गलत नीतिले व्यवसायी पीडित : वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठ

हिमाल प्रेस १२ चैत २०७९ १८:३९
8
SHARES
गलत नीतिले व्यवसायी पीडित : वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठ

धनगढी- राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोबिन्दराज पोखरेलले पछिल्लो दुई दशकमा आर्थिक नीति र गतिविधिहरूलाई ध्यान नदिँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्। धनगढीमा आइतबार आयोजित ‘लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन?’ विषयक अन्तरक्रियामा उनले पछिल्लो दुई दशकमा राजनीतिक नीति र दस्ताबेजहरू मात्र आएको दाबी गरे। ‘पछिल्लो दशकमा हामीले आर्थिक क्षेत्रमा लगानी बोर्ड गठन बाहेक सबै राजनीतिक दस्ताबेजहरू मात्र ल्याएका छौँ,’ उनले भने, ‘यसले पनि अर्थतन्त्रमा हामी सचेत छैनौँ भन्ने देखिन्छ।’

रेमिट्यान्सले उपभोग अर्थतन्त्र बढाएको र यसमै राजनीतिक नेतृत्व रमेको उनले बताए। सहजरूपमा कर तिर्ने र घुस खुवाउनुपर्ने अवस्था रोक्न सकिए पनि उद्योगी व्यवसायीहरूलाई राहत हुने भन्दै रेमिट्यान्स नियमित आउँदा नेताहरूलाई हाईसन्चो भएको बताए। ‘रेमिट्यान्स आइरहेको छ। आवाज उठाउने र सचेत गराउने युवाहरू वैदेशिक रोजगारीमा छन्,’ उनले भने, ‘यसले नेताहरूलाई पैसा आईहाल्छ भनेर हाईसन्चो भएको हो।’

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले राज्यको गलत नीतिले अर्थतन्त्र समस्यामा रहेको र उद्योगी व्यवसायी पिडित भएको बताए। ‘सरकारको गलत नीतिले अहिले अर्थतन्त्रमा समस्या निम्त्याएको छ,’ उनले भने, ‘यसले हामी सबैलाई पिडित बनाएको छ। गलत नीतिले कसरी अर्थतन्त्रलाई असर पार्छ भन्ने यो एउटा राम्रो उदाहरण हो।’

सुदूरपश्चिम प्रदेशमा पर्यटनको अथाह सम्भावना भएको भन्दै उनले यसमा सहकार्य र सामुहिक भावनामार्फत अगाडि बढ्न सकिने बताए। पर्यटनको विकासमा सकारात्मक सोच र इच्छाशक्ति चाहिने उनको भनाइ थियो।

आफ्नो परिवार सानो व्यवसायबाट अगाडि बढेको भन्दै उनले आफूले उद्योगी व्यवसायीको समस्या नजिकबाट भोगेको बताए। ‘हामी नवप्रवर्तनमा विश्वास गर्दछौँ र सँधै तपाईँहरूबाट नयाँ कुराहरू सिक्न चाहन्छौँ,’ उनले भने।

महासंघमा धेरै चुनौतीहरू रहेको बताउँदै श्रेष्ठले संस्थालाई पहुँचयुक्त र सक्षम नीजिक्षेत्रको रूपमा अगाडि बढाउन आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको बताए।

प्रकाशित: १२ चैत २०७९ १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =