पूर्वी पृतनामा ‘भूपू सैनिक सम्मेलन’

हिमाल प्रेस ३ फागुन २०८० १८:४५
14
SHARES
पूर्वी पृतनामा ‘भूपू सैनिक सम्मेलन’

इटहरी- नेपाली सेनाद्वारा आयोजित पूर्वी पृतना मुख्यालय तथा मातहतका बाहिनी र गणमा यस वर्षको ‘भूपू सैनिक सम्मेलन’ गरिएको छ।

‘सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने नारासहित यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी आयोजना गरिएको सम्मेलनको प्रधानसेनापति प्रभुराम शर्माले आज (बिहीबार) यहाँ उद्घाटन गरे।

सो अवसरमा उनले आर्थिक प्रलोभनमा परेर अरू देशको सैनिकमा भर्ना हुन नजान आग्रह गरे।प्रधानसेनापति शर्माले नेपाली सेनाको संगठनको प्रतिनिधि पात्र भएकाले भूपू सैनिकलाई उच्च अनुशासन कायम राख्न सुझाव दिँदै अन्य देशमा सेनाका रूपमा काम गर्न जानु नेपालीका लागि सुहाउँदो विषय नभएको उल्लेख गरे।

सेवामा रहँदा प्राप्त गरेका ज्ञान, सीप र अनुभव आफ्नै गाउँघर र समाजको उत्थानमा लगाउन सुझाव दिँदै उनले स्वदेशमै सम्भावनाको खोजी गरी सुखमय जीवनका लागि काम गर्न सुझाव दिए।

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले नेपाली सेना साझा शक्ति र सम्पत्ति हो भन्ने भावना जागृत तुल्याउने गरी काम गर्न भूपू सैनिकलाई सुझाव दिए।

सो अवसरमा कोशी प्रदेशका ज्येष्ठ भूपू गंगाबहादुर कटुवाल र भीमकुमारी खत्रीलाई ज्येष्ठ सम्मान प्रदान गरियो। कोशी प्रदेशमा यस वर्षको ‘भूपू सैनिक सम्मेलन’ पूर्वीपृतना इटहरी,  नम्बर २ हिले, नम्बर १८ गाईघाट, नम्बर २१ बाहिनी चारआली तथा पाँचथरको रणशेर गण र ओखलढुंगाको दुर्गा बक्स गणमा आयोजना गरिएको थियो।

सम्मेलनका क्रममा भूपू सैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलियत दरमा उपलब्ध गराइएको रकमको चेक हस्तान्तरण तथा ज्येष्ठ भूपू सैनिक र एकलको सम्मान गरियो।

भूपू सैनिकको जोसिलो मार्चपास, जिल्लागत सांस्कृतिक झाँकी र सैनिक ब्याण्ड प्रदर्शनका साथै ज्येष्ठ सैनिक तथा चारभन्दा बढी सन्तति सेनामा हुनेका मातापितालाई सम्मान र अन्तरक्रिया कार्यक्रम भयो।

सम्मेलनमा प्रस्तुत मौलिक भेषभूषासहितको गीत, संगीतसहितको नृत्य र झाँकीले यस क्षेत्रको भाषा, संस्कृति र रहनको संरक्षण, सम्वर्द्धन र उजागर गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

पुराना पल्टनियाबीचको भेटघाट र विचारको आदानप्रदानले बहालवाला र भूपूबीचका सम्बन्ध प्रगाढ तुल्याउन योगदान पुग्ने विश्वास गरिएको सम्मेलनमा सहभागीलाई टोपी, सल, ट्र्याकसुट, स्वीटरसहितको झोला र आतेजाते दैनिक भ्रमणभत्तासमेत उपलब्ध गराउने सैनिक परम्परा छ।

प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ गर्ने अभ्यास छ। सेनाले यसै वर्ष भरतपुर र काठमाडौँलाई मुख्य केन्द्र मानी मातहत विभिन्न ठाउँमा ‘भूपू सैनिक सम्मेलन’ गर्दैछ।

प्रधानसेनापति शर्माले नेतृत्व सम्हालेपछि दुई वर्षअघि दिपायलबाट सुरु भएको ‘भूतपूर्व सैनिक सम्मेलन’ अघिल्लो वर्ष बुटवल, दाङ, पोखरा, खैरेनीटार, सिन्धुली र बर्दिवासमा भएको थियो। चितवनको भतपुरस्थित नयाँ सबुज गण र नुवाकोटको त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा आगामी फागुन ११ गते पनि यसखाले सम्मेलन हुँदैछ।

२०७० असोजमा सैनिक कल्याणकारी बोर्ड स्थापना भएपछि यस कार्यले निरन्तरता पाउँदै आएको छ। मुलुकमा हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको संख्या ८७ हजार दुई छ भने पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको संख्या १६ हजार दुई सय ११ भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार एवं सेवा र सहुलियतका  विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सैनिक कल्याणकारी बोर्डबाट स्वास्थ्य र शिक्षालगायत सेवा प्राप्त गर्ने हिताधिकारीको संख्या १० लाखभन्दा बढी छ।

सैनिक कल्याणकारी कोषमा लगानी रहेकोसमेत गरी हाल ८२ अर्ब ६६ करोड १२ लाख सम्पत्ति रहेको सो अवसरमा जानकारी दिइयो। सेना भूतपूर्व सैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहुआयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा छ। सम्मेलन जीवनको महत्वपूर्ण समय सेनामा बिताएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर हो।

यस्ता सम्मेलनले सेनाको संगठन, सैनिक नेतृत्व र हिताधिकारीबीच आत्मीयता, भरोसा र विश्वास वृद्धि गर्न ठूलो सहयोग पुग्ने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउँछन्।

देश र संस्थाप्रतिको आस्था र भरोसालाई सम्मान गर्न तथा भूपूले राष्ट्रसेवामा गरेको योगदानको कदर गर्ने अवसरका रूपमा हुँदै आएको सम्मेलन भूपू सैनिकको सर्वपक्षीय सम्मुन्नति र प्रगतिमा केन्द्रित छ।

सम्मेलनका क्रममा हुने छलफल र अन्तरक्रियाले भइरहेका प्रयासको मूल्यांकन र संगठनलाई योजना तर्जुमामासमेत महत्त्वपूर्ण सुझाव प्राप्त हुने सेनाले विश्वास लिएको छ।

प्रकाशित: ३ फागुन २०८० १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =