सम्झौताको दुई वर्ष बित्दा पनि काठमाडौँमा जोडिएन स्मार्ट सडक बत्ती

हिमाल प्रेस १ माघ २०७९ १७:४३
12
SHARES
सम्झौताको दुई वर्ष बित्दा पनि काठमाडौँमा जोडिएन स्मार्ट सडक बत्ती प्रतीकात्मक तस्बिर।

काठमाडौँ– काठमाडौँका मुख्य सडकमा स्मार्ट स्ट्रिट लाइट जडानको सम्झौता भएको दुई वर्षपछि पनि सम्झौता कार्यान्वयन भएको छैन। ०७७ मंसिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्न भएको सम्झौता कार्यान्वयन भएको छैन।

सम्झौता भएको ४५ दिनदेखि काम सुरु गर्ने भनिए पनि सुरुको एक वर्ष कोरोना महामारीका कारण काम अघि बढाउन नसकिएको महानगरपालिकाको भनाइ छ। कोभिडको त्रास कम भएपछि भने महानगरले सडक बत्तीको विद्युत् महसुल र प्राधिकरणले सम्पत्ति कर तिर्नुपर्नेजस्ता विषयमा विवाद हुँदा थप काम अघि बढ्न नसको हो।

सहमतिअनुसार महानगर क्षेत्रभित्रका मुख्य-मुख्य सडकमा जडान गरिने आधुनिक बत्तीका लागिे महानगर र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गरिने र लगानीको ६० महानगरको र प्रतिशत प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ।

महानगरको अधिकारक्षेत्रभित्र पर्ने सडकका जम्मा ६० किलोमिटर क्षेत्रमा बत्ती जडान गर्ने सम्झौता उल्लेख छ । सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ वानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, महाराजगञ्ज चोक, पुतली सडक, शीतल निवासलगायत क्षेत्रमा पहिलो चरणमा करिब १२ करोड रुपैयाँ लागतमा १ हजार ७ सय थान आधुनिक सडक बत्ती जडानका लागि कार्यअघि बढाउने भनिएको छ।

महानगरको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार स्मार्ट सडक बत्ती जडान गर्ने सहमति भए पनि कुन कम्पनीको, कति थान र कुन क्षमताको बत्ती जडान गर्ने तथा त्यसको मर्मतसम्भार कस्ले गर्ने, बत्तीको महसुल कस्ले तिर्नेजस्ता विषय स्पष्ट नभएकाले काम अघि बढ्न नसकेको हो। ती विषयमा सम्झौता गर्नका लागि छलफल भइरहेकाले सम्झौतापछि तत्काल काम सुरु हुने प्रमुख थापाले बताए।

यसअघि सम्झौता हुन नसकेको विषयमा पनि सहमति भई एक हप्ताभित्र काम अघि बढ्ने तयारीमा छ। बाँकी रहेका स-साना विषयमा सहमति भएसँगै पैसा निकासा भएर काम अघि बढाउने तयारी रहेको पनि थापाले जानकारी दिए।

यस्तै बत्ती जडानपछि बत्ती ती स्थानका फुटपाथलगायतको मर्मत विभागले गर्ने सम्झौतामा उल्लेख छ। बत्ती जडानसँगै राति सडकमा हुने दुर्घटना कम हुने र यात्रुलाई आवतजावतमा सहयोग पुग्ने महानगरको विश्वास छ। उक्त बत्तीले सडकमा सोलार वा अन्य बत्तीलेभन्दा बढी उज्यालो दिने र त्यसको प्रकाश साँझको समयमा बढी चम्किलो हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 16 =