इस्पान्योलसँग बराबरीमा रोकियो बार्सिलोना, गुम्यो रियललाई पछि पार्ने मौका

हिमाल प्रेस १६ पुष २०७९ २१:०७
12
SHARES
इस्पान्योलसँग बराबरीमा रोकियो बार्सिलोना, गुम्यो रियललाई पछि पार्ने मौका

काठमाडौँ- स्पेनिस ला लिगामा शनिबार बार्सिलोना सहरी प्रतिद्वन्द्वी इस्पान्योलसँग १–१ को बराबरीमा रोकिएको छ। पहिलो हाफको सातौँ मिनेटमा अग्रता लिए पनि दोस्रो हाफमा गोल खाएपछि बार्सिलोना घरेलु मैदान क्याम्प नौउमा जितविहीन बनेको हो।

ला लिगामा यो सिजन बार्सिलोना दोस्रो पटक बराबरीमा रोकिएको हो। नयाँ सिजनको पहिलो खेलमै बार्सिलोनालाई रायो भाएकानोले गोलरहित बराबरीमा रोकेको थियो। १५ खेल खेल्दा जम्मा एक खेलमा पराजित भएको बार्सिलोना पहिलो स्थानमा यथावत छ।

यद्यपि पछिल्लो बराबरीका कारण उसले रियल म्याड्रिडसँगको दूरी बढाउने मौका गुमायो। बार्सिलोना र रियलको ३८–३८ अंक छ। यी दुवैले खेलेको खेलको संख्या बराबर छ। इस्पान्योल भने १५ खेलबाट १३ अंक जम्मा गर्दै १६ औँ स्थानमा छ।

आन्द्रेस क्रिस्टियन्सनको असिस्टमा गोल गर्दै फुलब्याक मार्कस अलोन्सोले बार्सिलानालाई अघि बढाएका थिए। तर उनै अलोन्सोले जोसेलुमाथि फाउल गर्दा इस्पान्योलले पेनाल्टी पाएको थियो। जोसेलुले पेनाल्टीमा सहजै गोल गरेपछि खेल ७३ औँ मिनेटमा बराबरीको स्थितिमा पुगेको थियो।

बार्सिलोना ७८ औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो। इस्पान्योलका खेलाडीले गोलको खुसीयाली मनाउँदा आक्रोशित बनेका जोर्डी अल्बाले ७४ औँ मिनेटमा पहिलो पहेलो कार्ड पाएका थिए। त्यसको चार मिनेटपछि इस्पान्योलले फ्रिकिक पाएपछि अल्बा र रेफ्रीबीच नोकझाेँक परेको थियो। जसकारण अल्बाले दोस्रो पहेलो कार्ड पाउँदै मैदान छाडे।

बार्सिलोनाले अल्बालाई गुमाएको दुई मिनेटपछि नै इस्पान्योलका भिनिसियस डे सौजा कोस्टाले पनि रातो कार्ड पाए। पहिल्यै पहेलो कार्ड पाइसकेका कोस्टाले बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीमाथि फाउल गरेकाले दोस्रो पटक पहेलो कार्ड पाएका थिए।

प्रकाशित: १६ पुष २०७९ २१:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =