कांग्रेसले देशका बारेमा कहिल्यै चिन्ता गरेन : ओली

हिमाल प्रेस ११ माघ २०७९ १६:२७
4
SHARES
कांग्रेसले देशका बारेमा कहिल्यै चिन्ता गरेन : ओली फाइल तस्बिर

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली का‌ंग्रेसले  देशका बारेमा कहिल्यै चिन्ता नगरेको आरोप लगाएका छन्। कांग्रेस सत्ता राजनीतिमा मात्र केन्द्रित रहेको उनको भनाइ छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा ओलीले कांग्रेसले आफू सरकारमा सहभागी भए भइगो नि भन्ने एउटा मात्रै सूत्र लिएर हिँड्ने गरेको आरोप पनि लगाए।

उनले भने, ‘कांग्रेसले देशका बारेमा चर्चा र चिन्ता आवश्यक नै ठानेन। कांग्रेसको एउटा मात्रै सूत्र छ- आफू सरकारमा हुनुपर्छ।’ कांग्रेसले लोकतन्त्र र विकास भनेर आफ्नो विकास मात्रै गर्न खोजेको टिप्प्णी ओलीको छ।

अध्यक्ष ओलीले भने, ‘देशमा सरकार कांग्रेसको छ भने विकास कस्तो हुन्छ? अर्थतन्त्र ध्वस्त भए पनि केही छैन। विकास हुनुपर्नेको भएकै छ। त्यही हो विकास। यस्तोमा बोल्न नसक्ने अभिसप्त एउटा जमात हुन्छ।’

नेपाली कांग्रेसले महाधिवेशन गरे पनि महाधिवेशनमा कुनै दस्तावेज पेस नभएको ओलीले बताए।। उनले भने, ‘महाधिवेशनमा देशको अवस्थाको बारेमा चर्चा भएन।’

अध्यक्ष ओलीले एमाले दलबल गरेर बाँडीचुँडी खाने पार्टी नभएको दोहो¥याए। उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ आफ्नो पार्टीको गन्तव्य भएकाले त्यसलाई सफल पार्न केन्द्रित हुन पनि पार्टीका नेताकार्यकर्तालाई निर्देशन दिए।

उनले भने, ‘एमाले दलबल गरेर केही प्राप्त गर्ने, प्राप्त गरेको चिजलाई बाँडीचुँडी खाने, मिलिजुली खाने यस्तो पार्टी होइन। दलबल गर्ने यस्तो चिज होइन। विचार, उद्देश्यमा संगठित हुने हो। हामी समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय आकांक्षा सफल पार्ने, त्यसलाई गन्तव्य बनाउने हाम्रो जुन उद्देश्य छ। त्यसमा केन्द्रित हुन्छौँ हामी।’

अध्यक्ष ओलीले नयाँ खुलेका दलप्रति संकेत गर्दै केही पार्टीहरू सामाजिक असन्तुष्टिलाई उपयोग गर्न आएको बताएर। उनीहरुको राजनीति टिकाउ नहुने धारणा ओलीको छ।

मौसमी खालका कुरा गर्ने, सामाजिक असन्तुष्टिलाई उपयोग गरेर आउने पार्टीहरु स्थायी रुपमा रहन नसक्ने उनले बताएका हुन्। ओलीले भने, ‘केही सामाजिक असन्तुष्टिलाई उपयोग गर्ने, समाजमा असन्तुष्टि बढयो। त्यसकारण त्यसलाई उपयोग गरेर जाने। कोही एउटा मौसमी खालका कुराहरुबाट ह्वात्त आउने। यस्ता कुराहरु राजनीतिमा देखा पर्छन्। तर ती स्थायी हुँदैनन्।’

त्यस्ता दलहरूको कुनै उद्देश्य नरहेको तर एमालले उद्देश्यसहितको राजनीति गर्दै आएको ओलीले बताए। उनले भने, ‘अरू पार्टी र हाम्रो फरक के छ भने विचारको बहस अन्त सुन्नुहुन्न होला तपाईँ।’
अध्यक्ष ओलीले सत्यसँग नलड्न र जालझेलको राजनीति नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 18 =