इटहरी वाणिज्य संघको निर्वाचन : व्यवसायीमा छैन उत्साह

विवेक विवश रेग्मी २५ माघ २०७९ १०:१४
142
SHARES
इटहरी वाणिज्य संघको निर्वाचन : व्यवसायीमा छैन उत्साह अध्यक्षका उम्मेदवारहरू क्रमशः गायत्री कट्‍वाल, मणिन्द्रकुमार कटवाल, जीवन पराजुली र रञ्जु सिग्देल (चौलागाईँ)।

इटहरी- उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन नजिकिएको छ। तर, व्यवसायीमा उत्साह भने छैन।

यसअघिका निर्वाचनमा संघ आबद्ध व्यवसायीहरूलाई कुनै पर्व आएजस्तै हुन्थ्यो। तामझामका साथ घरदैलो अभियान हुन्थ्यो, आबद्ध व्यवसायीहरू पनि सक्रिय हुन्थे। तर, यसपटकको निर्वाचन भने अलिक निरस छ।

आखिर वाणिज्य संघको निर्वाचनलाई लिएर व्यवसायीमा किन उत्साह छैन त ? इटहरीका व्यवसायी जगतबहादुर भट्टराई भन्छन्, ‘देशमा आर्थिक संकट प्रमुख कारण हो।’

‘देशमा आर्थिक मन्दी छ, अरूबेला व्यापार राम्रो हुँदा मान्छेले मन लागेको खाने, घुम्ने हुँदा माहोल राम्रो हुने हो,’ उनले भने, ‘देशको स्थिति राम्रो नभएकाले चुनाव आएजस्तो महसुस भएको छैन।’

अर्का व्यवसायी रोशन भुजेल पनि व्यवसायीमा पहिलेजस्तो निर्वाचनको उत्साह नभएको स्वीकार्छन्। इटहरीको मुख्य चौक भन्दा बाहिरका व्यवसायीमा चुनावको उत्साह नभएको उनले बताए।

‘इटहरी चोकका ठूला व्यवसायीलाई मात्रै चुनावी चाप भएजस्तो देखिन्छ,’ भुजेलले भने, ‘बजार क्षेत्रमा मात्रै चर्चा बढेको देखिन्छ, अन्य साना चिया पसल वा ठूला रेस्टुरेन्टमै पनि निर्वाचनबारे चर्चा भएको पाइन्न।’

चोक बाहिर उपमहानगर क्षेत्रमै पर्ने तरहरा, खनार, पकलीलगायतका स्थानमा पनि चुनावी चर्चा न्यून रहेको उनले बताए। व्यवसायीमा खासै उत्साह नभए पनि उम्मेदवारी घोषणा गरेकाहरूले सामाजिक सञ्जालमार्फत प्रचार भने गरिरहेका छन्।

‘राजनीतिबाट टाढै राख्नुपर्छ’

व्यवसायी जगत भट्टराई उद्योग वाणिज्य संघलाई राजनीतीबाट टाढा राख्नुपर्ने बताउँछन्। ‘संघलाई राजनीतीकरण गर्नुहुँदैन भन्ने पक्षमा छु,’ उनले भने, ‘व्यवसायीको हितमा काम गर्नेलाई जिताउनुपर्छ भन्ने मेरो कुरा हो।’

उनले यहाँ अधिकांश मानिसहरू व्यवसायीको हितमा भन्दा पार्टीको हकहितमा काम गर्ने खालका हुन्छन्।

यता व्यवसायी भुजेलले पनि उद्योग वाणिज्य संघको मुख्य भूमिका व्यवसायीको हितमा हुनुपर्ने बताउँछन्। ‘बैँकले ब्याजदर बढाएको बढायै छ, यसमा संघले चासो दिन आवश्यक छ,’ उनले भने, ‘इटहरी भन्ने बित्तिकै चोक मात्रै बुझ्ने गरिएको छ, यस्तो हुनुहुँदैन। सबै क्षेत्रका व्यवसायीको प्रतिनिधित्व हुने गरी व्यवसायीकै हितमा काम हुन आवश्यक देखिन्छ।’

यस्तो छ चुनावी माहोल

उद्योग वाणिज्य संघको निर्वाचन माघ २८ गते हुँदैछ। अध्यक्षको उम्मेदवारी दर्ता गर्नेमा जीवन पराजुली, रञ्जु सिग्देल (चौलागाईँ), गायत्री कटवाल (भण्डारी), मणिन्द्रकुमार कटवाल र पीताम्बर पोखरेल छन्, जसमध्ये पोखरेलले पराजुलीलाई समर्थन गर्ने उद्घोष गरेसँगै चार जनाबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।

व्यवसायीहरू खुलेरै कसलाई सघाउने भन्नेमा पनि अलमल छन्। व्यावसायिक संस्थामा राजनीतीकरण भएको कतिपयको आरोप छ।

कतिपयले भने यसअघि पार्टीगत हिसाबमा दुई दलबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको भए पनि यसपटक पार्टीले उम्मेदवार टुंगो लगाउन नसकिरहेको बताउँदै आएका छन्।

नेकपा एमालेले सार्वजनिक रूपमा विज्ञप्ति जारी नगरे पनि अध्यक्षकी उम्मेदवार सिग्देलको समूहलाई समर्थन गरेको छ। तर, कांग्रेसबाट भने आधिकारिक उम्मेदवार टुंगो लाग्न नसक्दा अहिले पनि व्यवसायीहरू अलमलमा छन्।

उम्मेदवारी दर्ता भइसकेपछि नेपाली कांग्रेसका इटहरी सभापति हेमकर्ण पौडेलले गायत्री कट्वालको समूहलाई मत दिनका लागि विज्ञप्ति जारी गरेपछि विवाद भएको थियो।
यससँगै कांग्रेसभित्रै दुई धार चुनावी प्रतिस्पर्धामा छन्। सभापति पौडेलको हस्ताक्षरमा जारी विज्ञप्तिप्रति असन्तुष्टि जनाउँदै अहिले कांग्रेसको अर्को समूहले भने साझा उम्मेदवार भन्दै जीवन पराजुलीलाई अगाडि सारेको छ।

यद्यपि पराजुलीलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपालले भने साथ दिएको छ। कांग्रेसभित्रै को अध्यक्ष भन्ने स्पष्ट नभए पनि पराजुलीलाई अन्य दलले साथ दिएका हुन्। दुवै समूहले प्यानल नै बनाएर चुनावी प्रचारप्रसारमा सक्रिय छन्।

लोकतान्त्रिक समूहबाट आधिकारिक उम्मेदवार भन्दै सामाजिक सञ्जालमा प्रचार गरेअनुसार कोही पनि आधिकारिक नभएको र आफूलाई मनपर्ने उम्मेदवारलाई मत दिनका लागि असन्तुष्ट समूहले विज्ञप्ति नै जारी गरेको थियो।

यद्यपि पार्टीभित्र आन्तरिक विवादकै बीच अहिले उम्मेदवारहरू घरदैलोमा छन्। घरदैलोमा पुगेर व्यवसायीहरूलाई आश्वासन देखाउँदै समस्या समाधान गर्ने बाचा गर्दै आएका छन्।

करीब ५ हजार मतदाता रहेको उवासंघ इटहरीको निर्वाचनका लागि माघ १९ गते मनोनयन भएको थियो। निर्वाचन समितिका सदस्य पोषराज नेपालका अनुसार उद्योगतर्फ ४ पदका लागि १० जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

यस्तै, वाणिज्यतर्फ भने ९ पदका लागि २५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। वस्तुगततर्फ दुईजना आवश्यक पर्दा ६ जनाको उम्मेदवारी छ। यसअघि एसोसिएट्सतर्फ भने राजीव घिमिरे निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित: २५ माघ २०७९ १०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =