राजमार्गमा पर्ने भवनमा इटहरी उपमहानगरले चलायो डोजर

विवेक विवश रेग्मी १३ माघ २०७९ १८:०१
162
SHARES
राजमार्गमा पर्ने भवनमा इटहरी उपमहानगरले चलायो डोजर

इटहरी– इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र पर्ने भवन भत्काउन सुरु गरेको छ। शुक्रबार उपमहानगरले इटहरी ९ स्थित विराटनगर लाइनमा रहेको सुरज चौधरीको एक तले भवन भत्काएको हो।

उपमहानगरका प्रमुख हेमकर्ण पौडेल, इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापा, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्र खड्कासहितको उपस्थितिमा उपमहानगरले डोजर चलाएको हो।

निर्माणाधीन ६ लेन सडक परियोजनाका क्रममा सडक क्षेत्राधिकारभित्र रहेका भवनले निर्माण कार्यमा असर पुर्‍याएको देखिएकाले भवन भत्काइएको उपमहानगरले जनाएको छ। उपमहानगरले सडक क्षेत्राधिकारभित्र रहेको भवन पहिलोपटक शुक्रबारबाट भत्काउन सुरु गरेको नगर प्रमुख पौडेलले जानकारी दिए।

उनका अनुसार सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका भवनहरू अब नियमित रूपमा उपमहानगरले भत्काउनेछ। उपमहानगरको दुईवटा डोजरसहित भवन भत्काउन प्रमुख पौडेल स्वयम् उपस्थित थिए।

यसअघि उपमहानगरले सूचना जारी गरे पनि स्थानीयवासीले चासो नदेखाएपछि भवन भत्काइएको पौडेलले बताए। रानी-विराटनगर-दुहबी-इटहरी-धरान ६ लेन सडक निर्माणका लागि राजमार्गमा रहेका भवनका कारण समस्या हुँदै आएको छ।

इटहरीको मुख्य चौकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र विराटनगर लाइनमा भने बाँकी नै रहेको छ। राजमार्गमै भवनहरू भएका कारण सडक निर्माण अलपत्र जस्तै छ। सूचना जारी गरेर अब राजमार्गका सबैजसो भवनहरू भत्काइने मेयर पौडेलले बताए।

पटक-पटक सूचना जारी गर्दा पनि अटेर गरेको अवस्थामा उपमहानगर आफैं अग्रसर भएर भवनहरू भत्काइने उनले बताए। इटहरीका राजनीतिक दल, प्रहरी प्रशासन, सरोकारवाला निकायसँग छलफल गरी शुक्रबारबाट राजमार्ग ओगटेर बनेका भवन भत्काउन सुरु गरिएको बताइएको छ।

                                                                                                                                                                                                                                                                                                                            तस्बिरहरू-विवेक विवश रेग्मी/हिमाल प्रेस
यो पनि:

इटहरी उपमहानगर : सरकार नै नभएको अनुभूति!

प्रकाशित: १३ माघ २०७९ १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 8 =