तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता

हिमाल प्रेस २७ पुष २०७९ ८:३२
2
SHARE
तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता

तनहुँ- तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उक्त अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन्।

घरेलु हिंसाका दुई सय १७ वटा घटनाको उजुरी दर्ता भएको प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए। त्यस्तै आत्महत्याका ९८, भवितव्य ज्यानका ७९ र अन्य सार्वजनिक अपराधका ४७ वटा घटनाको उजुरी दर्ता भएको प्रहरी निरीक्षक विष्टले बताए।

उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा तनहुँमा चार सय १७ र आव २०७८/७८ मा तीन सय ९७ वटा अपराधका घटनामा उजुरी दर्ता भएको थियो।

महिला तथा बालबालिकाविरुद्ध हुने अपराधका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना रहेका छन्। त्यसबाहेक जबर्जस्ती करणी, जबर्जस्ती करणी प्रयास, बहुविवाह, बालविवाह, मानव बेचबिखन र बोक्सीको आरोपका घटना रहेको प्रहरीले जनाएको छ।

पछिल्लो समयमा चिनजानका व्यक्तिबाट महिला तथा बालबालिकाविरुद्धका अपराध भएका छन्। परिवारका सदस्य, आफन्त, शिक्षक, नातेदार तथा छिमेकी नै महिला तथा बालबालिकाविरुद्धको अपराधका घटनामा संलग्न भएको प्रहरीको तथ्यांक छ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल अपराध नियन्त्रणका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउँछन्। आपराधिक घटना तथा क्रियाकलापलाई न्यूनीकरण गरी समाजलाई शान्ति र सुव्यवस्थामा लैजान प्रहरी तथा स्थानीय प्रशासनलाई सबैले सहयोग गर्नुपर्ने उनले बताए।

प्रकाशित: २७ पुष २०७९ ८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =