इटहरी उपमहानगर : सरकार नै नभएको अनुभूति!

विवेक विवश रेग्मी ११ माघ २०७९ १७:४७
390
SHARES
इटहरी उपमहानगर : सरकार नै नभएको अनुभूति!

इटहरी– २०५३ माघ ११ गते नगरपालिका घोषणा भएको इटहरी २०७१ पुस २८ गते उपमहानगरपालिकामा परिणत भएको छ। पछिल्लो समय इटहरीलाई महानगरपालिका बनाउने बहससमेत सुरु भएको छ।

कुनै समय प्रदेश १ को राजधानी बनाउनुपर्ने मागसहित इटहरीका नागरिक अगुवा अग्रपंक्तिमा रहे। नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर, सशस्त्र प्रहरी बल, यातायात व्यवस्था कार्यालय, राजस्व अनुसन्धान, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र आदि इटहरीमै छन्।

पछिल्लो समय इटहरी व्यापारिक र शैक्षिक हबका रूपमा चिनिन थालेको छ। यहाँ रहेका दर्जनौँ होटल, रेस्टुरेन्टका कारण उपमहानगर आर्थिक रूपमा समृद्व बन्दै गएको छ। इटहरीमा ठूला होटल तथा रेस्टुरेन्टको संख्या बढ्दो छ।

ठूला डिपार्टमेन्ट स्टोरदेखि मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आएसँगै व्यापारिक सहरको दर्जामा पुगेको छ इटहर। इटहरीचोकदेखि उत्तर तरहराको पानीपियासम्मको ६ लेन सडक त प्रदेश १ कै नमुना विकासको नमुना हो। यसले सहरी सौन्दर्य बढाएको छ।

बढ्दो सहरीकरण र थपिँदो जनसंख्याका कारण चौतर्फी विकासका निम्ति चुनौतीको पहाड छ, इटहरीलाई।

२०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित मेयर द्वारिकलाल चौधरी निकै विवादित बने। विभिन्न घटनामा मुछिएका उनको पाँचवर्षे कार्यकाल जनताको अपेक्षाअनुरूप रहेन।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित मेयर हेमकर्ण पौडेलसँग जनताको ठूलो, आशा, भरोसा र विश्वाससहित अपेक्षा छ। तर मेयर पौडेलले कार्यकाल सम्हालेको नौ महिना बित्दा पनि सरकार रहेको अनुभूति नभएको गुनासो स्थानीयको छ।

९ महिनामा पौडेलले जनताका कति अपेक्षा पूरा गर्न सफल रहे, कति बाँकी छन् र अब कस्ता योजना छन् भन्नेबारे यहाँ चर्चा गर्न लागिएको छ।

इटहरीमा मुख्य समस्या बाढीको छ। बर्खायाममा मात्रै उक्त विषयको बहस हुन्छ। पौडेलले बाढी नियन्त्रणको मुख्य एजेन्डा उठाएर निर्वाचन जिते। आफू बाढी नियन्त्रणका विषयमा गम्भीर रहेको बताउँछन्।
‘हामीलाई आन्तरिक व्यवस्थापनका लागि ६ महिना लाग्यो। अब कसैप्रति पनि आग्रहपूर्वाग्रहमा नलागी ठोस निर्णयमा पुगेर काम गर्छौँ,’ मेयर पौडेलले भने, ‘अहिले हामीले कल सेन्टरमार्फत जनताका गुनासा र समस्या सुनिरहेका छौँ, जसले गर्दा जनतासँग प्रत्यक्ष जोडिएर समस्या बुझुन सजिलो भएको छ।’

भ्रष्टाचारमुक्त नगर निर्माणका लागि प्रतिबद्ध रहेको उनी बताउँछन्। यस्तै पार्किङ व्यवस्थापनमा इटहरी सरकारलाई चुनौती छ।  निर्वाचित भएर आएको तीन महिनामै इटहरीचोकको तीन सय मिटर वरपर पार्किङ निषेध गर्ने निर्णय गरेका मेयर पौडेल अहिले पार्किङ अभावका कारण आलोचित छन्।

इटहरी क्षेत्रमा सडक सीमा मिचेर जथाभाबी पार्किङ गरिरहेको भन्दै यस्ता पार्किङलाई तत्काल हटाउन उनले निर्देशन दिएका थिए। सोहीअनुसार ट्राफिक प्रहरीले समन्वय गर्दै अहिले पार्किङ निषेध गरेको छ।
जथाभाबी पार्किङ गर्न नपाइने नियम लागू हुनु सकारात्मक भए पनि उपमहानगरले निश्चित ठाउँमा पार्किङ गर्ने गन्तव्य नदेखाइनु नगरबासीको गुनासो छ।

चौरस्ताको सहर इटहरीमा मुख्य समस्या सार्वजनिक शौचालयको थियो। गाडीमा आवतजावत गर्ने र इटहरीमा ओर्लने यात्रुका लागि समस्या हुँदै आएको शौचालय अहिले इटहरीको मुख्य चोकमै निर्माण हुँदैछ ।
मेयर पौडेल आफू मिडियामा छाएर काम नहुने तर्क गर्छन्। ‘मिडियामा बोलेर, ठूलो स्वर गरेर नगर भ्रष्टाचारमुक्त हुन सक्दैन। तसर्थ साना कामकै कारण पनि भ्रष्टाचारमुक्त नगर बनाउन प्रतिबद्ध छु,’ उनले भनेका थिए, ‘जनताको हितका निम्ति कठोर बन्नुपर्छ भनेपनि त्यसका लागि तयार छु।’

शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारका कुरामा पनि उपमहानगर सचेत र गम्भीर रहेको उनको भनाइ छ।

‘नगरबासी छिटो काम चाहिरहेका छन्, हामीले पालिकाभित्र सुशासनका काम गरिरहेका छौँ,’ मेयर पौडेलले भने, ‘नीति निर्माण बिना काम गर्दा समस्या हुने भएकाले अहिले सुरुआती अवस्थाबाटै काम भइरहेको छ।’

उनले आफू असारे विकासको विपक्षमा रहेकाले अहिलेबाटै धमाधम काम भइरहेको सुनाए। पौडेलले भने, ‘इटहरी सरकार असारे विकासको पक्षमा छैन। कमसेकम हामी जेठभित्रै काम सक्ने तयारीअनुरुप अहिले विकास निर्माणका काम गरिरहेका छौँ।’

माघ २१ गते नगरसभा गर्ने तयारी भइरहेकाले नीति बनाएर थप काम गर्ने उनको विश्वास छ। ‘नीति बिनाको काम गर्न सम्भव छैन। हामीले अहिले दैनिक कल सेन्टरमार्फत जनताका समस्या बुझ्ने र सुनुवाइ गर्ने काम गरिरहेका छौँ,’ पौडेलले भने, ‘दुई वर्षभित्रमा इटहरीलाई डुबानमुक्त सहर बनाउन पनि यो सरकारको भूमिका रहन्छ।’

सुधारोन्मुख इटहरी अस्पताल

नगर सरकारले इटहरी अस्पतालाई सुधारोन्मुख गरेको जनाएको छ। अस्पतालले २४ सै घण्टा इमर्जेन्सी सेवा दिइरहेको छ। १५ बेडबाट इमर्जेन्सी सेवा दिइरहेको अस्पताल प्रशासनले जनाएको छ। नयाँ बन्दै गरेको भवन निर्माण सम्पन्न भएपछि बेड अभावमा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता हट्ने इटहरी अस्प्तालका स्वास्थ्य निरीक्षक दामोदर गौतमले बताए।

विशेषज्ञ डाक्टरले जाँच गर्दै रोग परीक्षणका लागि विभिन्न टेस्ट गर्नलाई ल्याब सेवालाई पनि आधुनिक बनाइएको छ। ल्याबमा नयाँ मेसिन उपकरण थपिएको छ। दैनिक रुपमा मुट, मिर्गाैला, कलेजो, डायबेटिज, प्रोस्टेट, डेंगु, भिटामिन, थाइराइडसहित अन्य विभिन्न समस्याको परीक्षण हुँदै आएको छ।

भिडियो एक्स–रे जडान गरेपछि परीक्षण गर्न आएका बिरामीलाई अन्य ठाउँमा एक्स–रे गर्न जानुपर्ने बाध्यता हटेको छ। इटहरी अस्पतालमा ५ जना चिकित्सकेले दैनिक ओपीडीसेवा दिइरहेका छन्। डा. अशोक चेम्जोङ, डा. नमिता अधिकारी, डा. शिवनारायण शर्मा, डा. सुशान्त चौधरी, एमएस नवीना बानियाँले दैनिक रूपमा ओपीडी सेवामा खटिएको अस्पताल प्रशासन बताउँछ।

आन्तरिक व्यवस्थापनमा अलमल

इटहरी सरकार आन्तरिक व्यवस्थापनमै अलमल भइरहेको कतिपयको विश्लेषण छ। नगरले धेरै काम भइरहेको बताए पनि त्यो स्वीकार गर्ने पक्षमा छैनन् नगरबासी।

इटहरीका शिक्षासेवी तथा नाट्यकर्मी प्रज्वल पराजुली भन्छन्, ‘नगरले भित्रभित्रै विशेष काम गरिरहेको छ भने त्यो एउटा पाटो भयो। तर मेरा लागि चैँ अहिलेको नेतृत्वले चित्तबुझ्दो काम गरेको छैन।’ अधिकार सम्पन्न स्थानीय तहले आमजनतासँग नजिक रहेर काम गर्नुपर्ने उनको तर्क छ।

‘स्थानीय तहले हामी कहाँ छौँ भनेर पहिला पत्ता लगाउनुपर्छ,’ पराजुली भन्छन्, ‘आन्तरिक स्रोत, राजस्वका कुरासँगै पुँजीको पाटोमा गम्भीर हुनुपर्छ।’

उनले आन्तरिक आर्थिक स्रोतबाहेक इटहरी क्षेत्रमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा विशेष काम गर्नुपर्ने बताए। ‘नगरले शिक्षा र जनस्वास्थ्यमा हस्तक्षेप गरी सकारात्मक काम गर्न आवश्यक देखिन्छ,’ उनी भन्छन्, ‘व्यवस्थापनको पाटोमा विज्ञ टोली बनाउनुपर्छ, अहिले सरकार नै नभएजस्तो अनुभूति छ, पहिला कामै नभए पनि मिडियामा आइरहन्थ्यो।’

प्रकाशित: ११ माघ २०७९ १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =