संकटमा सुदूरपश्चिम सरकार, विश्वासको मत लिनै सकस

हिमाल प्रेस २५ माघ २०७९ ७:५६
16
SHARES
संकटमा सुदूरपश्चिम सरकार, विश्वासको मत लिनै सकस

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज (बुधबार) विश्वासको मत लिँदैछन्। तर निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चित नहुँदा मुख्यमन्त्री रावल संकटमा रहेका छन्।

रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। संवैधानिक व्यवस्था अनुसार उनी १ महिनाभित्रै अर्थात माघ २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ। तर उनी बहुमत सदस्यको विश्वासको मत लिने परिस्थिति अझै बन्न सकेको छैन।

मंगलबार नागरिक उन्मुक्ति पार्टीका सात प्रदेश सभा सदस्यसहित डिल्लीबजार कारागारमै बसेको बैठकले उधारो आश्वासनको भरमा विश्वासको मत नदिने निष्कर्ष निकालेको छ। सो पार्टीको अडानपछि मुख्यमन्त्री रावलको पद नै धरापमा परेको छ। आजको वैठकअघिसम्म उनलाई मनाउन नसकेको खण्डमा रावलले विश्वासको मत पाउँदैनन्।

यसैबीच प्रदेश सभाको आज १ बजे तोकिएको बैठकलाई एक दिन पछाडि अर्थात माघ २६ गतेका लागि सार्नेसम्मको छलफल दलहरुबीच नभएको होइन। तर एक दिनको अगाडि वा पछाडिको बैठकमा तात्विक अन्तर नरहने भन्दै आजकै बैठकमा विश्वासको मत लिने तयारी छ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका विना विभागीय मन्त्री खगराज भट्टले मुख्य कुरो राजनीतिक इमानदारिता र मुद्दा रहेकाले एक दिन अगाडि वा पछाडि विश्वासको मत लिनुमा तात्विक अन्तर नहुने बताए।

तर नागरिक उन्मुक्तिले विश्वासको मत दिनेमा आफूहरू ढुक्क रहेको उनको भनाइ छ। सुरुदेखि मुख्यमन्त्री, सभामुख, उपसभामुखको निर्वाचनमा नागरिक उन्मुक्तिले अपनाएको रणनीति अनुसार पनि अन्तिममा आएर विश्वासको मत दिने विश्लेषण समेत गरिएको छ।

अहिलेसम्म उनलाई आफ्नो दल एमालेसहित माओवादी र राप्रपाको साथ छ। तर बहुमत पुग्न नागरिक उन्मुक्तिको मत आवश्यक छ।

उन्मुक्ति फकाउन सकस
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए सरकार ढल्न सक्छ। एमालेका नेताहरू उन्मुक्तिलाई फकाइरहेका छन्। तर बन्दी रिहा नभएसम्म आफूहरूले सरकारमा नजाने बताएको छ। ‘रेशम चौधरीलगायतका टिकापुर हत्याकाण्डका अभियुक्त भनिएका व्यक्ति रिहा नभएसम्म विश्वासको मत दिन सक्दैनौँ,’ उन्मुक्तिका एक नेता भन्छन्,‘सरकारले हाम्रा कार्यकर्ता छुटाउन विश्वास दिलाओस्।’

५३ जना प्रदेश सभा सदस्य रहेको यहाँ बहुमतको सरकारको लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्दछ। यहाँ सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १९ प्रदेश सभा सदस्यसहित प्रतिपक्षमा छ। नेकपा एमालेका मुख्यमन्त्री रावलले नेकपा एमालेका १०, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्तिको ७, राप्रपाको १ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

प्रकाशित: २५ माघ २०७९ ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =