अन्तर्वार्ता

वामपन्थी शक्तिलाई एक बनाउन नेकपा (एस) रोजेको हुँ : घनश्याम भुसाल

‘आठौँ महाधिवेशनपछि ओलीलाई तेस्रो वरीयतामा ल्याउन पहल गर्ने मै हुँ। त्यो गल्ती नगरेको भए एमाले झन् शक्तिशाली हुन्थ्यो।’

चन्द्रशेखर अधिकारी १ माघ २०७९ १७:४५
वामपन्थी शक्तिलाई एक बनाउन नेकपा (एस) रोजेको हुँ : घनश्याम भुसाल

घनश्याम भुसाल ४५ वर्षअघि विद्यार्थी राजनीतिबाट उदाएका समाजवाद र मार्क्सवादको प्रभावकारी प्रवचन दिन सक्ने बौद्धिक नेता हुन्। एमालेको वर्तमान मार्गनिर्देशन उनै भुसालले नवौँ महाधिवेशनमा तयार गरेका थिए। वैचारिक बहसमा खरो उत्रने भुसाललाई केपी शर्मा ओलीले आफू शक्तिमा आएपछि सधैँ तारो बनाए।

ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न टकरावमा भुसालले माधवकुमार नेपाललाई साथ दिएका थिए। नेपालले पार्टी विभाजनको कुरा राख्दा त्यसलाई अस्वीकार गर्दै भुसाल र भीम रावलसहित स्थायी कमिटीका १० नेता १० बुँदे सहमतिसहित एमालेमै बसे। यद्यपि पार्टीभित्र सुधारको मागसहित फर्किएका ‘दस भाइ’को माग सम्बोधन भएन।

भुसालकै भनाइमा दशौँ महाधिवेशनमा ‘सौरहा काण्ड’ नै भयो। अघिल्ला महाधिवेशनमा लोकतान्त्रिक अभ्यास गर्दै आएको पार्टीमा ओलीले लिस्ट पढेर सुनाए। जसको विरोधमा भुसाल र रावल अग्रस्थानमा उभिए। भुसालले उपाध्यक्षमा उम्मेदवारी दिए। जसले गर्दा महाधिवेशन निर्वाचनसम्म पुग्यो।

त्यसको तुष ओलीले गत मंसिरमा सम्पन्न आमनिर्वाचनमा देखाए। भुसाललाई प्रतिनिधिसभाको टिकट दिइएन। त्यसपछि उनले पार्टीबाट राजीनामा दिएर रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिए। २१ हजार मत ल्याउँदा पनि भुसाल पूर्वसहकर्मी छविलाल विश्वकर्मासँग पराजित भए।

संसदीय राजनीतिबाट कम्तिमा पाँच वर्ष बाहिरिएपछि उनका बारेमा अनेकन अड्कलबाजी भए। धेरैले माओवादी प्रवेशको आकलन गरे। किनभने गठबन्धनमा आफ्नो भागमा परेको टिकट माओवादी केन्द्रले भुसालका लागि छाडेको थियो। तर पुस २९ गते भुसाल नेकपा (एकीकृत समाजवादी)को ओत लिन पुगे। जहाँ उनी पहिले जान मानेका थिएनन्। यही पार्टीबाट भुसालले वामपन्थी एकताको प्रयास गर्ने बताएका छन्। समाजवादी एकता केन्द्रको अभियान, राष्ट्रिय राजनीति, भूराजनीतिक अवस्थालगायत विषयमा हिमाल प्रेसका चन्द्रशेखर अधिकारीले गरेको कुराकानीः

सुरुमा जुन पार्टीमा जानुभएको थिएन अन्ततः त्यही नेकपा एकीकृत समाजवादी (एस) प्रवेश गर्नुभयो। केही समयअघि मात्रै एमाले छोड्नुभयो। निर्वाचनमा वाम स्वतन्त्र भन्दै होमिनुभयो। हामी अलिकति अलमलियौँ नी।

यहाँ अलमलिने कुरै छैन। किनकि म सधैँ पार्टी एकताको पक्षमा रहेँ। त्यही कारण म कतै जान सकिनँ। अन्ततः एउटा निर्णय लिनुपर्ने भयो, समाजवादी केन्द्र बनाएर जान सबै तयार हुने भएपछि एकीकृत समाजवादीमा जोडिए।
म पहिले एकीकृत समाजवादीमा किन गइनँ भन्ने विषयलाई स्पष्ट पार्न योभन्दा अघिको केही दृष्टान्त भन्न चाहन्छु। म हरेक विभाजनको सम्भावनाबाट तर्सिने गर्छु। किनकि २०५४ सालमा भएको पार्टी विभाजनको पीडा मैले नजिकबाट महसुस गरेको छु। त्यो समयमा म पनि बामदेवजीसँग लागेर मालेमा गएको थिएँ। पछि वाम एकतालाई बलियो बनाउने भनेपछि हामी एमालेमै फर्कियौँ।

आठौँ अधिवेशनमा केपी शर्मा ओलीले अध्यक्षमा हारेपछि पार्टी पुनः फुटको संघारमा पुग्यो। हारेपछि ओलीलाई शंकर पोखरेल, ईश्वर पोखरेलभन्दा अगाडि भाषण गर्नुपर्ने र कुर्सीमा उहाँहरूको पछि बस्नुपर्ने अवस्था आयो। यसले गर्दा ओलीले पटक–पटक हिनताबोध गरेर मलाई त्यतिबेला चार कुरा भन्नु भएको थियो। त्यसमध्ये एक हो उहाँले तेस्रो वरीयतामा पहल गरिदिन मसँग प्रस्ताव गर्नुभएकोे। मैले अध्यक्ष जे एन खनालसमक्ष कुरा राखेँ। उहाँले हुन्छ हेरौँला, छलफल गरौँला भन्नुभयो। तर, ओली जीले मलाई भनेको भनेकै गर्नुभयो।

अह्म ब्रम्हास्मि अर्थात् म ब्रम्ह हुँ, अरु कोही होइन भन्ने भावना छ। उहाँमा म ‘आइडियोलोजी’ मै हो भन्ने छ। उहाँ जुन हैसियतमा भए पनि सत्ताको निजी अभ्यास गर्न चाहुनुहुन्छ। यो नै ओलीको सिद्धान्त हो। ओलीको आँखाले शत्रु र चाकरबाहेक देख्दैन।

सदस्यमात्र भएको पीडा उहाँमा रह्यो। किनकि वास्तविक वरीयतामा उहाँ नवौँ-दशौँतिर पर्नुभयो। त्यसपछि कार्यक्रममा ढिलो जाने, अरु बोलेपछि पुग्ने, व्यंग्य गर्ने गर्न थालेपछि मैले फेरि भएन भनेर वामदेव जीसँग कुरा राखेँ। त्यसपछि बैठक नै गरेर छलफल भयो र तेस्रो वरीयता उहाँलाई दिलायौँ। त्यसको एक मात्र कारण थियो– पार्टी केही नहोस्, एकबद्ध होस्। उहाँको माग त चारवटा थियो तर त्यसमध्ये एकको समाधान खोज्यौँ। त्यतिबेला यो निर्णयको अधिकांश सांसद र केन्द्रीय कमिटी सदस्यले विरोध गरेका थिए। त्यतिबेला ओलीको वरीयता उकाल्न मैले पहल नगरेको भए सायद अहिले एमालेको अवस्था फरक र झन बलियो हुने थियो।

वरीयतामा परिवर्तन भएपछि उहाँको भूमिका पनि बढ्यो। पछि नवौँ महाधिवेशनबाट उहाँ अध्यक्ष हुनुभयो। त्यसयता उहाँले के गर्नुभयो सबै छर्लङ्ग छ। माओवादीसँग एकीकरण गर्दा के भन्नुभयो, सत्तामा रहेपछि के कुरा भयो। हुँदाहुँदा दुईदुई पटक संसद् विघटन गर्नुभयो। तर पनि हामीले पार्टीलाई फुटबाट जोगाउन अनेकन उपाए लगायौँ।

दश भाइका नामले चिनिएर पनि खुम्चिएर एमालेमा बस्यौँ। माधवकुमार नेपालजीलाई सम्झाउन प्रयास गर्‍यौँ। विचार मिल्दामिल्दै पनि नेपाललाई साथ नदिइकन एमालेमा रहियो तर पनि ओलीजीको दम्भ घटेन। नेकपा माओवादी फुटेर जान नदिन पनि पहल गर्‍यौँ, केही लागेन।

कुनै योजना अनुरूपको काम पार्टीमा नहुने देखियो। पार्टी पूरै ओलीतन्त्रको खेमामा रह्यो। संस्था, संस्कार, पद्दति विधि, विचारभन्दा ओली माथि भएपछि समय बर्बाद पार्नुभन्दा बरु समाजवाद, माक्र्सवाद पढाएरै बस्छु भनेर पार्टीबाट निस्केको थिएँ। तर अन्त्यमा नेपालका वामलाई समाजवादी केन्द्रको रूपमा एककठ्ठा गर्न आवश्यक महसुस भएर एकीकृत समाजवादी रोजेको हुँ।

त्यसोभए यहाँहरूले केपी शर्मा ओली बाहेकको वाम एकताको तयारी थाल्नु भएको हो?

ओली जी त आफैँ ‘संस्था’जस्तै गरी हिँड्नुभएको छ। उहाँको विरुद्धमा कोही जानै मिल्दैन, प्रश्न गर्नै मिल्दैन। उहाँले गल्ती गर्दा र जथाभावी बोल्दा पनि राम्रो भन्नुपर्छ। यस्तो व्यक्ति वाम आन्दोलन र सहकार्यको पक्षमा कहिल्यै हुन सक्दैन।

उहाँको सोच नै २०६२-६३ को उपलब्धिभन्दा फरक छ। उहाँलाई व्यक्तिगत रूपमा न गणतन्त्र मन परेको छ न त संविधान नै। उहाँ त्योभन्दा बिल्कुल अलग मानिस हो। उट्पट्याङ कुरा गर्नुपर्ने, बौद्धिकताको बहसमा टिक्न नसक्ने। अर्कालाई उडाउन पर्ने त्यो शैलीको चरित्र उहाँमा छ। त्यस्तो मानिसबाट नेतृत्व हुनसक्दैन।

हिजो उहाँले अध्यक्ष, प्रधानमन्त्री दुवै समाएर बस्दा वाम एकता खल्बलियो। एउटा पद छोड्दा के खस्थ्यो र? त्यतिबेला भीम रावल र पम्फा भुसालजीले समावेदन फिर्ता गर्ने र ओलीले अध्यादेश फिर्ता लिने सहमति भएको थियो। त्यो मिलाउने समन्वयको भूमिका मैले नै खेलेको थिएँ। सहमतिपछि रावल जी समावेदन नहाली फर्कनुभयो तर ओलीजीले त्यही अध्यादेश ल्याएर ५४ जनाको नियुक्ति गर्नुभयो।

लाजघिनबाट माथि उठेर नांगै हिडेपछि के गर्न सकिँदो रहेछ र? २०७६ को वैशाखपछि लगातार ओलीको विरोध भयो। दुवै पदबाट राजीनामा दिनुपर्ने आवाज उठ्यो तर मैले दुई होइन एक पद भनेर सुरुदेखि बहस गरेँ। एक पद उहाँलाई चाहिन्छ भने। तर, दुई पदमा अडान लिँदा आफू पनि सकिनु भयो पार्टी पनि सक्नु भयो।

पार्टीभित्र अलिकति पनि लचकता नदेखाउँदा माधवकुमार नेपाल, झलनाथ खनालजस्ता पार्टीको नेतृत्व गरिसकेका नेताले पार्टी छोड्नुपर्ने अवस्था आयो। त्यति गर्दा पनि ओलीले चेत्नुभएन। कसरी हुन्छ उहाँसँग एकता? उहाँसँग रहने र पार्टीलाई माया गर्नेहरु कति गुम्सिएका होलान त्यो त म मात्र आकलन गर्नसक्छु।

अन्त्यमा एकीकृत समाजवादीमै जानुपर्ने रहेछ? २०७८ भदौमा यो सम्भावना किन देख्नुभएन?

सकेसम्म फुटको राजनीति हुन नदिने प्रयासमा लागेको हुँ। फुटपछि पनि मिलाउन प्रयास गरेकै हो। नेतृत्व नै खलपात्र भएपछि के लाग्छ? एमालेमा अहिले त्यही भएको छ। नेतृत्व नै एमाले र समग्र कम्युनिस्ट आन्दोलन सक्ने अभियानमा गएपछि त्यहाँ कसरी रहन सकिन्छ?

एमालेमा समाजवाद, मार्क्सवाद होइन, विचौलियावाद हाबी छ। परिश्रम नगरी कमाएर खानेहरूले एमालेमा हालिमुहाली गरिरहेका छन्। यसलाई चिर्न कम्युनिस्ट आन्दोलनको पुर्नगठन र एकता आवश्यक छ। अन्यथा नेपालमा रहेको ६० प्रतिशत बढी कम्युनिस्ट बिस्तारै बिलिन हुने सम्भावना छ।

कम्युनिस्ट आन्दोलनले तय गरेको गोरेटोलाई लिएर पुनः समाजवादी केन्द्रको परिकल्पनामा हामी अघि बढ्ने छौँ। तत्काल हामीले उपेन्द्र यादव नेतृत्व समाजवादी पार्टीसँग सहकार्यको गोरेटो कोरेका छौँ। माओवादीसँग पनि कुरा भइरहेको छ। स्वतन्त्र उठेर आउनुभएका सांसदहरूसँग पनि कुरा हुँदैछ। मैले एमालेको साथीहरूसँग पनि कुरा गरिरहेको छु।

यो काम संगठित रूपमा यहीँबाट सुरु गरौँ भनेर म नेकपा (एस)मा आएको हो। अब यो मुलुकमा अर्को क्रान्ति आवश्यक छैन। विगतका क्रान्तिबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्ने नै अबको जिम्मेवारी हो। अब समृद्धिको समाजवादतर्फ हामी जानुपर्छ। म नेपाललाई समाजवादतर्फ लैजाने यात्राको एक सदस्य हुँ।

यही दलमा रहेर माथि भनिएका प्रयास आगामी दिनमा सफल हुने देख्नुहुन्छ?

सम्भव छ। यसमा दलको रूपमा नेकपा (एस) मात्र रहँदैन। यसले ठूलो आकार लिँदै जानेछ। १० वर्षे योजना बनाएर जाने र त्यसअन्तर्गत काम गर्ने सोच हामीले राखेका छौँ। अब विकासको लहरमा परिवर्तन ल्याउने हाम्रो सोच हो। एसले त्यो कार्यक्रम बनाउने कुरामा सहमति गरेको छ भने समाजवादी दलले पनि मान्ने र माओवादी पनि त्यसमा आउने निश्चितप्रायः छ।

नेपाल उद्यम नगरी नाफा कमाउने पुँजीपति भएको मुलुक बन्दै गएको छ। यसमार्फत् कमाएको सम्पत्ति राजनीति दल र नेतासम्म पुग्न थालेको छ। हो, यही शक्तिको गठजोडले सीमा, विचार भत्काएको छ। यो शक्ति राज्यका सबै अंगमा पसेको छ।

हाम्रो समाजको ठूलो समस्याको रूपमा देखिएको बेरोजगारी र यसबाट उत्पन्न हुने अवस्था अन्त्य गर्नका लागि के गर्न सकिन्छ भनेर हामी काम गर्नेछौँ। १६–१७ वर्षको उमेरबाटै विदेशिने चलन अन्त्य गर्नुपर्छ। युवाहरू विदेशमा जोखिम मोलेर काम गर्ने र हामी यहाँ राजनीति गर्ने यस्तो विडम्बनाको अवस्था हामीले तोड्नैपछै।

यसको लागि विचार मिल्ने दलहरूलाई समेट्ने प्रयासमा केही काम अगाडि बढिसकेको हो?

इमान्दार लोकतान्त्रिक र गतिशील कम्युनिस्ट एक स्थानमा उभिन कुनै समस्या छैन। राष्ट्रिय पुँजीको उपयोग हुने र आम नागरिक बलियो हुने प्रगतिशील वर्ग साझा कार्यक्रम बनाएर अघि बढ्नेछौँ। हामीले व्यक्ति र दल सबैलाई एकत्रित गर्दै लैजाने छौँ। त्यसमा म वा एकीकृत समाजवादीका नेतृत्व मात्र रहने कुरा हुँदैन। सबैको साझा थलो बन्छ।

भनेपछि तपाईंहरूले एमालेलाई एक्ल्याउने र अन्य कम्युनिस्ट पार्टी मिल्ने सोचिरहनुभएको छ?

मैले, हाम्रो दलले र अन्य दलले सोचेर संस्थागतरूपमा निर्णय गर्नेछौँ। एमालेको संस्थागत जीवन नै छैन। एमालेको नेतृत्व कमरेड ओलीका आकांक्षाको सेवा गर्ने समिति मात्र हो। अहिलेसम्मको योजनाअनुसार आमरूपमा समाजवादी केन्द्र बनाउँछौँ। जहाँ माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी, नेपाल समाजवादीलगायत दल जोडिन्छौँ।

अरु प्रगतिशील नेता र दल पनि जोडिनुहुनेछ। तर अहिलेकै अवस्थामा ओलीले अरुको नेतृत्व स्वीकार्ने र सामूहिकतामा विश्वास गर्नुहुन्छ भन्ने मलाई लाग्दैन। खासमा भन्दा ‘लेफ्ट युनिटी’को बाधक नै ओलीजी हो। मैले भन्ने गरेको सौराह काण्डपछि ओली जी झनै हावि हुनुभयो। त्यसकारण ओलीको जकटबाट बाहिर नआउँदासम्म एमाले हामीकोमा आउने सम्भावना देख्दिनँ। यद्यपि कार्यकर्ता विस्तारै आउनेछन्। त्यसपछि नेतृत्वलाई बाध्यात्मक हुनेछ।

वामपन्थी विचार राख्ने स्वतन्त्र सांसद र नयाँ पार्टी पनि छन्। उहाँहरूसँग केही कुरा भएको छ?

स्वतन्त्र उठेर जित्नुभएका मात्रै होइन, निर्वाचन हारेका साथीहरूसँग पनि कुरा भएको छ। नयाँ खुलेको पार्टीसँग पनि चरणबद्ध कुराकानी भइरहेको छ। तर विना विचार, विना तयारी, विना सोच र विना संगठनले जीत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको विषयमा चाहिँ दलभन्दा व्यक्तिसँग बढी कुरा भइरहेको छ।

कतिले कस्तो समाजवादी केन्द्र? भनेर चासो पनि दिनुभएको छ। आम नागरिकको समस्याको समाधान गर्नेगरी नै केन्द्र बनाउने हो। त्यो स्पष्ट नै छ। हामी कुनै लहडबाट नभएर तय गरेको मार्गदर्शनबाट अघि बढ्नेछौँ। आगामी १०÷१५ वर्षमा के गर्ने तय गरेर त्यसअनुरुप अघि बढ्छौँ।

त्यसोभए वाम शक्तिहरू संगठित भएर समाजवादी केन्द्र बनाउन कति समय लाग्ला?

समाजवादी केन्द्र नभनेर प्रगतिशील भन्ने कुरा पनि उठेको छ। सारमा भन्दा आजको प्रगतिशील भन्ने नै समाजवादी हो। एक देखि डेढ महिनाभित्र एउटा सजिलो मोर्चामा संगठित भइएला भन्ने लाग्छ। सकभर फागुन अर्थात् आगामी राष्ट्रपतिको निर्वाचनअघि नै एकीकृत हुन खोज्ने हो। अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायतको फुर्सद नमिलेर हो। फुर्सद हुने वित्तिकै टुंगो लाग्छ।

यहाँहरुको प्रयासले यस्तो पनि देखाउँछ कि मुुलुकमा दुई दल मात्र हुने गरी प्रक्रिया अघि बढाउन लाग्नुभएको हो?

अहिलेकै अवस्थामा दुईवटा मात्र त सम्भव छैन। राप्रपाले समेत आफू अनुकूल साइज बनाउँदै गएको छ। राष्ट्रिय स्वतत्त्र पार्टीले पनि राम्रै आकार पायो। यसकारण एउटा वामपन्थी, गैरवामपन्थी र अर्को विचारहीनहरू नहोलान् भनेर इन्कार गर्न सकिँदैन।

सामान्यतयाः दुई ध्रुब हुनुपर्छ भनियो भने हामी पनि कमरेड ओलीजस्तै हुन्छौँ। हामीले त्यस्तो भन्नु हुँदैन र भन्दैनौँ पनि। नेपालको सन्दर्भमा आजको समस्याको समाधान उदार लोकतान्त्रिक तरिकाले गर्न सकिन्छ। उदार लोकतन्त्रको अभ्यास गर्दै यहाँका गरिब श्रमिक, पिछडिएको वर्ग, महिलालगायतको समस्यालाई ख्याल गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ।

यसको मतलब कम्युनिस्ट एकताको बाधक केपी ओली हुन्?

संस्कार, पद्दति, विधि, विचारको हिसाबले केपी ओलीको म बाहेक अरु कोही होइन भन्ने छ। अह्म ब्रम्हास्मि अर्थात् म ब्रम्ह हुँ, अरु कोही होइन भन्ने भावना छ। उहाँमा म ‘आइडियोलोजी’ मै हो भन्ने छ। उहाँ जुन हैसियतमा भए पनि सत्ताको निजी अभ्यास गर्न चाहुनुहुन्छ। यो नै ओलीको सिद्धान्त हो। उहाँको आँखाले शत्रु र चाकरबाहेक देख्दैन।

उहाँ वाम आन्दोलनको मात्र होइन, हाम्रो राजनीतिक परिवर्तन, स्वतन्त्रता, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादी राज्यको पनि विरोधी हो। यसकारण उहाँ र हाम्रो विचार मिल्दैन। नेकपा एमाले जस्तो पार्टीमा ओलीवाद कसरी जन्मियो भन्नेमा हामीले महसुस र आफैँले अध्ययन गनुपर्छ झै लाग्छ । मुलुकको भविष्यको यत्रो ठूलो अवसर गुमाउनका लागि एक अर्थमा अगुवाई गरेको मानिसको बारेमा आज नभए पनि भोलि अध्ययन हुन्छ।

यो सबै थाहा हुँदाहुँदै पनि कम्युनिस्ट विचार राख्‍ने ठूलो तप्का त उहाँसँगै छ नि?

एमाले संगठनमा १०-१५ प्रतिशत राजनीतिइतर समूहले बाडफाँड गरेर बनेको गिरोह छ। त्यसले सत्ता कब्जा गरेको छ। हामीले पार्टीको संगठन बनाउँदा कम्युस्टि नारा दियौँ, मूल्य मान्यता सिकायौँ। पार्टीप्रतिको सर्मपण, प्रेम, प्रतिबद्धता र विचारप्रतिको निष्ठता सिकाएका छौँ।

त्यही समूह अहिले पनि पार्टीमा छ। अहिले त्यही १०-१५ प्रतिशत समूहले पार्टीप्रतिको प्रतिबद्धता भक्ति, माया प्रेम सद्भावमाथि शासन गरेको छ। त्यो क्रमशः बढ्दै गएको छ। त्यसकारण ठूलो तप्का लामो समय त्यहाँ रहँदैन।

हाम्रोजस्तो भुगोललाई बाह्य शक्तिबाट प्रभाव कत्तिको पर्छ?

हामी जहिले बलियो हुन्छौँ त्यतिबेला बाह्य शक्तिले प्रभाव पार्छ। कांग्रेस र कम्युनिस्टलाई उपयोग गर्न बाहिरका शक्ति लागिपरेकै हुन्छन्। हिजो गिरिजाप्रसाद कोइराला बलियो हुँदा उनलाई हतकडी लगाइएकै हो। अहिले त भूराजनीतिक अवस्था झन् बिग्रेको छ। १९६२ पछाडि भारत र चीनबीच धेरै तनाव थिएन। अहिले त्यो अवस्था छैन। यी दुई देश ठाउँठाउँमा झडपमा उत्रिसकेका छन्।

चीन र अमेरिका नेपालमा कसरी खुलिरहेका छन् भन्ने देखेकै छौँ। यो एमसीसीमा त छर्लंगै भयो। यसकारण भूराजनीतिका हिजोका समस्या झन् बढेको देखिन्छ। तर हिजोको जस्तो ससानो मुद्दामा प्रभाव पार्न खोज्ने शक्ति चाहिँ कमजोर भएको छ।

यस्तो कार्यलाई रोक्न राजनीतिक दलबीच सहकार्य किन हुँदैन?

एउटा कुरा के छ भने वस्तुगत अवस्था एक अर्कोसँग मिल्दैन। तर सँगै अर्को कुरा दलहरूबीचको सीमारेखा हराउँदै गएको छ। नेपाल उद्यम नगरी नाफा कमाउने पुँजीपति भएको मुलुक बन्दै गएको छ। यसमार्फत् कमाएको सम्पत्ति राजनीति दल र नेतासम्म पुग्न थालेको छ।

हो, यही शक्तिको गठजोडले सीमा, विचार भत्काएको छ। यो शक्ति राज्यका सबै अंगमा पसेको छ। यसबाट बाहिर ननिस्कँदासम्म त्यो सम्भव देख्दिनँ। यसको लागि नयाँ मोर्चा बनाएर अगाडि बढ्नुको विकल्प म देख्दिनँ। किनकी म १८ वर्ष अघिदेखि यो निश्कर्षमा पुगेको हुँ। यसमा लागि नै राखेको छु। म असफल हुनसक्छु तर मोर्चा बनाएर हिड्ने कुरा असफल हुन दिन्न।

असफल हुँदा औचित्य बढेर जान्छ। दमन बढ्दै जाँदा आन्दोलन फितलो देखिन सक्छ तर मनोवल र औचित्य झनै बढेको हुन्छ। स‌ंसदीय अभ्यासमा रहेको दल नेपाली कांग्रेसले समेत विश्वासको मत दिएर अभ्यासलाई थिलो थिलो पारेको अवस्थामा अब बुझेका व्यक्तिहरू सबै दलबाट लाग्‍न आवश्यक छ। अन्यथा हाम्रा सन्ततिले हामीलाई धिक्कार्ने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast