नदी तर्न पनि शुल्क!

हिमाल प्रेस २० माघ २०७९ ११:५० | Friday, February 3, 2023
नदी तर्न पनि शुल्क! जोखिम मोलेर कञ्चनपुरको दोदा नदीमाथि बनाइएको अस्थायी काठे पुलबाट मोटरसाइकल गन्तव्यतर्फ जाँदै नागरिक। शुक्लाफाँटा नगरपालिका–१२ र लालझाडी गाउँपालिका–४ का बासिन्दा काठको पुलबाट सवारीसाधन आवतजावत गरेबापत शुल्क तिर्दै आएका छन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसेदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्छिन्। नदी तर्नका लागि उनले अस्थायी काठको पुल बनाएकी छन्। पुलमार्फत् ओहरदोहर गर्ने मोटरसाइकल र साइकल सवारबाट उनले शुःल्क लिन्छिन्।

पुलमार्फत् नदी वारपार गर्ने मोटरसाइकल सवारले ४० र साइकल सवारले ५ रुपैयाँ बुझाउनुपर्छ। रानाको यो पछिल्लो तीन वर्षदेखिको दिनचर्या हो।

नदी छेउमै काठको बेरियर छेउ सानो पसल पनि राखेकी छन्। पुल भएर ओहरदोहर गर्ने साइकल तथा मोटरसाइकल सवार यात्रुबाट हुने आम्दानीले उनले घरखर्च चलाइरहेकी छन्। पुल प्रयोग गर्नेहरूबाट उनले दैनिक एक हजारदेखि दुई हजार पाँच सयसम्म रकम उठाउँछिन्। श्रीमानको निधन भएपछि छोरा बुहारी, नाती नतिनाको खर्चको जोहो गर्न उनले नदीमा अस्थायी पुल बनाएकी हुन्।

‘रोजगारीको छैन । खेती गर्न जग्गा छैन । नदीले जग्गा बगाएपछि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएका छौँ,’ उनले भनिन्, ‘हरेक बर्ष वर्खा सकिएपछि कात्तिकदेखि नदीमा अस्थायी पुल राख्ने गरेकी छु।’ उनले कात्तिकमा राखेको पुल जेठतिर निकालेर घरमा राख्छिन्। नदीमा सात महिना राखिने पुलबाट हुने आम्दानीले रानाको परिवार चलेको छ।

रानाले अस्थायी रूपमा काठको पुल राखेको स्थानभन्दा छेवैमा पक्की पुल निर्माणका लागि पिलर ठड्याइएका छन्। तर एक दशकअघिदेखि यसैगरी उभिएका पिलरले मूर्तरूप कहिले लिने हो टुंगो छैन।

स्थानीय बोटसिंह राना भन्छन्, ‘कृष्णपुर नगरपालिकाको बाणि हुँदै लालझाडी गाउँपालिकासम्म पुग्न नदीमा पुल निर्माण थालिएको हो। निर्माण अलपत्र परेपछि अस्थायी पुलमा शुःल्क तिरेर तर्न बाध्य छौँ।’

दोदा नदी नजिकैको वनहरा नदीमा पनि अस्थायी काठको पुल निर्माण गरिएको छ। नदी तर्नेबाट त्यस ठाउँमा समेत शुल्क लिइने गरिएको छ। नदीमा निर्माण गरिएको झोलुंगे पुल गत भदौको अन्तिम साता आएको बाढीले ढालेपछि स्थानीय शुल्क तिरेर काठको अस्थायी पुल तर्दै आएका छन्।

नदीमा काठको अस्थायी पुल राखेर शुल्का उठाउँदै आएका रामबहादुर रानाले १५ जना मिलेर अस्थायी पुल राखेको बताए। पुलबाट उठेको केही रकम स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने र बचेको रकम १५ जनाले बाँडेर लिने गरेको उनले बताए।

दुवै नदीमा बनाइएका अस्थायी पुलमार्फत् पैदल यात्रु, साइकल र मोटरसाइकल आवतजावतका लागि प्रयोग हुने गरेको छ। ‘अस्थायी भए पनि निर्माणकर्ताले काठको व्यवस्था गरी पुल राख्दा थोरै समयका लागि भए पनि सुविधा पुगेको छ,’ स्थानीय प्रकाश खुनाले भने, ‘थोरै शुःल्क लिँदा चित्त दुखाएका छैनौँ बरु सेवा पाएका छौँ।’ रासस

प्रकाशित: २० माघ २०७९ ११:५० | Friday, February 3, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast