भारतीय भूमिमा अस्ट्रेलियाको दुर्लभ जित

हिमाल प्रेस १९ फागुन २०७९ १२:२२
12
SHARES
भारतीय भूमिमा अस्ट्रेलियाको दुर्लभ जित

काठमाडौँ- भारतविरुद्धको तेस्रो टेस्टमा शुक्रबार अस्ट्रेलिया नौ विकेटले विजयी भएको छ। भारतीय सहर इन्दोरको होल्कर क्रिकेट रंगशालामा ट्राभिस हेड र मार्नस लाबुसाग्नेले पाहुना टिमलाई जिततर्फ डोर्‍याएका थिए।

भारत दोस्रो इनिङ्समा १६३ रनमा सीमित भएपछि अस्ट्रेलियाले ७६ रन थपे जित पक्का हुने स्थिति थियो। अस्ट्रेलियाले तेस्रो दिन दोस्रो इनिङ्स उस्मान ख्वाजा र हेडको ब्याटिङबाट सुरु गरेको थियो।

ख्वाजा दोस्रो बलमा आउट भएपछि अस्ट्रेलियालाई सुरुवाती झट्का लाग्यो। ख्वाजाको विकेट रविचन्द्रन आश्विनले लिएका थिए। पहिलो इनिङ्समा अस्ट्रेलियालाई १९७ रनमा रोक्न उनले तीन विकेट हात पारेका थिए।

अस्ट्रेलियाका अर्का ओपनर हेडले ५३ बलमा ४९ र लाबुसाग्नेले ५८ बलमा २८ रन बनाएपछि अस्टे«लियाको जित पक्का भयो। १८.५ ओभरमा एक विकेट गुमाएर ७८ रन बनाएपछि अस्ट्रेलियाले जित सुनिश्चित त गर्‍यो नै, शृंखला नै बराबरी गर्ने सम्भावना बलियो बनायो।

आउँदो बिहीबार अहमदाबादमा सुरु हुने निर्णायक टेस्टमा अस्ट्रेलिया विजयी भए गावस्कर–बोर्डर ट्रफी बराबरीमा सकिनेछ। यसअघिका दुई टेस्टमा भारत एक इनिङ्स तथा १३२ र ६ विकेटले विजयी भएको थियो।

अस्ट्रेलियाका लागि यो जित दुर्लभ हो। भारतीय भूमिमा अस्ट्रेलियाली टेस्ट टिम सन् २००४ यता विजयी हुन सकेको थिएन। अस्ट्रेलियाका लागि पछिल्ला १७ टेस्टमा यो दोस्रो जित हो। उता भारत घरेलु मैदानमा १० वर्षमा तेस्रो पटक मात्र पराजित भएको हो।

भारतलाई हराएसँगै अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ। सन् २०२१–२०२३ बीच बलियो प्रदर्शन गरेको अस्ट्रेलियाली टिमले खेलेका १८ मध्ये ११ टेस्टमा जित हात पारेको छ। ती जितबाट अस्ट्रेलियाले ६८.५२ अंक जोडेको छ। १७ खेलबाट ६०.२९ जम्मा गरेको भारत र १० खेलबाट ५३.३३ अंक बटुलेको श्रीलंका क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाले स्थान पक्का गरे पनि उसँग भिड्ने टिमको निर्क्याेल भएको छैन। फाइनल पुग्ने दौडमा भारत र श्रीलंका छन्। फाइनल प्रवेशका लागि भारतले चौथो टेस्टमा अस्ट्रेलियालाई हराउनु पर्नेछ।

त्यो टेस्ट बराबरीमा सकिए मात्र पनि श्रीलंकाको सम्भावना बलियो बन्नेछ। न्युजिल्यान्ड भ्रमणमा रहेको श्रीलंकाले दुई टेस्ट खेल्ने तालिका छ। फाइनलमा पुग्ने सम्भावना कायम राख्न श्रीलंकाले न्युजिल्यान्डसँगको शृंखला २–० ले जित्नु पर्नेछ।

विश्व टेस्ट च्याम्पियनसिपमा बाँकी खेल :

दक्षिण अफ्रिकाविरुद्ध वेस्ट इन्डिज (दोस्रो टेस्ट), जोहानेसबर्ग, मार्च ८–१२
न्युजिल्यान्डविरुद्ध श्रीलंका (पहिलो टेस्ट), क्राइस्टचर्च, मार्च ९–१२
भारतविरुद्ध अस्ट्रेलिया (चौथो तथा अन्तिम टेस्ट), अहमदाबाद, मार्च ९–१३
न्युजिल्यान्डविरुद्ध श्रीलंका (दोस्रो टेस्ट), वेलिङटन, मार्च १७–२१

प्रकाशित: १९ फागुन २०७९ १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 18 =