पेप ग्वार्डिओला भन्छन् : आर्सनलले सिटीलाई सखाप पार्नसक्छ

हिमाल प्रेस ६ माघ २०७९ ९:३०
6
SHARES
पेप ग्वार्डिओला भन्छन् : आर्सनलले सिटीलाई सखाप पार्नसक्छ

काठमाडौँ- टोटनहममाथि ४–२ को जित हासिल गरे पनि पेप ग्वार्डिओलाले आफ्नो टिमको प्रदर्शनलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबार राति इत्तिहाद रंगशालामा घरेलु टिम सिटीले २–० को स्थिति उल्टाउँदै विजय हासिल गरेको थियो।

यो जितपछि ग्वार्डिओलाले म्यानचेस्टर सिटीको खेलमा सुधारकाे आवश्यकता रहेको प्रतिक्रिया दिए। नत्र आर्सनलले सजिलै पराजित गर्ने उनको भनाइ थियो। आर्सनलसँग सिटीले लिगका दुई खेल नै खेल्न बाँकी छ।

‘टोटनहमलाई पराजित गर्दा खुसी नहुने भन्ने हुँदैन। तर हामीले अझै पनि स्वाभाविक प्रदर्शन गर्न सकिरहेका छैनौँ। यसकारण म चाहन्छु, हामी सबै गम्भीर बनौँ। खेलाडी मात्र होइन, सम्पूर्ण क्लब नै। हालका दिनमा भइरहेको प्रदर्शनबाट अरु खुसी होलान्, म खुसी छैन। हुन पनि चाहन्नँ। मेरो लक्ष्य आर्सनललाई हराउने हो। तर यसरी खेल्दा आर्सनलले सजिलै सखाप पारिदिन्छ,’ ग्वार्डिओलाले भने।

इंग्लिस प्रिमियर लिगमा आर्सनलको भन्दा एक खेल बढी खेलेको सिटी हाल ४२ अंकसहित दोस्रो स्थानमा छ। १८ खेलबाट ४७ अंक जम्मा गरेको आर्सनल शीर्षस्थानमा यथावत छ। पराजित टोटनहमले २० खेलबाट ३३ अंक बटुलेको छ।

टोटनहमले पहिलो हाफको अन्तिम दुई मिनेटभित्र दुई गोल गरेको थियो। डेजान कुलुभेस्कीले ४४ औँ मिनेटमा अग्रता दिलाएका थिए भने दुई मिनेटपद्धि एमरसन रोयलले अग्रता दोब्बर बनाएका थिए।

तर दोस्रो हाफमा सिटीले लगातार तीन गोल फर्काएको थियो। जुलियान अल्भारेज, एर्लिङ हालान्ड र रियाद माहरेजले १२ मिनेटभित्र पालैपालो एक–एक गोल गरे। माहरेजले ९० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले खेल ४–२ ले जित्यो।

ग्वार्डिओलाले यसपालि आफ्ना केही मुख्य खेलाडीलाई बेन्चमा राखेका थिए। गत साता म्यानचेस्टर युनाइटेडसँग पराजित हुँदा पहिलो एघारमा रहेका केभिन डे ब्रुएना टोटनहमविरुद्ध मैदानमा उत्रेनन् भने बर्नादो सिल्भालाई उत्तराद्र्धमा मात्र मौका दिइएको थियो। खेल्ने शैली नै फेरेका ग्वार्डिओलाले हालान्ड र माहरजेलाई अग्रपंक्तिको जिम्मा दिएका थिए।

प्रिमियर लिगमा लगातार दोस्रो खेल हारेपछि टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले अनुभवी टिम भएकाले सिटीलाई फाइदा भएको प्रतिक्रिया दिए। उनले आफ्नो रक्षापंक्तिले खराब खेल देखाएको पनि बताए। ‘मेरो प्रशिक्षण करियरमा यो सबैभन्दा ठूलो अन्तरको हार हो,’ कोन्टेले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nineteen =