अनेरास्ववियुमा नेतृत्वको हस्तक्षेप कि चुनाव?

हिमाल प्रेस १० माघ २०७९ १९:११
44
SHARES
अनेरास्ववियुमा नेतृत्वको हस्तक्षेप कि चुनाव?

काठमाडौँ- नेकपा एमालेले भ्रातृ संगठनको महाधिवेशन/अधिवेशनको मिति तय गरेको छ। लामो समयदेखि रिक्त जनवर्गीय संगठनलाई एमालेले पूर्णता दिँदैछ। एमालेले एमालेले २३ मध्ये नौ वटा जनसंगठनको अधिवेशन चैत मसान्तभित्र सक्ने तयारी गरेको छ।

एमालेले अनेरास्ववियुको महाधिवेशन फागुन २ देखि ४ गते, खेलकुद महासंघको फागुन ७ देखि ९ गते, रिटर्नी फेडरेसनको चैत ११ र १२, आदिवासी जनजाति महासंघको फागुन १७ र १८ गते, पिछडा वर्ग महासंघको चैत २२ र २३ गते, अनेमसंघको चैत २५ र २६ गते, राष्ट्रिय युवा संघको चैत २७ देखि २९ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।

यसैगरी अखिल नेपाल किसान महासंघको महाधिवेशन चैत २६ देखि २८ गते गर्ने निर्णय भएको छ। राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन पनि यही समयमा पर्ने भएकाले अधिवेशन तोकिएको मितिमा हुन्छ या हुँदैन भन्ने अन्योल छ।

भ्रातृ संगठनको महाधिवेशनमा चुनावमार्फत भन्दा पनि सर्वसम्मतिबाट चुन्ने प्रयास भइरहेको छ। हालसम्मका भ्रातृ संगठनमा चुनाव नभएकाले पार्टीले हस्तक्षेपबाटै नेतृत्व चुनिने सम्भावना छ। एमालेको सबैभन्दा सक्रिय भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को चुनाव नगर्ने पक्षमा पार्टी नेतृत्व देखिएको छ।

यद्यपि अखिलले महाधिवेशन भव्य रूपमा सम्पन्न गर्न जिल्ला–जिल्लामा पत्राचार (परिपत्र) गरिसकेको छ। अखिलको महाधिवेशनमा एक हजार सात सय प्रतिनिधि हुनेछन्।

पार्टीको हस्तक्षेप!

अखिलले विवादका बीच महाधिवेशन तोकेको छ। स्वतन्त्र विद्यार्थी अधिवेशनका समयमा नगर्न माग गर्दागर्दै महाधिवेशन तोकियो। अध्यक्ष सुनिता बराल र महासचिव समिक बडालको चाहानामा महाधिवेशन फागुन २ मा तोकिएको हो।

महाधिवेशन मितिका विषयमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने असन्तुष्ट छन्। अखिलमा केही महिनाअघिबाटै अध्यक्षबाट बरालले राजीनामा दिनुपर्ने माग उठेको थियो।

एमालेका केन्द्रीय सदस्य भइसकेकाले उनले भ्रातृ संगठन छाड्नुपर्ने माग विद्यार्थी नेताबाटै उठेको थियो। ‘हामीले माग उठायौँ। तर उहाँलाई पार्टीले पनि हस्तक्षेप गर्न चाहेन’, अखिलका एक नेतालले भने।

बराल पनि एमालेको प्रतिनिधिसभा सदस्य हुन्। समानुपातिक सांसद रहेकी उनले संगठनबाट राजीनामा दिएकी छैनन्। ती नेता भन्छन्, ‘हामीले अरू माग राखेका होइनौँ। उहाँ (सुनिता बराल) नै आयोजक कमिटीको अध्यक्ष बन्नुभयो।’ त्यसैले बरालले आफ्नै निकट व्यक्तिलाई अध्यक्ष बनाउन चाहेको भन्दै विद्यार्थी संगठनभित्र विवाद छ।

को होला अध्यक्ष?

अनेरास्ववियु अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडाल, उपाध्यक्षहरू मोती विक ‘महेन्द्र’, झपिन्द्र खत्री र लोकेश निरौलाले दाबी गरिरहेका छन्। अध्यक्षका मुख्य दाबेदार लामिछाने र बडाल मानिन्छन्।

२२ औँ महाधिवेशनमा नवीना लामा निर्वाचित भएयता अखिलमा निर्वाचन भएको छैन। लामा अध्यक्ष बन्दा उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, शैलेश लामा, सुनिता बराल र सचिवमा आरसी लामिछाने, समिक बडाल, मकर खडका, अमृत बुढा, सुदेश पराजुली, आरती लामा, ओसिम आलम चुनिएका थिए। महासचिवमा ऐन महर निर्वाचित भएका थिए।

एमाले र माओवादी एकता भयो। एकता हुँदा अनेरास्ववियुको संयोजकमा महासचिव ऐन महर चुनिए। लामा एमालेको समानुपातिक सांसद भएसँगै संगठनबाट बिदा लिइन्। लामापछि संयोजक बनेका महरले पनि लामो समय संगठनको नेतृत्व गरेनन्।

लामा अध्यक्ष र महर महासचिव बन्दा उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, शैलेश लामा र सुनिता बराल चुनिएका थिए। उनीहरूले नै महरपछि नेतृत्वको आकांक्षा देखाए। आकांक्षा देखाउनेमा सचिवका आरसी लामिछाने र समिक बडाल पनि थिए। तर पार्टीले बराललाई अखिलको अध्यक्ष बनायो।

एमाले विभाजित हुँदा सुदेश र आरती एकीकृत समाजवादीमा लागे। महेश बर्तौला अहिले प्रतिनिधिसभा सदस्य छन्। बराल अध्यक्षमा चुनिँदा पनि लामिछाने र बडालले आकांक्षा देखाएका थिए। लामिछानेलाई वरिष्ठ उपाध्यक्ष र बडाललाई महासचिवमा थमाइयो।

अहिले यिनै पुराना आकांक्षीले दाबेदारी प्रस्तुत गरेका हुन्। अखिलको भावी अध्यक्ष को हो भन्न सक्ने अवस्था छैन। लामिछाने आफू ‘वरिष्ठ उपाध्यक्ष’ भएकाले अध्यक्षमा चुनिनुपर्ने बताउँदै आएका छन्।

विद्यार्थी संगठनको विभिन्न पदमा बसेर काम गरेको अनुभव रहेकाले आफू अध्यक्षको स्वाभाविक दाबेदार रहेको उनको भनाइ छ।

‘अनेरास्ववियु चलायमान संगठन हो। यसको नेतृत्वमा प्रतिस्पर्धा नहुने भन्ने हुँदैन। तर अहिले संगठनले मेरो नेतृत्व खोजेको छ’, लामिछानेले भने, ‘पार्टीले चैतअघि नै अखिलको अधिवेशन गर्न भनेर ताकेता गरेपछि तोकिएकै मितिमा गर्ने पक्षमा छौँ। यसका लागि सबै कमिटीलाई परिचालन गर्न परिपत्र जारी भइसकेको छ। चैतभित्रै अखिलले नयाँ नेतृत्व पाउँछ।’

बडालको अडान पनि उस्तै छ। पार्टीको प्रतिकूल अवस्थामा पनि आफूले नै नेतृत्व गरेर अघि बढेकाले अब आफैँ अध्यक्ष हुनुपर्ने उनको अडान छ। ‘मैले जुनजुन कमिटीमा रहेर काम गरेँ। त्यो पद र कमिटी पहिलो बन्यो,’ बडाल भन्छन्, ‘त्रिविमा अखिल खोज्नुपर्ने अवस्थामा थियो। मैले जित्ने अवस्थामा पुर्‍याएँ।’

प्रकाशित: १० माघ २०७९ १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =