निर्माताका मागप्रति चलचित्र संघ सकारात्मक

हिमाल प्रेस १९ माघ २०७९ १२:५२
निर्माताका मागप्रति चलचित्र संघ सकारात्मक

काठमाडौँ- फिल्म निर्माताले १५ दिनसम्म तीन मिनेटसम्मका ट्रेलर हलमा निःशुल्क देखाउन पाउने भएका छन्। त्यस्तै उनीहरूले हलभित्र टाँसिएका पोस्टरको शुल्क पनि तिर्नुपर्ने छैन।

चलचित्र संघ र निर्माता संघबीच भएको वार्तामा सो सहमति भएका हुन्। हिजो (बुधबार) देखि चलचित्र संघ र निर्माता संघबीच चरणबद्ध रूपमा वार्ता सुरु भएको छ।

चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका सुनीलकुमार थापाले नेतृत्व गरेको वार्तामा बुधबार दुवै पक्षबीच केही बुँदामा समझदारी भएको थियो।

निर्माता संघको १५ दिनसम्म तीन मिनेटसम्मको ट्रेलर निःशुल्क देखाउन पाउने र हलभित्र पोस्टर टाँस्दा शुल्न नलाग्ने मागमा चलचित्र संघ सकारात्मक बनेपछि निर्माताहरूले राहत महसुस गरेका छन्।

चलचित्र संघका महासचिव महर्जनले मोटामोटी समझदारी भएको सञ्चारमाध्यमलाई बताएका छन्। ‘आगामी चरणका वार्तामा मूर्त रूप दिइनेछ,’ उनले भने, ‘मोटामोटी समझदारी भएको छ। आगामी वार्तामा यसबारे लिखित सहमति हुन्छ।’

साथै अन्य कुरामा छलफल हुने र ‘ड्राफ्ट’ तयार गर्ने पनि महर्जन बताए। निर्माता संघले सेयर बाँडफाँटलाई पनि मुख्य मुद्दाको रूपमा अघि सारेको छ।

प्रकाशित: १९ माघ २०७९ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =