भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा

हिमाल प्रेस २९ माघ २०७९ १०:३१
6
SHARES
भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा

काठमाडौँ- नेपाली सेनाले बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ। सेनाले त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी सम्मेलन आयोजना गर्न लागेको हो।

प्रधानसेनापति प्रभुराम शर्माले नेतृत्व सम्हालेपछि अघिल्लो वर्ष ‘भूतपूर्व सैनिक सम्मेलन’ दिपायलबाट सुरु भएको थियो। प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ गर्ने प्रचलन रहिआएको छ।

विगतमा पनि भूपू सम्मेलन हुने गरेकामा संकटकालमा केही वर्ष रोकिएको थियो। भूपू सैनिक कल्याणकारी कार्यलाई समन्वय गर्दै निरन्तरता दिने उद्देश्यले २०७० असोजमा सैनिक कल्याणकारी बोर्ड स्थापना भएपछि यस कार्यले निरन्तरता पाउँदै आएको छ।

सम्मेलनका क्रममा भूपू सैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलीयतदरमा उपलब्ध गराइने रकमको चेक हस्तान्तरण तथा ज्येष्ठ भूपू सैनिक र एकलको सम्मान गरिन्छ।

मुलुकमा भूपू तथा पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको संख्या ९७ हजार पाँच सय १५ रहेको नेपाली सैनिक कल्याणकारी बोर्डले जनाएको छ। त्यसमध्ये निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूतपूर्व सैनिकको संख्या ८१ हजार आठ सय ७२ छ भने पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको संख्या १५ हजार आठ सय ७२ रहेको छ।

सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार एवं सेवा र सहुलियतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सैनिक कल्याणकारी बोर्डबाट स्वास्थ्य र शिक्षालगायतका सेवा प्राप्त गर्ने हिताधिकारीको संख्या १० लाखभन्दा बढी छ।

प्रकाशित: २९ माघ २०७९ १०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =