मुगुका ४ वटा पालिकामा छैनन् प्रमुख प्रशासकीय अधिकृत

एक अधिकृतले दुईतिर काम गर्नुपर्ने बाध्यता

हिमाल प्रेस २३ पुष २०७९ १८:५५
6
SHARES
मुगुका ४ वटा पालिकामा छैनन् प्रमुख प्रशासकीय अधिकृत

सुर्खेत– कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण सेवा प्रवाह प्रभावित भएको छ। समयमा कर्मचारीको व्यवस्थापन नहुँदा स्थानीय तहमा कर्मचारी अभाव भएको हो।

प्रदेशका कतिपय स्थानीय तहमा कर्मचारी अभाव हुँदा एकजना कर्मचारीले २ वटा पालिकाको जिम्मेवारी लिनुपर्ने अवस्था सिर्जना भएको छ। दैलेखको भैरवी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले अहिले २ वटा पालिकाको काम गर्दै आएका छन्।

कर्मचारी पठाउन आग्रह गरेको र अहिलेसम्म कर्मचारी नपठाएको भैरवी गाउँपालिका सूचना अधिकारी केन्द्रबहादुर शाहीले बताए। ‘हामीले कर्मचारी अपुग भनेर भनेका छौं, प्रशासकीय अधिकृतले २ वटा पालिकाको जिम्मेवारी लिनुभएको छ,’ उनले भने।

प्रदेशका अन्य स्थानीय तहमा पनि दरबन्दीअनुसारका कर्मचारी छैनन्। ४ वटा पालिका रहेको मुगुमा ४ वटै पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन्। सरकारले दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्न नसक्दा तल्लो तहका कर्मचारीलाई निमित्तमा राख्नुपर्ने बाध्यता छ।

जिल्ला समन्वय समिति कार्यालय मुगुका प्रमुख मन्जनबहादुर कार्कीले जिल्लाका ४ वटै पालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएकाले निमित्तको भरमा चलिरहेको बताए।

६ वटा स्थानीय तह रहेको रुकुमपश्चिममा पनि ३ वटा नगरपालिकामा अधिकृत तहका कर्मचारी नहुँदा निमित्तकै भरमा सञ्चानल भइरहेका छन्। प्रदेशमा कतिपय मन्त्रालयका कार्यालयले पनि यस्तै समस्या भोग्दै आएका छन्।

कर्णालीका दुर्गम क्षेत्रमा कर्मचारी जान नमान्ने प्रवृत्तिले पनि कतिपय स्थानीय तहमा कर्मचारीको अभाव खड्किएको हो। विकट जिल्लाका स्थानीय तहमा अझै पनि कर्मचारी नरहेको जनप्रतिनिधि बताउँछन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका उपसचिव रवीन्द्रजंग थापाले अझै पनि कर्णालीका धेरै पालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको भन्दै यसका लागि कार्यविधि बनाएर अघि बढ्ने तयारी भइरहेको बताए।

प्रकाशित: २३ पुष २०७९ १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =