पूर्वाधारमा निगरानी : ४

मदन भण्डारी राजमार्ग : चुरेमै बस्ती विकासको जोखिम

मस्त केसी २२ पुष २०७९ १६:१६
मदन भण्डारी राजमार्ग : चुरेमै बस्ती विकासको जोखिम मदन भण्डारी राजमार्गको भीमान–बसाहा खण्ड आसपास खेतीयोग्य जमिनमा बिस्तार भइरहेको बस्ती।

काठमाडौँ– मदन भण्डारी राजमार्ग पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न सुरु भएको आयोजना कार्यालयको दाबी छ। यही दाबी आधार मान्दा र बसाइँसराइको नेपालको प्रवृत्ति हेर्दा एकाध वर्षमा चुरे आसपास नयाँ बस्ती बन्ने निश्चित छ।

यसबाट चुरेको विनाशसँगै तराईमा विपत्ति ल्याउने बताउँछन् भूगोलका प्राध्यापक ध्रुवकुमार भट्टराई। उनी भन्छन्, ‘चुरे क्षेत्रमा बस्ती बढेपछि बिस्तारै जंगल अतिक्रमण बढ्नेछ। यसबाट तराईमा विपत्ति ल्याउन सक्नेछ।’ इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले सन् २०१९ मा गरेको ‘माइग्रेसन इन नेपाल’ अध्ययनअनुसार मानिस भविष्यको दिगो सुनिश्चितताका लागि बसाइ सर्छ।

‘मानिस सधैँ शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, सडक, रोजगारीलगायत सुविधाको खोजीमा हुन्छ,’ अध्ययनमा उल्लेख छ, ‘यी आवश्यकताको सम्बोधन जहाँ हुने देखिन्छ, ऊ त्यतै लाग्छ।’ अध्ययनअनुसार विकासशील मुलुकको बसाइँसराइ दर तीव्र छ। नयाँ ठाउँमा आर्थिक रूपमा सुरक्षित हुने र सुरक्षित जीवनयापन देखेर मानिसले आफ्नो थातथलो छोड्छ।

सुविधा र सहजताका लागि पुर्ख्यौली थलो छाड्ने र नयाँ बस्ती बसाउने क्रम अस्वाभाविक होइन। सुविधाकै लागि ग्रामीण भेगबाट सहर र भर्खरै बन्दै गरेका ससाना बजारमा मानिस सर्छ। नेपालका सन्दर्भमा बसाइँसराइ र नयाँ बस्ती बस्ने क्रम मुख्यतयाः सडक सञ्जालसँग जोडिएको छ।

अर्थशास्त्री डा. पीताम्बर शर्मा अर्थतन्त्र एकीकृत भएकाले बसाइँसराइ तीव्र भएको बताउँछन्। ‘स्रोतसाधन सीमित ठाउँमा थुप्रिएकाले जनसंख्या पनि एउटै क्षेत्रतिर थुप्रिँदै गएको छ,’ उनी भन्छन्, ‘यसलाई रोक्ने उपाय स्रोतको समान बाँडफाँट र सेवासुविधाको पहुँच विस्तार नै हो।’

प्राध्यापक भट्टराईका अनुसार सडक बन्दै गर्दा बस्ती बस्न थाल्छ। ‘डोजरले बाटो खन्दै गर्दा एकाध चिया र खुद्रा पसल खुलिसक्छन्,’ उनी भन्छन्, ‘बिस्तारै त्यही ठाउँ बस्तीका रूपमा विकास हुने हाम्रो प्रवृत्ति भइसकेको छ।’ यस्तो प्रवृत्ति मदन भण्डारी राजमार्गमा पनि देखिन थालेको उनी बताउँछन्।

उनका अनुसार आममानिसले भूसंवेदनशील क्षेत्रको वास्ता गर्दैनन्। जहाँ थोरै सम्भावना देख्छन् उतै सर्छन्। नेपालमा बस्ती, सडक र यातायातको गुणस्तरियताको अनुगमन र मर्मतसम्भारको स्थापित पद्धति छैन।

यसै त नेपालमा सडक निर्माण गर्नुअघि सडकको किसिम र प्राथमिकता तय गर्ने गरिँदैन। सडक क्षेत्रको उत्पादन, सम्भावना, जनघनत्व, जनस्तरमा तुलनात्मक लाभ, बजारमा पहुँच, लागत उठ्ने सम्भावनालगायत केही हेक्का नगरी डोजर चलाउने परम्परा बसेको छ। नेपालको आधाभन्दा बढी जनसंख्या दक्षिणको २० प्रतिशतभन्दा कम भूभागमा बस्छ।

अर्थशास्त्री डा. पीताम्बर शर्मा अर्थतन्त्र एकीकृत भएकाले बसाइँसराइ तीव्र भएको बताउँछन्। ‘स्रोतसाधन सीमित ठाउँमा थुप्रिएकाले जनसंख्या पनि एउटै क्षेत्रतिर थुप्रिँदै गएको छ,’ उनी भन्छन्, ‘यसलाई रोक्ने उपाय स्रोतको समान बाँडफाँट र सेवासुविधाको पहुँच विस्तार नै हो।’

अर्कातिर तराईतिर भइरहेको बसाइँसराइले गर्दा पहाडमा श्रम सक्षम जनसंख्याको अनुपात धेरै घटेको छ। यसको प्रभाव कृषिदेखि लिएर स्रोतसाधनको परिचालन आदिमा देखिँदै गएकाे छ।

ग्रामीण भेगबाट सहरतिरको बसाइँसराइ तीव्र हुँदै जाँदा सहरको उत्पादन र अवसरहरूको सिर्जना गर्ने र लगानी आकर्षण गर्ने सामथ्र्यमा खास कुनै रुपान्तरण हुन सकेको छैन। सहरी पूर्वाधार कमजोर र स्तरहीन छन्। आवासको संकट बढ्दाे छ।

अनियन्त्रित सहरी बिस्तार अपवादको साटो नियम नै बन्न पुगेको छ। इन्हुरेड इन्टरनेसनलको ‘संरक्षण’ जर्नलमा प्रकाशित लेखअनुसार सुरक्षित, सुसूचित, योजनाबद्ध, मानवीय तथा नियमित बसाइँसराइले व्यक्ति, परिवार, समाज र मुलुकलाई फाइदा पुर्‍याउँछ तर अव्यवस्थित, असुरक्षित, योजनाविहीन, अमानवीय तथा अनियमित बसाइँसराइ हानिकारक हुन्छ। लेखमा भनिएको छ ‘बाटोसँग जोडिएको तयारीविनाको बसाइँसराइ व्यवस्थित हुन सकेन भने असुरक्षित बन्ने जोखिम बढी हुन्छ।’

पूर्वाधारमा निगरानी : ३

मदन भण्डारी राजमार्ग : चुरे चिर्ने बाटो

पूर्वाधारमा निगरानी : १

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast