साना तथा घरेलु उद्योगमा लगानी बढाउन पहल गर्छु : प्रधानमन्त्री दाहाल

हिमाल प्रेस २ फागुन २०७९ १९:१०
2
SHARE
साना तथा घरेलु उद्योगमा लगानी बढाउन पहल गर्छु : प्रधानमन्त्री दाहाल तस्बिर : रासस

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने बताएका छन्। मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको ‘१६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले साना तथा घरेलु उद्योगमा लगानी बढाउन विशेष पहल गर्ने बताएका हुन्। त्यसका लागि सहजरुपमा कर्जा पाउने व्यवस्था गरिने उनको भनाइ थियो।

साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तु प्रवद्र्धनका लागि सरकारले केही महत्त्वपूर्ण नीतिगत व्यवस्था गर्न लागेको पनि प्रधानमन्त्री दाहालले बताए। ‘सरकारको नीतिबाटै साना तथा घरेलु उद्योग प्रवद्र्धन र संरक्षण गर्न आवश्यक छ’ उनले भने, ‘त्यसका लागि छुट्टै ऐन चाहिएको छ । यस्ता उद्योगमा लगानी बढाउन सरकारले विशेष व्यवस्था गर्छ।’

केही दशकअघि नेपालले कृषिउपज र खाद्य वस्तु निर्यात गर्ने गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले नेपाली वस्तुको प्रयोग गर्वको विषय रहेको बताए । कृषिमा आधारित उद्योगको लगानीमा बढावा दिइने उनको भनाइ थियो। ‘हामी पाँच दशकअघि खाद्यान्न निर्यात गर्थ्यौँ। नेपालमा कृषिमा आधारित उद्योग बढी फस्टाउन सक्ने देखिएको छ’ उनले भने, ‘मौलिक उत्पादनलाई बजारीकरणका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने बेला आएको छ।’

लघु, घरेलु तथा साना उद्योगमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउन सरकारले नेपाल राष्ट्र बैंकमार्फत पहल गरेको पनि दाहालको भनाइ छ। त्यस्तै यस्ता उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनरतालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने उनले बताए।

अहिले मुलुक वित्तीय संकटको अवस्थाबाट गुज्रिरहेकाले त्यसको निराकरण सरकारको पहिलो दायित्व रहेको उनको भनाइ थियो। नेपाल घरेलु तथा साना उद्योग महासंघ र केन्द्रीय महिला उद्यमी समितिले आयोजना गरेको प्रदर्शनी तथा मेला फागुन ६ गतेसम्म चल्नेछ। मेला करिब २ लाखले अवलोकन गर्ने र ८ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ।
राससको सहयोगमा

प्रकाशित: २ फागुन २०७९ १९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =