बलात्कार आरोपित सन्दीप राष्ट्रिय टिमको प्रशिक्षणमा

हिमाल प्रेस १९ माघ २०७९ १८:३५
22
SHARES
बलात्कार आरोपित सन्दीप राष्ट्रिय टिमको प्रशिक्षणमा

काठमाडौँ- सन्दीप लामिछाने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन्। बलात्कार आरोप लागेपछि राष्ट्रिय टिमबाट निलम्बनमा परेका सन्दीप बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान पुगेका थिए। त्यहाँ केहीबेर अभ्यास गरेका सन्दीप साँझबाट टिमसँगै होटलमा बस्ने टिम म्यानेजर विनोद दासले जानकारी दिए।

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग २ शृंखला तयारीका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। माघ १३ गते बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गर्दा पूर्वकप्तान सन्दीप परेका थिएनन्। बिहीबार भने राष्ट्रिय टिमका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरी र टिम म्यानेजर विनोद दासले सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाइएको पुष्टि गरेका छन्।

‘सन्दीपलाई अहिलेका लागि अभ्यासमा बोलाइएको छ। सुरुमा उनको फिटनेस परीक्षण हुनेछ। त्यसमा पास भए उनी राष्ट्रिय टिमका लागि उपलब्ध हुनेछन्। तर राष्ट्रिय टिममा पर्ने नपर्ने अन्तिम निर्णय प्रशिक्षकको हुनेछ। यदि प्रशिक्षकको रणनीतिमा सन्दीप फिट हुन्छन् भने टिममा पर्नेछन्,’ दासले भने।

सन्दीपले बलात्कार गरेको भन्दै एक नाबालिगले भदौ २१ गते प्रहरी वृत्त गौशलामा जाहेरी दिएकी थिइन्। जाहेरी पर्दा नेपालबाहिर रहेका सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। त्यसको भोलिपल्ट क्यानले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो। कात्तिक १८ गते काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका सन्दीप मंसिर २९ गते धरौटीमा रिहा भएका थिए। २० लाख धरौटी र सर्तसहित रिहा गर्न उच्च अदालतले दिएको आदेशविरुद्ध महान्याधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको थियो।

बलात्कार जस्तो आरोपबारे अदालतले अन्तिम फैसला नदिएकै अवस्थामा क्यानले सन्दीपको निलम्बन फिर्ता लिने अस्वाभाविक निर्णय गरेको थियो। गत मंगलबार पोखरामा बसेको क्यान बोर्ड बैठकले निलम्बन फिर्ता लिँदै क्यानले जबरजस्ती सन्दीपलाई टिममा फर्काउने संकेत दिएको थियो।

‘अदालतले सन्दीप नेपाल बाहिर जान नपाउने मात्र भनेको छ। अदालतको आदेशबारे हामीले कानुनविद्हरूसँग छलफल गरेरै सन्दीपलाई प्रशिक्षणमा बोलाउने निर्णय गरेको हो। टिममा पर्छन् नै भन्ने छैन। सुरुमा त फिटनेस हुनुपर्‍यो,’ दासले भने।

मुद्दाको छिनोफोनो नहुँदै सन्दीपको निलम्बन फुकुवा गरेपछि क्यानको चौतर्फी आलोचना भइरहेको छ। नेपाल टि२० लिग विवादित बनेपछि अप्ठ्यारोमा परेको क्यानले सन्दीपको मामलामा अशोभनीय निर्णय गर्दा भने अप्ठ्यारो मानेको देखिएन।

नाबालिगमाथि बलात्कार गरेको अभियोग पुष्टि भएमा सन्दीपलाई १० वा १२ वर्षसम्म कैद सजाय हुनसक्ने स्थिति छ। तत्काल प्राप्त प्रमाणका आधारमा सन्दीप दोषी देखिने अवस्था छ भनेर उच्च अदालतले पनि स्वीकार गरेको छ। तर क्यान भने सन्दीप दोषमुक्त भइसके झैँ गरी निर्णय गरिरहेको छ।

प्रकाशित: १९ माघ २०७९ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =