सरकारको आम्दानीभन्दा खर्च बढी, तलबभत्ताकै लागि आन्तरिक ऋण उठाउने तयारी

हिमाल प्रेस १३ माघ २०७९ १२:५९
38
SHARES
सरकारको आम्दानीभन्दा खर्च बढी, तलबभत्ताकै लागि आन्तरिक ऋण उठाउने तयारी

काठमाडौँ- सरकारको आम्दानीभन्दा खर्च बढी हुँदै गएको छ। माघ १२ गतेसम्म सरकारको खाता १ खर्ब रुपैयाँभन्दा बढीले घाटामा छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन १ देखि माघ १२ गतेसम्म सरकारले ५ खर्ब ५ अर्ब कुल आम्दानी गरेको छ। यो रकम राजस्व, गैरकर राजस्व र अनुदानमार्फत् सरकारको खातामा जम्मा भएको हो।

चालु आवको साउन १ देखि माघ १२ गतेसम्म सरकारले ४ खर्ब २० अर्ब कर संकलन गरेको छ। ४८ अर्ब २५ करोड ७१ लाख रुपैयाँ गैरकर शीर्षकमा संकलन भएको महालेखाको तथ्यांक छ। ६ महिनाको अवधिमा सरकारले जम्मा ४ अर्ब ८० करोड अनुदान पाएको छ।

उता खर्च भने आम्दानीभन्दा १ खर्बभन्दा बढी भएको छ। बिहीबार, माघ १२ गतेसम्म सरकारले ६ खर्ब ६ अर्ब ४२ करोड रुपैयाँ खर्च गरेको छ।

सरकारको चालु शीर्षकमा सबैभन्दा बढी खर्च गरेको छ। सरकारले ४ खर्ब ८० अर्ब चालु खर्च गरेको छ। सरकारले चालु खर्च धान्न पनि आन्तरिक ऋणको भर पर्नुपर्ने अवस्था आएको छ। तलब भत्ता र दैनिक कार्य सञ्चालनका लागि चालु खर्च हुन्छ।

विकास खर्च भने जम्मा ५८ अर्ब ६३ करोड ५३ लाख रुपैयाँ खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकतर्फ ६७ अर्ब ७६ करोड ५४ लाख खर्च भएको छ।

प्रकाशित: १३ माघ २०७९ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =