मुलुकको आर्थिक क्षेत्र सुधारिँदै छः प्रधानमन्त्री दाहाल

हिमाल प्रेस १६ कार्तिक २०८० १६:२४
4
SHARES
मुलुकको आर्थिक क्षेत्र सुधारिँदै छः प्रधानमन्त्री दाहाल तस्बिर: रासस

लुम्बिनी– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारिँदै गएको बताएका छन्। त्यसका लागि सरकारले बृहत योजना बनाएर काम गरिरहेको उनको भनाइ छ।

बुटवलस्थित आम्दा नेपाल, सिद्धार्थ महिला तथा बाल अस्पतालको २५औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएपछि आर्थिक क्षेत्रमा धेरै सुधार भएको उल्लेख गर्दै अर्थतन्त्रमा परेको दबाब समाधानका लागि सरकारले सम्पूर्ण शक्ति लगाइरहेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले सरकारको लगातारको प्रयासले बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर कम हुँदै गएको दाबी गरे। ‘हामी ब्याजदरलाई एकल अंकमा नभए १० प्रतिशतभन्दा बढी नरहने गरी कायम राख्ने प्रयत्नमा छौंँ,’ उनले भने, ‘विदेशी मुद्राको सञ्चिति बढेको छ, रेमिट्यान्स र राजस्व पनि बढेको छ। जग्गाको कित्ताकाट खुल्दा घरजग्गा कारोबार बढेको छ।’ पर्यटन व्यवसायसमेत फस्टाउँदै गएको, राजस्व वृद्धिको ट्रेन्ड देखा पर्दै गएको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले मौद्रिक नीति र वित्तीय क्षेत्रको सुधारको काम भइरहेको बताउँदै उद्योगी, व्यवसायीलाई निराशा नहुन आग्रह गरे।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको उल्लेख गर्दै आफ्नो नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए। उनले गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २ हजार ८०० शय्या निःशुल्क उपलब्ध गराइएको जानकारी दिए।

‘सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रमा यस्ता धेरै काम अगाडि बढेका छन्। जसले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवं सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्दछन्।’

प्रधानमन्त्री दाहालले निकै ठूलो मेहनत र सङ्घर्षको प्रतिफलबाट नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको बताए।

प्रकाशित: १६ कार्तिक २०८० १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + five =