विकास गाउँमा, मान्छे सहरमा

हिमाल प्रेस २० माघ २०७९ १५:०८
10
SHARES
विकास गाउँमा, मान्छे सहरमा बाटो र बिजुली पुगेको मालारानी-८, हंशापुर। तस्बिरः अमृत कार्कीको फेसबुकबाट।

अर्घाखाँची- लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका गाउँगाउँमा विकास पुग्दै छ। साबिकका ४२ वटै गाविसका अधिकांश स्थानमा २०६३ सालमै मोटरबाटो पुगेको थियो। पुनर्संरचनापछि बनेका तीन नगरपालिका र तीन गाउँपालिकाका सबै वडामा मोटरबाटो पुग्नुका साथै अधिकांश ठाउँमा बिजुली पनि पुगेको छ।

सबै वडामा स्वास्थ्यचौकी, घरघरमा खानेपानीका धारा, टेलिफोन टावर र गाउँगाउँमा विद्यालय छन्। तर त्यसको उपभोग गर्ने स्थानीयवासी भने धमाधम बसाइँ सर्दै छन्।

गाउँका अधिकांश घर खाली छन्। १६ देखि ५० वर्षसम्मको ऊर्जाशील उमेरका व्यक्ति भने फाटफुट मात्र भेटिन्छन्। गाउँका अधिकांश बारी तथा खेत बाँझै छन्। सबै घरमा वृद्धवृद्धा मात्र छन्। श्रीमान् रोजगारीका लागि विदेश र श्रीमती छोराछोरी पढाउन सहर झर्नेहरू लर्को दिनहुँ बढ्दो छ।

२०७७ वैशाखदेखि चैत मसान्तसम्ममा जिल्लाभरका ८१८ घरपरिवार बसाइँ सरेको तथ्यांक छ। २०७८ मा अघिल्लो वर्षभन्दा ६२ प्रतिशत बढी घरपरिवार बसाइँ सरे। यो वर्षको वैशाखदेखि मंसिर मसान्तसम्म १ हजार ६०२ घरधुरीले बसाइँ सरिसके।

बसाइँ सर्नेमा सबैभन्दा बढी मालारानी गाउँपालिकाका स्थानीय छन्। पछिल्लो ३२ महिनामा मात्रै मालारानीका १ हजार १२४ घरपरिवार बसाइँ सरिसकेका छन्। तर यही अवधिमा अन्य ठाउँबाट १९० परिवार मालारानीमा आएका छन्।

अन्य पालिकाको तुलनामा सन्धिखर्क नगरपालिकाबाट बसाइँसराइ गर्नेको संख्या थोरै छ। सन्धिखर्कबाट ३२ महिनामा ३३० घरपरिवार बसाइँसराइ गरेर गएको नगरपालिकाको पञ्जीकरण शाखाको तथ्यांक छ। ३२ महिनामा सन्धिखर्कमा अरू ठाउँबाट १७८ घरपरिवार बसाइँ सरेर आएका छन्।

३२ महिनामा शीतगंगा नगरपालिकाबाट ८९७ घरपरिवार बाहिरिएका र २१५ घरपरिवार भित्रिएको तथ्यांक छ। भूमिकास्थान नगरपालिकाबाट ३४१ घरपरिवारका १ हजार ३७७ व्यक्ति बसाइँसराइ गरेर गएका छन्।

गाउँका अधिकांश घर खाली छन्। १६ देखि ५० वर्षसम्मको ऊर्जाशील उमेरका व्यक्ति भने फाटफुट मात्र भेटिन्छन्। गाउँका अधिकांश बारी तथा खेत बाँझै छन्। सबै घरमा वृद्धवृद्धा मात्र छन्। श्रीमान् रोजगारीका लागि विदेश र श्रीमती छोराछोरी पढाउन सहर झर्नेहरू लर्को दिनहुँ बढ्दो छ।

त्यसैगरी पाणिनी गाउँपालिकाबाट ४३६ घरपरिवार बसाइँसराइ गरेर गएको र ४३ घरपरिवार अन्यत्रबाट बसाइँसराइ गरेर आएको तथ्यांक छ। छत्रदेव गाउँपालिकामा ६१६ घरपरिवार बसाइँ सरेका छन्। अन्यत्रबाट ७० घरपरिवार छत्रदेवमा भित्रिएका छन्।

राष्ट्रिय जनगणना २०६८ बमोजिम अर्घाखाँचीकोे कुल जनसंख्या १ लाख ९७ हजार ६३२ थियो। २०७८ मा १ लाख ७२ हजारमा झरेको छ।

स्थानीय, प्रदेश तथा संघका सबै निर्वाचनमा राजनीतिक दलहरुले जिल्लाको बसाइँसराइ रोक्न विशेष योजना सञ्चालन गर्ने तथा युवालाई गाउँमै स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिए पनि लागू हुन नसकेको गुनासो स्थानीयको छ। निर्वाचनमा गाउँमै स्वरोजगार बनाउने खालका राम्राराम्रा नारा दिए पनि युवाहरू अहिले रोजगारीका लागि सहरबजार तथा विदेशमा जान बाध्य छन्।

अधिकांश मानिस शिक्षा, स्वास्थ्य र रोजगारीका लागि बसाइँसराइ गर्ने गरेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ बताउँछन्। उनका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीले गर्दा पनि बसाइँसराइ बढेको छ।

अर्घाखाँचीबाट झन्डै ४५ हजार युवा भारत, कतार मलेसिया, साउदी अरब, दुबईलगायत मुलुकमा छन्।

वार्षिक झन्डै ७ अर्ब ५० करोड रुपैयाँ अर्घाखाँची भित्रिने गरेको छ। युवा जनशक्तिले विदेशबाट पठाएको पैसाको सदुपयोग गर्ने खालको योजना नहुँदा रेमिट्यन्साको रकम सहरका घरजग्गामा लगानी हुने क्रम बढ्दो छ। यहाँका अधिकांश स्थानीयले जिल्ला सदरमुकाम, कपिलवस्तुका साथै रुपन्देहीको बुटबल, भैरहवा, दाङ, चितवन र काठमाडौँमा घर घडेरी किन्ने गरेका छन्। -प्रेमनारायण आचार्य/रासस

प्रकाशित: २० माघ २०७९ १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =