बार्सिलाेना : डेम्बेलेको अनुपस्थितिमा निर्णायक रफिन्हा

हिमाल प्रेस २८ माघ २०७९ १३:२५
18
SHARES
बार्सिलाेना : डेम्बेलेको अनुपस्थितिमा निर्णायक रफिन्हा

काठमाडौँ- यो सिजन बार्सिलोनामा महत्त्वपूर्ण साबित भइरहेका केही खेलाडीका सूचीमा पर्छन्, औसमाने डेम्बेले। ला लिगाका १८ खेलमा १० गोल र असिस्टको योगदान गरेका फ्रेन्च विंगर डेम्बेले आक्रामक बार्सिलोनामा रमाइरहेका छन्। तर पछिल्ला दुई खेलयता डेम्बेले अनुपस्थित छन्। कारण, ‘ह्यामस्ट्रिङ इन्जुरी’।

आइतबार राति बार्सिलोना भिल्लारियलसँग भिड्दैछ। यो खेलमा पनि डेम्बेले हुनेछैनन्। उनको स्थानमा रफिन्हाले खेल्ने सम्भावना छ। रफिन्हा यस्तो बेला लयमा फर्किएका छन्, जति बेला बार्सिलोना उपाधि दौडमा रियल म्याड्रिडलाई पछि पारिरहेको छ।

जनवरीको उत्तराद्र्धमा डेम्बेले घाइते भएका थिए। त्यसपछि रफिन्हाले राइट विंगमा डेम्बेलेको स्थान लिएका छन्। इंग्लिस प्रिमियर लिगको लिड्सबाट यही सिजन क्याम्प नौउ पुगेका रफिन्हाका लागि बार्सिलोनाले ५ करोड ५० लाख युरो खर्च गरेको थियो।

यत्तिको महँगो स्थान्तरण रकम तिरेका खेलाडीको सुरुवात सोचे अनुसारको हुन नसकेपछि बार्सिलोना चिन्तित बनेको थियो। पछिल्लो समय त स्पेनका सञ्चारमाध्यममा रफिन्हा आउँदो सिजन बार्सिलोनामा नहुनेसम्मको खबर आइरहेको थियो।

तर डेम्बेलेको ठाउँ लिएपछि रफिन्हाले जसरी प्रदर्शन गरेका छन्, त्यसले जाभी हर्नान्डेजलाई ब्राजिलियन विंगरप्रति सकारात्मक बनाएको हुनुपर्छ। रफिन्हा गएका तीन खेलमा पहिलो एघारमा परेका छन्। तीमध्ये दुई खेलमा त उनले गोल नै गरे।

यी २६ वर्षीय विंगरले स्वाभाविक लय समातेसँगै जाभीले टिममा आन्सु फाती र फेरोन टोरेसको भूमिका घटाइदिएका छन्। बायाँ विंगमा हाल गाभीले मौका पाइरहेका छन्।

‘मलाई थाहा छ, बाहिर रफिन्हाको आलोचना हुँदै आएको छ। तर टिममा उनको भूमिक अहम छ। उनको मेहनतलाई हामी सम्मान गछौँ, महत्त्व दिन्छौँ,’ जाभीले गत साता सेभियामाथिको जितपछि भनेका थिए, ‘उनी तीव्र गतिमा खेल्न सक्छन्। उनको यो क्षमता टिमलाई चाहिएको छ। कतिपय अवस्थामा उनी निर्णायक साबित भइरहेका छन्।’

बार्सिलोनाले पछिल्ला तीन खेलमा हराएका विपक्षी जिरोना, रियल बेटिस र सेभिया हुन्। यी तीन खेलअघि रफिन्‍हालाई जम्मा आठ खेलमा मात्र सुरुवाती एघारमा राखिएको थियो। भिल्लारियलविरुद्ध उनलाई पहिलेबाटै खेलाउने वा नखेलाउने भन्ने निर्णय लिन जाभीका लागि सजिलो छैन।

किनभने आउँदो बिहीबार बार्सिलोनाले युरोपा लिगको प्लेअफमा म्यानचेस्टर युनाइटेडको सामना गर्ने तालिका छ। त्यस खेलमा पनि रफिन्हालाई उपयोग गर्नुपर्ने हुन्छ। यसकारण जाभीले भिल्लारियलसँगको खेलमा रफिन्हालाई आराम दिएर टोरेसलाई खेलाउन सक्छन्।

भिल्लारियललाई उसको मैदानमा हराए बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँगको दूरी ११ अंकमा पुर्‍याउनेछ। हाल क्लब विश्वकपमा व्यस्त रहेको रियल आउँदाे बिहीबार मात्र ला लिगामा फर्कनेछ। त्यसबेलासम्मका लागि बार्सिलोनाले कायम गर्ने फराकिलो अग्रता स्वतः मान्य हुनेछ।

भिल्लारियल बार्सिलोनाले सजिलै हराउन सक्ने विपक्षी भने होइन। कुनै समय बार्सिलोनाकै प्रशिक्षक रहेका किके सेटिएनको नेतृत्वमा रहेको भिल्लारियल हाल छैटौँ स्थानमा छ। यद्यपि पछिल्ला दुई खेलमा अनपेक्षित पराजय भोगेकाले भिल्लारियलका खेलाडी आइतबार रातिको खेलमा मानसिक रुपमा कमजोर देखिन सक्छन्।

भिल्लारियलका अनुभवी गोलरक्षक पेपे रैना दुई हारलाई कठोर ढंगमा विश्लेषण गर्न आवश्यक रहेको बताउँछन्। ‘हामीले आफ्नो प्रदर्शनको आलोचना गर्न आवश्यक छ। किनभने हामीले ती दुई खेलमा खराब प्रदर्शन गर्‍यौँ। ती हारलाई सजिलै बिर्सन सकिँदैन,’ बार्सिलोना एकेडेमीका उत्पादन ४० वर्षीय रैनाले भनेका छन्, ‘अबको खेलमा प्रदर्शन सुधार गर्नुको विकल्प छैन। निरन्तर अघि त बढ्नु नै छ।’

ला लिगामा यो साताः

शनिबार
अल्मेरियाविरुद्ध रियल बेटिस, ९ः०० बजे
सेभियाविरुद्ध मयोर्का, ११ः१५ बजे
भ्यालेन्सियाविरुद्ध एथ्लेटिक बिल्बाओ, १ः४५ बजे

आइतबार
गेटाफेविरुद्ध रायो भाएकानो, ६ः४५ बजे
सेल्टाभिगोविरुद्ध एट्लेटिको म्याड्रिड, ९ः०० बजे
रियल भाल्लाडोलिडविरुद्ध ओसासुना, ११ः१५ बजे
भिल्लारियलविरु बार्सिलोना, १ः४५ बजे

प्रकाशित: २८ माघ २०७९ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =