनल सन् २००३/०४ यता लिग च्याम्पियन बन्न सकेको छैन। सुरुवाती १० खेलमा नौ जित दर्ता गरेपछि आर्सनललाई उपाधि दाबेदार मान्न थालिएको थियो। तर पछिल्लो समय आर्सनलले सोचे जस्तो नतिजा निकाल्न सकिरहेको छैन। सबैखाले प्रतियोगिताका चार खेलमा आर्सनल जितविहीन छ। फेब्रुअरी ४ मा एभरटनसँग हारेको आर्सनललाई ब्रेन्टफोर्डले बराबरीमा रोकेको थियो। अनुभवी तथा स्टार खेलाडीले भरिएको सिटीको चुनौती पनि आर्सनलले पन्छाउन सकेन।

‘सिटीसँग खेल्न साँच्चै गाह्रो छ। त्यसमाथि तीन गोल खाएपछि त खेलमा फर्कन असम्भव जस्तै हुन्छ। फेरि हामीले पाएका मौकामा पनि गोल गर्न सकेनौँ। बारम्बार गल्ती गरिरह्यौँ। यो खेल सिटीले बक्समा पाएको दुई मौकामा गोल गरेर आफ्नो पक्षमा पार्‍यो,’ मिकेल आर्टेटाले भने।

प्रकाशित: ४ फागुन २०७९ १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =