समस्यामा साना उद्योग, करोडौँ घाटा भएपछि बन्द

हिमाल प्रेस ३ फागुन २०७९ १८:५७
6
SHARES
समस्यामा साना उद्योग, करोडौँ घाटा भएपछि बन्द

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ का दीपकप्रसाद सापकोटाले तीन करोड रुपैयाँ लगानीमा सुरु गरेको टेक्सटायल उद्योगले १२ करोड घाटा ब्यहोरेपछि बन्द गरेका थिए। उनले अहिले सूर्यमुखी तेल, एसिडलगायत उत्पादन गर्ने उद्योग चलाइरहेका छन्। उक्त उद्योग पनि बन्द हुने अवस्थामा पुगेको छ। ‘उद्योगका लागि कच्चापदार्थको अभाव देखिन थालेपछि यो उद्योग पनि बन्द हुने अवस्थामा पुगेको छ’ सापकोटाले भने, ‘अहिले देशको आर्थिक अवस्था यस्तै हो कि उद्योगमैत्री वातावरण नभएर हो, उद्योग सञ्चालन खर्च पूरा गर्न पनि कठिन छ।’

अर्का व्यवसायी सुकबहादुर दराईले गैँडाकोट–७ मा सञ्चालन गरेको दालमोठ उद्योगमा १ करोड रुपैयाँभन्दा बढी घाटा भएपछि उद्योग बन्द गरिएको बताए। ‘उद्योग बन्द गरे पनि ऋण तिर्न बाँकी नै भएपछि ३ बिघा जमीन पनि बेचेँ’ उनले भने, ‘उद्योग पूरै घाटामा गयो । ऋण तिर्न पनि जमीन बेच्नु प¥यो।’ राज्यले आफूहरूको समस्या कहिल्यै नबुझेको उनको गुनासो छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अहिले ६ हजारभन्दा बढी उद्योग सञ्चालनमा छन्। जिल्ला उद्योग संघ नवलपुरका अनुसार कोरोना महामारीपछि जिल्लाका २० प्रतिशत उद्योग बन्द भएका छन्। सरकारले लगानीमैत्री वातावरण नबनाएको भन्दै यहाँ सञ्चालित अन्य उद्योग पनि बन्द गर्ने मनसायमा पुगेको उद्योगी÷व्यवसायी बताउँछन्।

आर्थिक संकटका कारण मानसिक तनाव पनि बढ्दै गएको उद्योग वाणिज्य संघका महासचिव छविलाल कँडेलले बताए। ‘सरकारले विभिन्न अब्यावहारिक सर्त अगाडि सा¥यो’ कँडेलले भने, ‘उद्योगमैत्री वातावरण अझै बनेको छैन।’
एकातिर उद्योग व्यवसाय बन्द हुँदैछन् भने अर्कातिर नयाँ उद्योग दर्ता हुने क्रम पनि जारी छ । पर्यटन तथा उद्योग कार्यालय नवलपुरको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनामा मात्रै दुई सय ५७ नयाँ उद्योग दर्ता भएका छन्। नयाँ दर्ताबाट समेत सरकारले राजस्व असुल गर्दै आएपनि उद्योगी व्यवसायीका लागि सरकारले उद्योगमैत्री वातावरण नबनाइदिएको उद्योगी व्यवसायी बताउँछन्।

धराशयी बन्दै गएका उद्योग व्यवसायका लागि पर्यटन तथा उद्योग कार्यालयले प्रदेशस्तरीय योजना बनाएर कार्यान्वयनमा ल्याएको कार्यालय प्रमुख सागर खनालले बताए। ‘कोभिडबाट प्रभावित उद्योगको सहयोगका लागि सहुलियतपूर्ण ऋण कार्यक्रम गण्डकी प्रदेश सकारले सञ्चालन गरेको थियो’ उनले भने, ‘पर्यटन तथा सानो उद्योग प्रवद्र्धनका लागि चालू आर्थिक वर्षमा पनि विशेष कार्यक्रम सञ्चालन गरिएका छन्।’

आर्थिक संकटको सामना गरिरहेका व्यवसायी भने बन्द भएका व्यवसाय पुनः सञ्चालन गर्न राज्यको सहयोग पर्खिरहेका छन्। राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ अनुसार नेपालमा लगभग ६० हजार उद्योग छन्। तीमध्ये खानी तथा उत्खनन क्षेत्रमा तीन सय ५६, उत्पादन क्षेत्रमा ५६, विद्युत् तथा ग्यास सेवा क्षेत्रमा झन्डै एक हजार उद्योग छन्। देशभर साना तथा घरेलु उद्योग पनि उल्लेख्य छन्। रासस

प्रकाशित: ३ फागुन २०७९ १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =