म्यानचेस्टर सिटीमाथि वित्तीय नियम उल्लंघन गरेको आरोप : लिग घटुवासम्मको हुनसक्छ कारबाही

हिमाल प्रेस २३ माघ २०७९ २१:४०
12
SHARES
म्यानचेस्टर सिटीमाथि वित्तीय नियम उल्लंघन गरेको आरोप : लिग घटुवासम्मको हुनसक्छ कारबाही

काठमाडौँ- इंग्लिस प्रिमियर लिगले सोमबार म्यानचेस्टर सिटीमाथि वित्तीय नियम उल्लंघन गरेको आरोप लगाएको छ। प्रिमियर लिगमा पछिल्ला पाँच सिजनमा चार पटक च्याम्पियन बनेको सिटीले पटक पटक झुटो वित्तीय सूचना बुझाएको आरोप लगाइएको छ।

गलत वित्तीय सूचना दिएकाले सिटीले वार्षिक रुपमा गर्ने आम्दानीमाथि नै प्रिमियर लिगले प्रश्न उठाएको छ। सन् २०११ यता ६ पल्ट प्रिमियर लिग जितेको सिटीमाथि प्रशिक्षक तथा खेलाडीलाई तिरेको तलबको सूचना पनि लुकाएको आरोप लागेको छ।

प्रिमियर लिग चार वर्षसम्म अनुसन्धान गरेर सिटीले नियम उल्लंघन गरेको निस्कर्षमा पुगेको हो। नोभेम्बर, २०१८ मा जर्मन म्यागजिन डेर स्पाइगलले सिटीका गोप्य इमेल तथा कागजात प्रकाशित गरेपछि प्रिमियर लिगले म्यानचेस्टर सहरको यो क्लबमाथि अनुसन्धान सुरु गरेको थियो।

सिटीले नियम उल्लंघन गरेकोबारे स्वतन्त्र आयोगलाई जानकारी गराइएको र यसको सुनुवाई गोप्य रुपमा हुने प्रिमियर लिगले जनाएको छ। प्रिमियर लिगले सोमबार सिटीले गरेको नियम उल्लंघनबारे विज्ञप्ति निकालेको भए पनि थप प्रतिक्रिया दिएको छैन।

प्रिमियर लिगले लगाएको आरोपले छक्क परेको प्रतिक्रिया सिटीले प्रतिक्रिया दिएको छ। ‘छानबिनका बेला हामीले प्रिमियर लिगले मागेजति कागजात उपलब्ध गराएका थियौँ। यसकारण प्रिमियर लिगले निकालेको विज्ञप्तिले हामी छक्क परेका छौँ। यद्यपि हामी स्वतन्त्र आयोगले जाँच गर्ने विषयलाई स्वागत गछौँ,’ सिटीले भनेको छ।

सिटीले गल्ती गरेको प्रमाणित भएमा ठ्याक्कै के कारबाही हुन्छ भन्ने प्रष्ट छैन। प्रिमियर लिगको नियम अनुसार चाहिँ वित्तीय नियम उल्ल्घंन गर्ने क्लबलाई जरिबाना, उपाधि फिर्ता, अंक घटुवा, शीर्ष श्रेणीको लिगबाट घटुवा लगायतका कारबाही हुने व्यवस्था छ।

सिटीमाथि लागेको आरोप सन् २००९ देखिको छ। त्यस वर्ष सिटीको स्वामित्व आबुधाबीका शासक मोहम्मद बिन जायद अल नायनका भाई मन्सुर बिन जायद अल नायनले लिएका थिए। मन्सुर नेतृत्व समूहको व्यवस्थापनमा सिटी युरोपियन क्लब फुटबलमा नयाँ शक्तिका रुपमा उदाएको छ।

सिटीले सन २००९ देखि २०१८ को बीचमा ८० पटक नियम उल्लंघन गरेको बताइएको छ। सन् २०१८ पछि भने ३० पटक नियम उल्लंघन गरेको छानबिन समितिलाई सहयोग नगरेको आरोप छ। एक सय ४३ वर्ष पुरानो क्लब सिटीले सन् २००९ देखि २०१८ भित्र तीनपल्ट प्रिमियर लिग जितेको थियो।

प्रिमियर लिगले युरोपियन फुटबल महासंघ (यूईएफए) को नियम पनि सिटीले उल्लंघन गरेको शंका गरेको छ। सन् २०२० मा सिटीलाई वित्तीयय नियम उल्लंघन गरेको आरोपमा दुई वर्ष च्याम्पियन्स लिग खेल्न बन्देज लगाएको थियो। यद्यपि सिटी अदालत गयो र यूईएफएविरुद्धको मद्दा जितेर च्याम्पियन्स लिगमा फर्किएको थियो।

प्रकाशित: २३ माघ २०७९ २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =