‘आत्मविश्वासी अस्ट्रेलिया भारतमा टेस्ट शृंखला जित्न सक्षम छ’

हिमाल प्रेस २५ माघ २०७९ १३:५७
8
SHARES
‘आत्मविश्वासी अस्ट्रेलिया भारतमा टेस्ट शृंखला जित्न सक्षम छ’ गत जनवरीमा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखला जितेपछि अस्ट्रेलियाली टिम।

काठमाडौँ- आत्मविश्वासी र धैर्यवान अस्ट्रेलिया बिहीबारबाट सुरु हुन लागेको टेस्ट शृंखलामा भारतलाई कडा टक्कर दिन सक्षम रहेको विश्वास पूर्वबलर रायन ह्यारिसले व्यक्त गरेका छन्। इन्डियन प्रिमियर लिगको दिल्ली क्यापिटल्सलाई बलिङ प्रशिक्षण गराउने ह्यारिसले यो शृंखलामा टस पनि निर्णायक साबित हुनसक्ने विचार राखे।

ह्यारिस आशावादी देखिए पनि अस्ट्रेलियाली टेस्ट टिमका लागि भारतीय भूमि कयौँ वर्षदेखि अफाप सिद्ध भइरहेको छ। अस्ट्रेलियाले भारतमा सन् २००४ यता कुनै पनि शृंखला जित्न सकेको छैन। यद्यपि सन् २०१७ मा भने अस्ट्रेलिया जितनजिक भने पुगेको थियो।

सन् २०१६–१७ को त्यो अस्ट्रेलियाली टिमका मुख्य खेलाडी अहिलेको टिममा पनि छन्। त्यसमाथि अहिलेको टिममा ब्याटिङ विभाग थप बलियो बनेको छ। यस्तोमा पाट कुमिन्स नेतृत्वको पाहुना टिमले नागपुरमा बलियो सुरुवात गर्ने अपेक्षा ह्यारिसको छ।

‘यो टिमका कयौँ खेलाडीसँग सन् २०१७ मा पनि खेलेको अनुभव छ। यो अनुभव काम लाग्नेवाला छ। उसै पनि अस्ट्रेलिया अहिले गजबको लयमा छ। यसकारण मलाई लाग्छ अस्ट्रेलियाले आफ्नो स्तरको प्रदर्शन गरे नतिजा आफ्नो पक्षमा पार्नसक्छ,’ जुलाई, २०१५ मा अस्टे«लियाको टिमबाट संन्यास लिएका ह्यारिसले रोयटर्ससँग भनेका छन्।

कुमिन्सको नेतृत्वमा अस्ट्रेलियाली टिमको मानसिकता बलियो बनेको पनि ह्यारिसको भनाइ छ। कुमिन्सले अस्ट्रेलियालाई सही दिशामा हिँडाइरहेको बताउँदै ह्यारिसले भने, ‘कुमिन्स सारै सकारात्मक कप्तान हुन्। उनी कप्तान बनेपछि यो टिमले चित्तबुझ्दो प्रदर्शन गरेको छ। वास्तवमा यो समूहकै मानसिकता बलियो छ। अस्ट्रेलियाली क्रिकेटको इतिहासमा सफल मानिएका टिमहरूसँग यो टिम मिल्दोजुल्दो छ।’

आफ्नो टिमको प्रशंसा गरिरहँदा ह्यारिसले भारतीय टिम बलियो रहेको भन्न छुटाएनन्। भारत हाल विश्व टेस्ट क्रिकेटमा सबैभन्दा उम्दा टिम रहेकाले उसलाई उसको घरमा हराउनु चुनौतीपूर्ण रहेको उनको भनाइ थियो।

भारतसँग प्रतिभावान् स्पिनर र महत्त्वपूर्ण खेलमा शतक प्रहार गर्ने खेलाडी रहेको उल्लेख गर्दै ह्यारिसले भने, ‘यदि भारतले ४ सय रन बनाएर खेलको सुरुवात गर्‍यो भने विपक्षी टिम रक्षात्मक परिस्थितिमा पुगिहाल्छ। यसबाहेक हामीले विचार गर्नुपर्ने अर्को तथ्य हो, त्यहाँ टेस्ट बिरलै मात्र बराबरीमा टुंग्निछन्। यो शृंखलामा पनि बराबरी हुने सम्भावना न्यून छ।’

घाइते जोस हेजलउडले कम्तीमा पहिलो टेस्ट गुमाउँदैछन्। उनको अनुपस्थितिमा स्कट बोल्यान्ड, कुमिन्ससँगै नाथन लियोन र मिचेल स्विप्सन मिलेर अस्टे«लियाली बलिङ विभाग सम्हाल्ने अनुमान छ। उता भारतसँग भने प्रभावशाली बलर जसप्रित बुमराह हुने छैनन्। स्तरीय बलरको कमी नभए पनि बुमराहको अनुपस्थिति रोहित शर्मा नेतृत्वको टिमका लागि महँगो साबित हुनसक्न् ह्यारिसको अनुमान छ।

‘अस्ट्रेलियाका लागि कुमिन्स जति महत्त्वपूर्ण छन् भारतीय टिममा बुमराह त्यति नै महत्त्वपूर्ण छन्,’ अस्ट्रेलियाका लागि २७ टेस्ट खेलेका ह्यारिसले भनेका छन्।

विश्व टेस्ट च्याम्पियनसिपमा हाल अस्ट्रेलिया शीर्ष र भारत दोस्रो स्थानमा छन्। भारतमा ‘ह्वाइटवास’ टारेको खण्डमा अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्नेछ। जुन आउँदो जुनमा इंग्ल्यान्डले आयोजना गर्दैछ। ‘विश्व टेस्ट क्रिकेटमा नम्बर एक टिम हुन भारतमा शृंखला र टेस्ट याम्पियनसिप जित्न आवश्यक छ। यी दुई लडाइँ जिते मात्र आफूलाई नम्बर एक टिमका रुपमा दाबी गर्न सकिनछ,’ ह्यारिसले भने।

प्रकाशित: २५ माघ २०७९ १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + ten =