भारतीय स्पिनरसामु निरीह बन्यो अस्ट्रेलिया

हिमाल प्रेस २८ माघ २०७९ १५:५४
2
SHARE
भारतीय स्पिनरसामु निरीह बन्यो अस्ट्रेलिया

काठमाडौँऔ ब्याटिङ र बलिङमै उम्दा प्रदर्शन गरेपछि भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा शनिबार एक इनिङ्स र १३२ रनको जित दर्ता गरेको छ। पाहुना टिमलाई तीनभित्रै धरासयी बनाएपछि भारत चार टेस्टसम्मिलित शृंखलामा १–० ले अघि बढेको छ। यी दुई टिम अब शुक्रबारबाट दोस्रो टेस्टमा आमनेसामने हुनेछन्। दोस्रो टेस्ट नयाँ दिल्लीमा हुनेछ।

पहिलो इनिङ्समा २२३ रनको अग्रता लिएको भारतका लागि बलरहरूले अस्ट्रेलियालाई दोस्रो इनिङ्समा ९१ रनमा समेट्न सफल भए। टेस्ट क्रिकेटमा अस्ट्रेलियाले भारतविरुद्ध बनाएको यो दोस्रो सर्वाधिक कम योगफल हो।

घरेलु टिमका लागि रविचन्द्रन आश्विनले ३७ रन खर्च गरेर पाँच विकेट हात पारे। टेस्ट क्रिकेटमा आश्विनले ३१ औँ पटक पाँच विकेट लिएका हुन्। आश्विनसँगै रविन्द्र जडेजाले पनि उत्कृष्ट प्रदर्शन गरे। पाँच महिनापछि पुनरामगन गरेका उनले ३४ रन खर्चिएर दुई विकेट लिए।

पाहुना टिमका कुनै पनि ब्याट्सम्यान लयमा देखिएनन्। स्टिभ स्मिथको २५ रन कुनै पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक रन रह्यो। त्यसैगरी मार्कस लाबुछाने १७ रनमा समेटिँदा डेभिड वारनर र एलेक्स क्यारे १०–१० रनमा सीमित भए।

तेस्रो दिनसम्म आइपुग्दा भारतले पहिलो इनिङ्स ४०० रनमा समाप्त गरेको थियो। शुक्रबार सात विकेट गुमाउँदै ३२१ रन बनाएर दिनको अन्त्य गरेको भारतले शनिबार ७९ रन थप्यो। अक्सर पटेल ८४ रन जोडेर आउट भए भने मोहम्मद शामीले ३७ रनमा समेटिए। त्यसैगरी मोहम्मद सिराज एक रनमा अविजित रहे।

अस्ट्रेलियाका लागि डेब्यु गरेका टोड मर्फीले १२४ रन खर्च गरेर कुल सात विकेट लिए। त्यसैगरी कप्तान पाट कुमिन्स र नाथन लियोन दुई तथा एक विकेट रह्यो।

भारतीय कप्तान रोहित शर्माले व्यक्तिगत र टिमको प्रदर्शनमा सन्तुष्टि व्यक्त गरे। ‘यसअघिका केही शृंखला चोटका कारण गुमाएको थिएँ। कप्तान भएपछि जम्मा दुई शृंखला खेल्न पाएको थियो। यसकारण यो शृंखला मेरा लागि महत्त्वपूर्ण छ। सुरुवात पनि राम्रो गर्न सकेको छु,’ टेस्ट कप्तानका रुपमा पहिलोपल्ट शतक बनाएका रोहितले भने।

उता पराजित टिमका कप्तान कुमिन्सले भारतीय स्पिनरहरू निर्णायक साबित भएको स्वीकारे। ‘भारतमा केहिलेकाहिँ खेल चाँडै सकिन्छ। यसपल्ट पनि त्यही भयो। भारतीय खेलाडीहरूले उम्दा प्रदर्शन गरे। रोहित र स्पिनरहरूले हामीलाई दबाबमा राखे। हामीले कम्तीमा थप एक सय रन जोड्नु पर्थ्याे । केही ब्याट्सम्यानको सुरुवात राम्रो थियो। तर उनीहरूले धेरै स्कोर गर्न सकेन। जे होस् मर्फीको खेलले हामी सबैलाई प्रभावित पार्‍यो,’ कुमिन्सले भने।

प्रकाशित: २८ माघ २०७९ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =