मेलम्ची खानेपानी वितरणमा थपियो चुनौती, कसरी हुँदैछ चुहावट नियन्त्रण?

हिमाल प्रेस २३ माघ २०७९ १७:५९
14
SHARES
मेलम्ची खानेपानी वितरणमा थपियो चुनौती, कसरी हुँदैछ चुहावट नियन्त्रण? मेलम्ची खानेपानी वितरणका क्रममा पाइप फुटेपछि जलमग्न बनेको काठमाडौँको सडक। फाइल तस्बिर।

काठमाडौँ- काठमाडौँ उपत्यकामा मेलम्ची आयोजनाको खानेपानी वितरणका लागि समस्या र चुनौती थपिँदै गएको छ। नयाँ वितरण प्रणाली परीक्षण गर्ने क्रममा बिजुली, सडक र टेलिफोनका सञ्जालका कारण अवरोध हुँदा खानेपानी वितरणमा समस्या थपिएको हो। यसरी अवरोध हुँदा कैयन् स्थानमा पाइपलाइनमा क्षति हुँदा मर्मतका लागि थप बजेट परिचालन गर्नुपर्ने भएको छ।

उपत्यकाको चक्रपथबाहिरका क्षेत्रबाट पनि खानेपानीको अत्यधिक माग बढेपछि वितरण सञ्जाल जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने दबाब बढेको काठमाडौँ खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका अधिकारीहरू बताउँछन्।

निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘नयाँ पाइपलाइन बिछ्याएपछि पानी वितरणमा चुनौती थपिएका छन्। सडक, ढल निर्माण, मर्मत र विद्युत् लाइन तथा टेलिफोनका तार भूमिगत गर्ने क्रममा वितरण सञ्जालका पाइपलाइनमा क्षति भएको छ।’

उनले त्यसरी क्षति भएका पाइपलाइनको ममर्तकार्य सम्पन्न गर्न अतिरिक्त समय र स्रोत परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए।

काठमाडौँ उपत्यकामा नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लाइन भूमिगत गर्ने कार्य भइरहेको छ। यस्तै खानेपानीको पाइप तथा विद्युत् लाइनमा भूमिगत गर्ने क्रममा आवश्यक सुरक्षित दूरी कायम हुन नसक्दा समस्या थपिएको हो।

भविष्यमा त्यस्ता स्थानको मर्मतसम्भार गर्दा समन्वय तथा सावधानी अपनाउनुपर्ने सापकोटाले बताए।  खानेपानीको पाइप तथा विद्युत् लाइन भूमिगत गर्ने क्रममा आवश्यक सुरक्षित दूरी कायम हुन नसकेको सापकोटा बताउँछन्।

थप ठाउँमा पानी वितरणका लागि के हुँदैछ?

निर्देशनालयका अनुसार चक्रपथभित्रका स्वयम्भू, बालुवाटार, महाराजगन्ज, धुम्बाराही र चक्रपथबाहिरका मण्डिखाटार, कपन, चाबहिल, बौद्धको दक्षिणी भाग गरी करिब आठ सय किलोमिटर पाइपलाइन बिछ्याउने कार्य भइरहेको छ।

हालसम्म करिब ४३० किलोमिटर पाइपलाइन बिछ्याइसकिएको निर्देशक सापकोटाले जानकारी दिए। बाँकी पाइपलाइन आगामी आर्थिक वर्षभित्र बिछ्याई परीक्षण सुरु गर्ने लक्ष्य निर्देशनालयको छ।
सम्भव भएका स्थानमा वितरण पाइपलाइन सडक खन्नु नपर्ने प्रविधि (एचडीडी) बाट पाइपलाइन बिछ्याउने कार्य भइरहेको सापकोटाले बताए।

चक्रपथबाहिरका खुमलटार, ग्वार्को, नखिपोट, धापाखेल, सुनाकोठी, भैँसेपाटी, बागडोल, सूर्यविनायक, मूलपानी, इमाडोल, महालक्ष्मी, नागार्जुन नगरपालिका, धापासी, स्युचारटारलगायतमा करिब १६ सय ५० किलोमिटर पाइपलाइनको सर्वेक्षण तथा डिजाइन भइरहेको छ।

मेलम्चीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पथान्तरण भइसकेको छ। अब निर्देशनालयले नयाँ थोक तथा वितरण सञ्जालमार्फत पानी वितरण गर्न आवश्यक संरचना भइरहेको जनाएको छ।
सुन्दरीजलदेखि चक्रपथ वरिपरि निर्माण भएका पानीपोखरीसम्म पुर्‍याउने करिब ७६ किलोमिटर थोक प्रणाली निर्माण भइरहेका छन्।

ती प्रणालीमार्फत २२ करोड लिटर प्रतिदिन पानी वितरण हुने सापकोटाको भनाइ छ। उनले भने, ‘७४ हजार पाँच सय घनमिटरको पानीपोखरी १० वटा छन्। निर्माण भएका पानीट्यांकी र पोखरीहरूको परीक्षणपछि मेलम्चीको पानी वितरण भइरहेको छ।’

निर्देशनालयले थोक वितरण प्रणाली र पानी पोखरी माघ १६ गते काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको थियो।

पहिलो चरणमा एसियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकारको लगानीमा चक्रपथभित्रका अधिकांश क्षेत्रमा एक हजार १० किलोमिटरभन्दा बढी खानेपानीको वितरण सञ्जालका नयाँ पाइप बिच्छयाइसकिएको छ।

उक्त वितरण सञ्जाललाई विभिन्न ३२ क्षेत्र (डीएमए) र १६२ उपक्षेत्र (सबडीएमए) हरूमा विभाजन गरी वितरण गर्ने पद्धति अपनाइएको सापकोटाले बताए। उनले भने, ‘यीमध्ये करिब ५५० किलोमिटर पाइपलाइन परीक्षण भइसकेको छ। साथै २७० किलोमिटर पाइपलाइनमार्फत करिब १७ हजार धाराबाट पानी वितरण भइरहेको छ।’

परीक्षण सकिएको २८० किलोमिटर पाइपलाइनबाट केही दिनको अन्तरालमा पानी वितरण भइरहेको सापकोटाले बताए। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी गत पुस २ गतेदेखि आउन थालेको हो।
यस क्रममा चुवाहट भएका पाइपलाइन परीक्षण र मर्मत तीव्रताका साथ भइरहेको सापकोटा बताउँछन्। उनी भन्छन्, ‘असार मसान्तसम्ममा परीक्षण सक्ने लक्ष्य राखेका छौँ।’

यसैगरी स्वयम्भू, बालुवाटार, महाराजगन्ज, धुम्बाराही, मण्डिखाटार, कपन, चाबहिल, बौद्धको दक्षिणी भाग गरी करिब ८ सय किलोमिटर पाइपलाइन बिछ्याउने कार्य भइरहेको निर्देशनालयले जनाएको छ। ती क्षेत्रमा करिब ४३० किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको छ। बाँकी पाइपलाइन आगामी आर्थिक वर्षभित्र बिछ्याई परीक्षण सुरु गर्ने लक्ष्य निर्देशनालयको छ।

चुवाहट बन्द यन्त्रबाटै

निर्देशनालयले खानेपानीको थोक तथा मुख्य वितरण प्रणाली प्रभावकारी सञ्चालन गर्न केन्द्रीकृत रूपमा कम्पयुटरमा आधारित स्वचालित प्रविधि स्काडा जडान गर्ने भएको छ। यसका लागि डिजाइन सम्पन्न भएको सापकोटाले बताए। उनले भने, ‘विद्युतीय उपकरणको आपूर्ति तथा संरचना निर्माण भइरहेको छ। यसपछि विभिन्न स्थानमा हुने चुहावट र भल भएको बेला हुने चुहावट कार्य अफिसमै बसेर बन्द गर्न सक्नेछाैँ।’

पुरानो पाइपलाइन तत्कालीन आवश्यकताका लागि मात्रै

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले करिब ११ सय वटा चुहावट मर्मत गरेको जानकारी दिए। उनले पुरानो वितरण सञ्जाल तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर मात्रै सञ्चालन गरिएको बताए।

उनले भने, ‘मंसिर २३ गते पानी वितरण भइसकेपछि मंसिर २४ गतेदेखि रेकर्ड राख्दा हामीले करिब ११ सय वटा चुहावट मर्मत गरिसकेका छौँ। अहिले हामीले पुरानो वितरण सञ्जालबाट पानी वितरण गरिरहेका छौँ। पुरानो वितरण सञ्जाल तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर गरिएको हो।’

भविष्यमा कति घर थपिन्छन् भन्ने आँकडा नराखिएको र वितरण सञ्जालको साइजका कारणले सबै घरधुरीमा समानुपातिक रूपमा पानी वितरण गर्न नसकिएको राईको भनाइ छ।

चक्रपथबाहिर मेलम्ची पानी वितरण गर्न २४ अर्ब रूपैयाँ आवश्यक

निर्देशक सापकोटाले काठमाडौँ उपत्यकाको चक्रपथबाहिर मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग आएको जानकारी दिए।

उनले भने, ‘उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा पनि मेलम्चीको पानी वितरण गरिदिन अत्यधिक माग आएको छ। सो माग सम्बोधन गर्न अनुमानित २४ अर्ब वित्तीय स्रोत चाहिनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =