प्रधानमन्त्रीको घोषणा : विधेयक ल्याएर रेशम चौधरीलाई रिहा गरिन्छ

हिमाल प्रेस २६ पुष २०७९ १६:३६
38
SHARES
प्रधानमन्त्रीको घोषणा : विधेयक ल्याएर रेशम चौधरीलाई रिहा गरिन्छ

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहाइ गरिने घोषणा गरेका छन्। संसद्‌मा विश्वासको मत मागेपछि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो घोषणा गरेका हुन्।

‘रेशम चौधरीको बारेमा गम्भीर कुरा उठेको छ। मैले पहिले पनि रेशम चौधरी त्यो घटनामा संलग्नता हुनुहुन्न भनेको थिएँ। सार्वजनिक समारोहमा चौधरीलाई अन्याय भएको छ भनेको थिएँ,’ उनले भने, ‘उहाँलगायत तराई मधेशका विषयमा नेपाल सरकारले गरेको समझदारी कार्यान्वयन हुनेछ। अध्यादेश ल्याएर पनि छुटाउने प्रयास भएको थियो। अब सही विधेयक ल्याएर उहाँलगायतलाई छुटाउने वातावरण बनाइन्छ। यसको निम्ति छिटोछिटोभन्दा टुंग्याइन्छ। चौधरीको विषय अलिकति जटिल पनि छ। अदालतमा मुद्दा भएकोले उपयुक्त तबरले अघि बढिन्छ।’

२०७२ भदौ ७ गतेको टिकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालक मारिएका थिए। यसमा चौधरी संलग्नता रहेको आरोपमा उनी जेलमा छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलबीच पनि केही विषयमा मतभेद रहेको बताएका छन्।  सत्ता गठबन्धनको ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि आफैँले गरेको संसद् विघटनलाई सही भनेर पटक पटक भनेपछि सांसदहरूले प्रश्न उठाएका थिए। केही सांसदले त संसद् विघटनलाई यो गठबन्धनले सही मानेको छ? भन्दै प्रश्न पनि गरेका थिए।

यसको जवाफ दिँदै प्रचण्डले संविधान कार्यान्वयन नै मुख्य प्रतिबद्धता भएको बताए।

‘कयौँ कुरा सत्तासाझेदार सँग कयौँ विषय मतभेद हिजो पनि थिए आज पनि छ। बाहिर भएका दलसँग कयौँमा सहमति पनि छ,’ उनले भने, ‘संविधान राज्यको मूल कानुन हो। निकै अप्ठ्यारो अवस्थामा बनाइएको संविधान कार्यान्वयनप्रति हाम्रो प्रतिबद्धता कायम छ। संविधान कार्यान्वयन, शान्ति प्रक्रिया टुंगोमा पुर्‍याइन्छ। हिजो संसद् विघटन सही थियो थिएन आजको गठबन्धनको विषय होइन्। विगतका विघटनका अनुभव र समीक्षा हामीले गरेकै हौँ। २०७२ को संविधान संसोधन नहुँदासम्म त्यसैको आधारमा अघि बढ्न प्रतिबद्ध छु। दायाँ बायाँ गर्ने छुट छैन। संविधानको कार्यान्वयन गर्न अन्तिम समयसम्म प्रयास गरिरहनेछु।’

उनले आफूले सोचेभन्दा धेरै विश्वासको मत प्राप्त भएकोले त्यसले गम्भीर बनाएको पनि बताए।

‘सदनमा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र सांसदसम्म जुन विचार भावना व्यक्त भए त्यसले मलाई निकै नै गम्भीर बनाएको छ। मैले प्रमुख प्रतिपक्षको तर्फबाट पनि विश्वासको मत पाउने, स्वतन्त्रहरूको पनि पाउने, सिंगै हाउस एक ठाउँमा,’ उनले भने,’हिजो पत्रकाहरूले घेरेपछि सिंगै हाउस विश्वासको मतको पक्षमा हुन्छ भनेको थिएँ। मैले यो जानकारी भएर भनेको त थिइनँ विचार र भावना भनेको थिएँ। असाधारण समर्थन जे देखियो यसबाट गौरवान्वित र निकैनै धेरै चुनौती थपिएको के हुने होला कसरी जाने होला भन्ने कुराले पनि मलाई निकै नै तरंगित बनाइरहेको छ।’

जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक बाँकी सबैको समर्थन आफूले नसोचेको उनले बताए। ‘प्रतिबद्धता कार्यान्वयनमा निकै ठूलो अवसर पाएको छु। जिम्मेवारी बहन गर्दा नयाँ इतिहास बन्ने नै छ। न्यायोचित तबरले अघि बढाउन सकिएन भने त्यो निकै अप्ठ्यारो हुन सक्छ’ उनले भने।

प्रकाशित: २६ पुष २०७९ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + thirteen =