सिरहामा विद्यार्थीको मृत्यु, शिक्षिकाले स्प्रिट खुवाएको आरोप

हिमाल प्रेस २४ पुष २०७९ १३:५३
8
SHARES
सिरहामा विद्यार्थीको मृत्यु, शिक्षिकाले स्प्रिट खुवाएको आरोप

जनकपुरधाम- सिरहाको एक विद्यालयमा शिक्षिकाले एक छात्रालाई स्प्रिट खुवाइदिएपछि मृत्यु भएको परिवारजनले आरोप लगाएका छन्।

मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा माध्यमिक विद्यालयमा अध्ययनरत सिरहा नगरपालिका–११, भलुवाहीकी १५ वर्षीया सिर्जनाकुमारी महराको मृत्यु स्प्रिट खुवाएपछि परिवारजनले आरोप लगाएका हुन्।

कक्षा ८ मा अध्ययनरत सिर्जनालाई शुक्रबार बिहान विद्यालय गएका बेला पेट दुख्न थालेपछि उनले ऊक्त कुरा शिक्षिका अम्बिका लम्साललाई सुनाएकी थिइन्। लम्सालले उनलाई औषधिसँगै पानीको सट्टा स्प्रिट खुवाएको बताइएको छ।
शिक्षिका लम्सालले पेट दुखाइ निको हुने औषधि भनेर ती छात्रालाई एउटा ट्याब्लेटसँगै कोल्ड ड्रिंकको बोतलमा राखिएको स्प्रिट खुवाएको परिवारले बताएका छन्।

ती शिक्षिकाले पानी सम्झेर स्प्रिट खुवाइएको बताइएको छ। स्प्रिट खाएपछि सिर्जनाको शरीरमा तत्कालै प्रतिक्रिया सुरु भएको थियो। उनी हिँड्न नसक्ने अवस्थामा पुगेपछि घर पुर्‍याइएको थियो।

अवस्था नाजुक हुन थालेपछि उनलाई कर्जन्हास्थित फूलकुमारी मेमोरियल हस्पिटलमा भर्ना गरिएको थियो। अस्पताल लैजाँदा उनको फोक्सो सेतो भएको र आँखाको नानीसमेत स्थिर भइसकेको उपचारमा संलग्न चिकित्सक डा. श्याम साहले बताए।

स्प्रिटले यस्तो हुन नसक्ने र सिर्जनाको शरीरमा विषजन्य पदार्थ गए पनि थप र यथार्थ जानकारी पोष्टमार्टमको रिपोर्टपछि मात्रै थाहा हुने उनले बताए।

यता परिवारजनले शिक्षिका लम्सालले नै स्प्रिट र गलत औषधि खुवाएर सिर्जनाको हत्या गरेको आरोप लगाएका छन्। घटनामा विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै आइतबार सो विद्यालयका विद्यार्थी र मृतकका आफन्तले आन्दोलन सुरु गरेका छन्। उनीहरूले बिहान साढे १० बजेदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्।

लापरबाही गर्ने विद्यालय प्रशासन र शिक्षिकालाई कारबाही गर्नुपर्ने, मृतक छात्राकी परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आन्दोलित विद्यार्थीहरूको माग छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले शिक्षिकाले छात्रालाई पानीको सट्टा स्प्रिट खुवाएपछि मृत्यु भएको खबर प्राप्त भएको र सो विषयमा अनुसन्धान गरिरहेको बताएका छन्।

प्रकाशित: २४ पुष २०७९ १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =