ओलीमाथि माधव नेपालको कटाक्ष : संसद्‌ विघटन गर्न पाइन्छ भनेर गर्जिएको छ, अझै आत्मआलोचना छैन?

हिमाल प्रेस २६ पुष २०७९ १५:१६
64
SHARES
ओलीमाथि माधव नेपालको कटाक्ष : संसद्‌ विघटन गर्न पाइन्छ भनेर गर्जिएको छ, अझै आत्मआलोचना छैन?

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्षसमेत रहेका माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक संसद् विघटन गर्नु जायज भएको बताएपछि आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले विश्वासको मत मागिसकेपछि संसद्‌लाई सम्बोधन गर्दै नेपालले संसद् विघटनको विषयमा आत्मआलोचना नगरी गर्जिरहेको भन्दै आफू अचम्ममा परेको बताएका हुन्।

‘संसद् विघटन पाइने विषयमा बोलिएको छ। आत्मआलोचना गरेको होला भनेको त यहाँ गर्जेको देखेर म अचम्ममा परेँ। म हिजो नै बोल्नेमा थिएँ पहिलो दिनमा के भनौँ भनेर बोलिनँ,’ उनले भने, ‘प्रधानमन्त्रीलाई आफूखुसी संसद् विघटन गर्ने अधिकार संविधानले दिएको छैन। यहाँ स्वर ठूलो गर्ने?’

प्रमुख प्रतिपक्षी दलले नै समर्थन गरिसकेपछि प्रधानमन्त्री आत्तिनुपर्ने अवस्थामा नरहेको तर ध्यान दिनुपर्ने धेरै रहेको नेपालको भनाइ छ। ‘प्रमुख प्रतिपक्षले नै समर्थन गरेको छ आत्तिनुपर्दैन। तर ख्याल गर्नुपर्ने कुरा छ संसद् विघटन गर्नुपर्ने यो गठबन्धन दलको नीति हो? यो ब्रिटेन हो भारत हो गिरिजाको पालाको २०५१ को सरकार हो? २०५८ को शेरबहादुर देउवाको पालाको सरकार हो?’ उनले प्रश्न गरे।

उनले विकल्प हुँदासम्म प्रतिनिधिसभा विघटन लहडमा गर्न नपाइने पनि बताए। उनले विश्वका इतिहास नपढाउन पनि ओलीलाई चेतावनी दिए। ‘संसार हामीले पनि पढेका छौँ। कहिले जापानको कहिले कहाँको कुरा गरेर हुँदैन’ उनले भने।

नेपालले प्रधानमन्त्रीले विश्वासको मत माग्दा गरेका प्रतिबद्धताहरू मननीय रहेको पनि बताए। उनले देश बनाउने सपना र उद्देश्य भएकाहरूले नै समाधान दिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन पनि उनले सुझाव दिए।

‘समाधान गर्दा तत्कालीन, मध्यकालीन र दीर्घकालीन रुपमा चाल्नुपर्ने कदमहरू हुन्छन्। कहिलेकाहीँ हामी हावामा गर्छौँ। हाम्रो साधान स्रोतमा ध्यान दिँदैनौँ। प्राथमिकतामा जाँदैनौँ बजेट कनिका छरेजस्तै छर्छौँ,’ उनले भने, ‘खोज अनुसन्धान गरेर कुन योजनाले प्राथमिकता पाउनुपर्छ भनेर हेर्नुपर्छ। यसो नगरी जम्मैलाई राष्ट्रिय महत्वको गौरवको भनेर राख्न थाल्यौँ भने हामी हाम्रो मिसनमा सफल हुन सक्दैनौँ। मैले यसबारे सरकारको ध्यानाकर्षण गराएँ।’

भ्रष्टाचारको कुरा धेरै भएको भन्दै उनले गफ होइन काम गरौँ भनेर सुझाव पनि दिए।  ‘कुरा भ्रष्टाचारको धेरै आएको छ। विकासको समस्याको पछाडि गैर जिम्मेवार प्रवृत्तिसँगै भ्रष्टाचारको भूमिका छ,’ उनले भने, ‘मनमोहन अधिकारी भन्नुहुन्थ्यो कुराले चिउरा भिज्दैनँ। हामी कुरामा कम छैनौँ। गफाडीका राजा पनि हामीलाई भन्न सकिन्छ। म यसमा प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु। गफ ठूलो, प्रतिबद्धता कम भएको छ। राजनीति नै भ्रष्टाचारको संरक्षक भएको छ। जो सुकै होस् दण्डित गर्न सक्यौँ भने धेरै कुरा गर्न सक्छौँ।’

प्रकाशित: २६ पुष २०७९ १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 9 =