यी हुन् लुम्बिनीका मुख्यमन्त्री बनेका लीला गिरी

हिमाल प्रेस २७ पुष २०७९ १५:३२
20
SHARES
यी हुन् लुम्बिनीका मुख्यमन्त्री बनेका लीला गिरी मुख्यमन्त्री लीला गिरी

बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा गिरीलाई नियुक्त गरेका हुन्। प्रदेश प्रमुख शेरचनले समय दिएको अन्तिम दिन आज बुधबार गिरीको दाबी पेस भएको थियो। रुपन्देही २ (क)बाट निर्वाचित गिरीले एमाले-माओवादीसहितको गठबन्धनका तर्फबाट प्रदेश प्रमुख शेरचनसमक्ष ५८ जनाको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेस गरेका थिए।

नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्तिका सांसद र दुई स्वतन्त्र सांसदसहित ५८ जनाको हस्ताक्षरमा सरकार गठनको लागि दाबी पेस गरिएको एमाले केन्द्रीय सदस्य भूमीश्वर ढकालले जानकारी दिए।

यसअघि मंगलबार नै दाबी पेस गर्ने भनिए पनि माओवादीले आलोपालो खोजेपछि रोकिएको थियो। सरकारको नेतृत्व आलोपालो गर्ने सहमतिपछि दाबी पेस गरिएको माओवादी नेताहरूले बताएका छन्।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा, लोसपा र जनमतका तीन/तीन सांसद छन्। नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुई जना सांसद छन्। ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ। प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक सदस्य छन्।

यस्तो छ गिरीको राजनीतिक विगत

२०११ चैत १४ गते गुल्मीको रुरु-५, बम्घामा जन्मिएका गिरी हाल तिलोत्तमा-१ शंकरनगरमा बसोबास गर्दै आएका छन्।

बीएसम्म अध्ययन गरेका गिरी २०३१ सालदेखि कम्युनिस्ट आन्दोलनमा सहभागी हुन्। २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको मजदुर आन्दोलनमा सक्रिय भएका गिरी २०३८ सालमा अखिल नेपाल किसान संगठनको अध्यक्ष भएका थिए। यस्तै उनी केही समय शिक्षक आन्दोलनमा लागेका थिए भने क्रान्तिकारी बुद्धिजीवी संघमा आबद्ध भएर काम गरेको अनुभव पनि उनको छ।

२०४६ सालमा नेकपा मालेको सक्रिय सदस्य बनेर उनको पार्टी राजनीति सुरु भएको हो। २०४७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य बनेका उनी त्यसपछि निरन्तर क्रियाशील छन्। २०५६ सालमा नेकपा एमाले रुपन्देहीको उपसचिव भएका उनी २०५८ सालमा एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव भएका थिए।

उनीसँग २०६१-०६६ र ०६६-०६९ सम्म एमाले जिल्ला सचिव र अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ। २०६१ मा शाही कुविरुद्धको आन्दोलनको नेतृत्व गरेका गिरी केही समय जेल परेका थिए। उनलाई एमालेले २०६२-६३ मा जनआन्दोलनको जिल्ला कमान्डर तोकेको थियो।

२०६९ सालमा एमालेको लुम्बिनी अञ्चल संगठन विभाग प्रमुख भएका उनी २०७१ सालमा नेकपा एमालेको नवौँ महाधिवेशन केन्द्रीय कमिटी सदस्यमा चयन भएका थिए। गिरी २०७७ मा नेकपा केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष थिए।

२०७८ मंसिरमा एमाले दसौँ महाधिवेशनदेखि पोलिटब्युरो सदस्य  र २०७९ पुसमा एमाले लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा निर्वाचित भएका थिए।

गिरी २०४९ मा शंकरनगर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। यस्तै २०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भए।

२०७४ चैत ५ गतेदेखि ०७८ वैशाख ६ गतेसम्म प्रदेशको मन्त्री बनेका उनी २०७९ मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित: २७ पुष २०७९ १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 19 =