पूर्णखोप पालिका घोषणा गर्ने विराटनगर महानगरको तयारी

हिमाल प्रेस २२ पुष २०७९ २०:०८
4
SHARES
पूर्णखोप पालिका घोषणा गर्ने विराटनगर महानगरको तयारी

इटहरी– विराटनगर महानगरपालिकाले पूर्णखोप पालिका घोषणाका लागि पूर्वतयारी सुरु गरेको छ। महानगरको स्वास्थ्य महाशाखाले महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शुक्रबार सरोकारवालासित पूर्णखोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ।

विराटनगरलाई पूर्णखोप घोषणा गर्ने तयारीका विषयमा महाशाखा प्रमुख हैदर अलीले जानकारी गराए। महानगरपालिकाभित्र रहेका १६ देखि २३ महिनासम्मका बालबालिकालाई पूर्णखोप लिएको नलिएको यकिन कार्य भइरहेको उनको भनाइ छ।

महाशाखा प्रमुख अलीले नलिएका बालबालिकालाई खोजी गरेर खोप दिई सबै बालबालिकालाई खोप दिने कार्यक्रम रहेको जानकारी दिए।

महानगरका खोप अधिकृत अमरदीप देवले खोपको अवस्थाका विषयमा प्रस्तुतिकरण गर्दै १० प्रतिशत बालबालिकाले पूर्णखोप लगाउन बाँकी रहेको सुनाए। ७ पटकमा १३ वटा रोगविरुद्धको खोप लगाएपछि मात्रै पूर्णखोप लगाएको मानिने उनको भनाइ छ।

महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले गाउँ, टोल र बस्तीमै पुगेर खोप लगाएका र नलगाएका बालबालिकाको पहिचान गर्नुपर्नेमा जोड दिए। प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइरालाले पूर्णखोपले बालबालिकाको बिरामी दर र मृत्युदर कमी ल्याई महानगरको सूचकको अंकमा वृद्धि हुने बताए।

प्रकाशित: २२ पुष २०७९ २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =