सन्दीप लामिछानेको निलम्बन फुकुवाबारे कांग्रेस महामन्त्रीद्वयको आपत्ति

हिमाल प्रेस २१ माघ २०७९ ८:३४
68
SHARES
सन्दीप लामिछानेको निलम्बन फुकुवाबारे कांग्रेस महामन्त्रीद्वयको आपत्ति कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको विषयमा विमति जनाएका छन्। बलात्कार अभियोग लागेर अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछानेको निलम्बन फुकुवा गरेर गलत गरिएको महामन्त्रीद्वयको भनाइ छ।

बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई गत भदौमा निलम्बन गरेको थियो। क्यानको बोर्ड बैठकले मंगलबार उनीमाथिको निलम्बन फुकुवा गरेको थियो। सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश भइसकेका छन्।

महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न।’
उनले सन्दीपको निलम्बन फुकुवाको विषय आउनासाथ आफूले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग पारेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘उहाँले यस खालको निर्णय नगर्ने बताउनुभएको थियो। तर त्यसो हुन सकेन। पुनः दोहोर्‍याउन चाहन्छु– बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारमा गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ।’

यस्तै अर्का महामन्त्री शर्माले क्यान अध्यक्ष चन्दलाई फोन गरेर नेपाली क्रिकेटको पछिल्लो गतिविधिको विषयमा फोनमा कुराकानी गरेका छन्। उनले निलम्बन फुकुवाबारे संकेत गर्दै चन्दलाई खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन भनेर जिज्ञासा राखेका छन्।अध्यक्ष चन्द नेपाली कांग्रेस बैतडीका सभापति पनि हुन्।

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

बलात्कार आरोपित सन्दीप राष्ट्रिय टिमको प्रशिक्षणमा

क्रिकेटर सन्दीपमाथिको निलम्बन फुकुवा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =