अनेरास्ववियुको २३ औँ महाधिवेशनको तयारी पूरा

हिमाल प्रेस २९ माघ २०७९ १५:०५
172
SHARES
अनेरास्ववियुको २३ औँ महाधिवेशनको तयारी पूरा

काठमाडौँ– नेकपा (एमाले) को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ। फागुन २ गतेदेखि काठमाडौँमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको  आइतबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएको हो।

अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ। ‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन  हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ महाधिवेशनको हुन लागेको हो।

महाधिवेशन फागुन २ गते  दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले  आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास गरिने बताएकी छन्। उनले सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदानबाट निर्वाचन गर्नेगरी प्रबन्ध मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। महाधिवेशनबाट १९९ जनाको केन्द्रीय कमिटी निर्वाचित हुनेछ।

त्यस्तै अनुशासन, लेखा र निर्वाचन आयोगमा अध्यक्ष, सचिव र सदस्यसहित १५ जनाको समिति  निर्वाचित गरिनेछ।

बरालले भनिन्, ‘महाधिवेशनको मुख्य उद्देश्य भनेको नेतृत्व छनोट गर्ने कुरा हो। हामी यो महाधिवेशनबाट १९९ जनाको केन्द्रीय कमिटी र ३ वटा आयोग निर्वाचित गर्नेछौँ।’

उनका अनुसार तीन वटा आयोगमा अध्यक्ष, सचिवसहितको १५ जनाको टिम बन्नेछ। यस्तै अध्यक्ष, सचिवसहित सदस्य १३ जनाको हुनेछन्। सकेसम्म सर्वसम्मत बनाएर नेतृत्व छनोट गर्ने प्रयास गरिने संगनठले जनाएको छ।

अध्यक्ष बरालले राज्य व्यवस्था बलियो बनाउनका लागि  स्ववियु निर्वाचन आवश्यक रहेको बताइन्। साथै विश्वविद्यालयका नीतिगत निर्णयमा हस्तक्षेप गर्नका लागि स्ववियु निर्वाचन चाहिने उनको भनाइ छ।

उनले भनिन्, ‘क्याम्पस प्रशासनबाट विद्यार्थीको भावनालाई सम्बोधन गराई निर्णय गराउन पनि स्ववियुको आवश्यकता छ।’ उनले अनेरास्ववियुका लागि स्ववियु निर्वाचन सबैभन्दा माथिको विषय रहेको बताइन्।

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनमा देशभरका क्याम्पसहरूबाट १ हजार पाँच सयभन्दा बढी प्रतिनिधिको उपस्थिति हुने जनाइएको छ।

असहजताका बीच स्ववियु निर्वाचन झेल्दैछन् ठूला संगठन

 

प्रकाशित: २९ माघ २०७९ १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fourteen =