उद्योग वाणिज्य संघ इटहरी : कांग्रेसले उम्मेदवार टुंगो लगाउन नसक्दा भाग्यमानी बने जीवन

विवेक विवश रेग्मी २९ माघ २०७९ २२:३१
354
SHARES
उद्योग वाणिज्य संघ इटहरी : कांग्रेसले उम्मेदवार टुंगो लगाउन नसक्दा भाग्यमानी बने जीवन

इटहरी– उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन मिति नजिकिदैँ थियो। यसअघिका निर्वाचनमा पार्टीगत हिसाबमै निर्वाचन हुँदै आएको थियो। यसपटक पनि दलहरू उम्मेदवार टुंगो लगाउन पटक-पटक छलफल गरे। अहिलेको निर्वाचनमा पनि दुई पार्टीबीच चुनाव हुने कतिपय व्यवसायीको अनुमान थियो।

गत माघ १४ गते निर्वाचन हुने मिति तय गरिए पनि बीचमा निर्वाचन तालिक स्थगित गरियो। उवासंघ इटहरीको माघ ११ गते हुने साधारणसभाले निर्वाचनको मिति तय गर्ने बताउँदै निर्वाचन तालिका स्थगित गरियो। यसअघि भएको निर्वाचनमा कांग्रेस निकट भीमबहादुर पौडेल अध्यक्षमा निर्वाचित भएका थिए। यसपटक पनि उनै पौडेल दोहोरिने सम्भावना थियो। तर, राजनीतिक हिसाबमा पनि अग्रसर रहेका उनले नदोहोर्‍याउने भएपछि भने कांग्रेसभित्रै को उम्मेदवार भन्ने बहस सुरु भयो।

यतिबेलासम्म नेकपा एमालेले भने रञ्जु सिग्देल (चौलागाईं)लाई उम्मेदवार बनाइसकेको छ। यद्यपि, पार्टीले आधिकारिक हस्ताक्षरसहित विज्ञप्ति निकालेन। तर, अदृश्य रूपमा भने सिग्देल समूहलाई एमालेले चुनावी मैदानमा सार्‍यो।

तर, नेपाली कांग्रेसले भने पटक-पटक छलफल गरे पनि उम्मेदवार टुंगो लगाउन सकेन। पार्टीको छलफलमा अध्यक्षका आकांक्षी जीवन पराजुलीले पार्टीले जसलाई टुंग्याए पनि आफूले साथ दिने उद्घोष गरे। तर, अन्य आकांक्षीहरूले भने आफू भए हुने नभए मान्य नहुने बताएपछि ‘इगो’ बढेर कांग्रेसकै दुई धारबीच चुनाव भयो।

‘इगो’ बढ्दै जाँदा आज उवासंघ इटहरीको अध्यक्षमा उनै जीवन पराजुली निर्वाचित भएका छन्। पार्टीले आधिकारिक उम्मेदवार टुंगो लगाउन नसकेपछि पराजुली भाग्यमानी बनेका छन्। होटल व्यवसायी संघ इटहरीका वर्तमान अध्यक्ष समेत रहका पराजुलीले अध्यक्षमा निर्वाचित भएपछि व्यवसायीका समस्या समाधानका निम्ति जुनसुकै बेला पनि आफ्नो उपस्थिति हुने बताए।

कांग्रेस सभापतिको विज्ञप्तिले बढ्यो प्रतिष्ठाको लडाइँ

गत माघ १९ मा उवासंघको निर्वाचनका लागि मनोनयन दर्ता थियो। अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिए। जसमध्ये कांग्रेस निकटकै चारजनाले उम्मेदवारी दर्ता गराएका थिए। तर, नेपाली कांग्रेस इटहरी उपमहानगरका सभापति हेमकर्ण पौडेलले एकपक्षीय ढंगबाट लोकतान्त्रिक पक्षकी उम्मेदवार भन्दै गायत्री कटवाल (भण्डारी) लाई मत हाल्न अपिल गरेको विज्ञप्ति सार्वजनिक गरे।

सो विज्ञप्तिले पौडेल आलोचित बने। उनको विज्ञप्तिप्रति असन्तुष्टि जनाउँदै महाधिवेशन प्रतिनिधि विकास केसी, नगर उपसभापति बालकृष्ण विष्ट, सचिव मन्दीप भट्टराई र सहसचिव मेनुका गिरीले अर्को विज्ञप्ति जारी गरे।

उवासंघको निर्वाचन भए पनि कांग्रेसका दुई समूह छुट्टै किसिमले चुनावी प्रतिष्पर्धामा होमियो। सो कारण दुई समूहबीच प्रतिष्पर्धाको लडाइँ भयो। ‘चुनावमा व्यवसायीलाई खासै उत्साह थिएन, तर यहाँ कांग्रेस र एमाले वा व्यवसायीबीचको लडाइँजस्तो भएको थिएन,’एक व्यवसायीले भने,‘पार्टभित्रको आन्तरिक लडाइँजस्तो भएको थियो, त्यसैले पनि प्रतिष्ठाको लडाइँ भयो।’

कांग्रेस महाधिवेशन प्रतिनिधि तथा इटहरी कांग्रेसका युवा नेता विकास केसीले कांग्रेसभित्रको लडाइँभन्दा पनि व्यापारीको संगठन भएकाले व्यापारीकै जित भएको तर्क गरे।

‘सबैजनामा राजनीतिक आस्था भए पनि उवासंघमा शुद्ध व्यापारीको नेतृत्व भएको छ,’केसीले हिमालप्रेससँग भने,‘पार्टीमा बारम्बार मैले क्षमता भएको मानिस हुनुपर्छ र व्यापारीको नेतृत्व गर्न सक्ने पराजुली हो भनेर कुरा उठाएको हुँ।’

उनले व्यापारीको मनोभावना भन्दा पनि आफूसँग को नजिक छ भन्ने किसिमबाट हेरिँदा आज यो परिणाम आएको बताए।

‘अहिलेको नेतृत्वलाई हामीले मात्रै होइन अन्य पाँच दलले पनि साथ दिएको थियो,’ केसीले भने, ‘पार्टी नेतृत्वले गल्ती गर्दागर्दै पनि अन्य सबै दललाई समेटेर लगेका कारण आज जित भएको छ।’

पराजुलीलाई साथ दिएका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, रास्वपा, जसपा लगायतका दलमा भएका व्यवसायीहरूका भावनाको कदर हुनुपर्ने उनी बताउँछन्।
‘उहाँ (पराजुली) कांग्रेसकै मान्छे भए पनि अरू पाँच दलले इमानदार र व्यवसायीको हक, हित र सामाजिक संस्थामा काम गरिसकेका कारण साथ दिएको बताउँदै आउनुभएको थियो,’ केसीले भने, ‘हामीले व्यक्ति होइन, विधिको शासन हुनुपर्छ भन्ने भनाइलाई आत्मसाथ गर्दै चुनावी मैदानमा होमिएका थियौँ, जसमा सबैको साथ रह्यो।’

शनिबार भएको निर्वाचनमा आइतबार राति ८:३० बजेतिर अन्तिम मतपरिणाम आएको हो। जसअन्तर्गत अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार पराजुलीले १,१८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

अध्यक्षकै उम्मेदवार रञ्जु सिग्देल (चौलागाईं) ले ८४७ मत प्राप्त गरिन्। यस्तै, गायत्री कटवाल (भण्डारी) ले ५६३ मत प्राप्त गरिन् भने मणिन्द्रकुमार कटवालले ४० मत प्राप्त गरे।

तरहरा जेसीज वर्ष २०१३ का अध्यक्ष तथा नेपाल जेसीजका पूर्वराष्ट्रिय उपाध्यक्षसमेत भइसकेका उनी लायन्स क्लब अफ इटहरी सिटी र लायन्स क्लब अफ ३२५ को जोन चियरपर्सन भइसकेका छन्।

होटल व्यवसायी संघ इटहरीको वर्तमान अध्यक्ष समेत रहेका उनी भन्छन्,‘व्यवसायीको मुख्य समस्या भनेकै कर हो, पार्किङका कुरा आइरहेका छन्, यी सबै समस्या समाधानका निम्ति मेरो भूमिका अब्बल हुनेछ।’

उनले अहिले इटहरीको मुख्य चोकमा पार्किङ व्यवस्थापन समस्या भइरहेकाले त्यसको दीर्घकालीन व्यवस्थापनका लागि आफूले काम गर्ने बताए। पराजुली भन्छन्, ‘ब्याजदरले व्यवसायीलाई पिरोलिरहेको छ, घरभाडा बहाल करसम्बन्धी मुद्दा उठिरहेका छन्, यी सबै समस्या न्यूनीकरणका लागि मेरो नेतृत्व सार्थक हुन्छ।’

प्रकाशित: २९ माघ २०७९ २२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 12 =