पूर्वाधारमा निगरानी : २

मदन भण्डारी राजमार्ग : चुरे चिर्ने बाटो

मस्त केसी ४ पुष २०७९ ११:२९
288
SHARES
मदन भण्डारी राजमार्ग : चुरे चिर्ने बाटो चुरेलाई चिरेर अगाडि बढेको मदन भण्डारी राजमार्गअन्तर्गत धरान-चतरा-गाईघाट खण्ड। फाइल तस्बिर

काठमाडौँ- हिमालय पर्वत शृंखलाको दक्षिणी भागमा रहेको सबैभन्दा कान्छो पहाड हो चुरे। चुरे क्षेत्र खुला समथर क्षेत्रबाट आएको आँधी, तुफान, वर्षा सबै प्रत्यक्ष ठोकिने भूभागमा पर्छ। यो पश्चिममा पाकिस्तानको इन्दुस नदी र पूर्वमा भारतको ब्रहमपुत्र नदीसम्म फैलिएको छ।

नेपालमा चुरेले कुल क्षेत्रफलको १२.७८ प्रतिशत ओगटेको छ। हिमालय पर्वतमालाको तल्लो फेदी चुरे पर्वत शृंखला ३६ जिल्लामा फैलिएको छ। हिमालय उत्पत्तिका क्रममा करिब चार करोड वर्ष पहिला गेग्य्रान फुस्रो माटो, पत्रे चट्टान आदिबाट चुरे बनेको जानकारहरू बताउँछन्।

पहाड र तराईको बीचको क्षेत्र नै चुरे पहाड हो। चुरेको तल्लो भाग झन् ‘योङ माउन्टेन सिस्टम’ हो। विज्ञहरू यसलाई ‘फ्रेजाइल माउन्टेन’ पनि भन्छन्।

चुरे खस्रो बलोटे माटो र गेग्य्रान ढुंगाबाट बनेको हुनाले सजिलै भूक्षय र पहिरोको सिकार बन्छ। बनावटकै कारणले यो संवेदनशील छ। त्यसैलाई केन्द्रमा पारेर मदन भण्डारी राजमार्ग निर्माणाधीन छ।

चुरेका अनुसन्धानदाता डा. विजयकुमार सिंह भूबनोट र वातावरणका हिसाबले चुरे निकै संवेदनशील क्षेत्र भएको बताउँछन्। ‘मकवानपुर पूर्वको बनोट सबैभन्दा बढी संवेदनशील छ,’ उनी भन्छन्, ‘यस्तो संवेदनशील ठाउँमा सडक बनाउँदा प्राकृतिक प्रकोपको जाखिम बढ्छ।’ चुरेमा बन्ने सडक बाढीपहिरो, भूक्षय र तराईलाई मरुभूमि बनाउने कारण बन्ने सिंहको बुझाइ छ।

डा. राजनकुमार दाहालको अध्ययन ‘जिओलोजी अफ नेपाल’ २००६ अनुसार चुरेको बनोट पूर्वदेखि पश्चिमसम्म तीन प्रकारका छन्। गेग्य्रान ढुंगा र बलौटे माटोले तल्लो चुरे बनेको छ।

मध्य चुरे क्षेत्रमा ‘मडस्टोन’ र ‘स्यान्डस्टोन’ को भूबनोट छ। यस क्षेत्रमा पाइने स्यान्डस्टोन (बलौटे ढुंगा) एकदेखि ४५ मिटर मोटो हुन्छ। मध्य चुरेको प्रकृति बुटवलमाथिको पहाड, सुर्खेत, कपिलवस्तुको सुरई खोला र हेटौँडा आसपास देख्न सकिन्छ। माथिल्लो चुरे क्षेत्रमा ससाना ढुंगा र बलौटे रातो माटोको बनोट छ। यो क्षेत्र बर्दिबास, चितवन र भालुबाङमा पर्छ।

यो सबै क्षेत्र कच्चा माटोले बनेको भूगर्भशास्त्री डा. सुमन पन्थी बताउँछन्। ‘कान्छो पहाड भएका कारण यहाँको माटो बलियो छैन,’ उनी भन्छन्, ‘गेग्य्रान र बलौटे माटोले यसलाई थप संवेदनशील बनाएको छ।’ सडक आवश्यक भए पनि भूसंरचनाका आधारमा चुरे क्षेत्र सडकमार्गका लागि उपयुक्त नभएको उनको तर्क छ।

खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट उत्पन्न हुने नदीहरू यहीँबाट बग्ने हुँदा नेपालको चुरे क्षेत्र भूकम्प तथा अन्य प्राकृतिक विपत‍्का दृष्टिबाट संवेदनशील मानिन्छ। त्यसैमा थपिएको सडकमार्गले चुरेलाई ध्वस्त पार्ने चिन्ता विज्ञहरूको छ। अनुसन्धाता सिंह चुरेको प्राकृतिक दोहोनले प्राकृतिक विपद्का साथै कालान्तरमा तराई मरुभूमि बन्ने खतरा औँल्याउँछन्।

सुक्दैछ तराईमा पानी

इलामदेखि कञ्चनपुरसम्म फैलिएको चुरेमा निकै महत्त्वपूर्ण जंगल र वनस्पति पाइन्छन्। यस क्षेत्रमा १३ प्रकारको पर्यावरणीय चक्र छ। ११ सयभन्दा बढी वनस्पति त फूल फुल्ने मात्रै छन्। तर पनि चुरेमाथिको दोहन रोकिएको छैन। रूखकटान, गिट्टी बालुवा चोरी तस्करी संगठित रूपमै भइरहेको छ। यसलाई रोक्नुको साटो सरकार उल्टै त्यही क्षेत्रमा राजमार्ग बनाउँदै छ।

पत्रकार चन्द्रकिशोर झा चुरे वातावरणीय र भौगोलिक दुवै हिसाबले तराई सभ्यताको धरोहर भएको बताउँछन्। ‘पानीको स्रोतमा मात्रै नभएर तराईको जनजीवनसमेत चुरेमै निर्भर भएर चलिरहेको छ,’ उनी भन्छन्, ‘यसले तराईमा भूमिगत जलस्रोतको निरन्तरतालाई संरक्षण गरेको छ।’

जलाधारविद् मधुकर उपाध्याय चुरेको निरन्तर दोहोनले अतिवृष्टि, अनावृष्टिका साथै तराईमा बाढीको जोखिम बढाएको बताउँछन्। ‘चुरे दोहोनले उत्तर–दक्षिण बग्ने अधिकांश खोलाको धार परिवर्तन गराइरहेको छ,’ उनी भन्छन्, ‘यसले सानो वर्षाले पनि तराई जलमग्न हुने गरेको छ।’

अनुसन्धानदाता सिंह पनि चुरे पहाड समग्र तराई क्षेत्रको मुहानको खानी भएको बताउँछन्। उनी भन्छन्, ‘यो वा त्यो नाममा विनाश गर्दै जाने हो भने भोलि पानीको हाहाकार मच्चिन्छ, तराई उजाडिन्छ।’ मदन भण्डारी राजमार्गले पार्ने असर १०–१५ वर्षमै तराईमा देखिन सुरु हुने सिंहको बुझाइ छ।

पत्रकार झा चुरे जोगिँदा समृद्ध सभ्यता भएको तराई पनि जोगिने बताउँछन्। उनी भन्छन्, ‘चुरे तराई सभ्यता उदयको साक्षी हो। विकास निर्माणका संवेदनशील नहुने हो भने चुरे त सकिन्छ–सकिन्छ, तराई क्षेत्रको जनजीवन नासिने घण्टी पनि बज्छ।’

चुरे जोगाउन केन्द्रीय मात्रै होइन स्थानीय र प्रदेश सरकार पनि संवेदनशील छैनन्। मुलुक संघीयतामा गएसँगै डोजर आतंक झन् बढेको छ। चुरे र वरिपरिका प्राकृतिक क्षेत्रमा बढेको दोहन प्रदेश र स्थानीय सरकारको आर्यआर्जनको माध्यम बनेको छ।

यसै पनि तराई क्षेत्रमा बिस्तारै भूमिगत जलाधार घट्दै गएका छन्। कतिपय स्थानमा सय फिटमुनि गाडिएका चापाकलबाट पानी आउन छोडेको छ। केही वर्षअघिसम्म बाह्रै महिना पानी आउने चापाकल फागुनदेखि सुक्न थालेका छन्।

पाँच वर्षअघिसम्म ट्युबेल जडान गर्दा ४० फिट गहिराइमा भेटिने पानीको सतह पाउन अहिले १२० फिटभन्दा तल जानुपर्छ। यो अवस्था बर्सेनि बढ्दै गइरहेको जानकारहरू बताउँछन्।

जलाधारविद् मधुकर उपाध्याय चुरेको निरन्तर दोहोनले अतिवृष्टि, अनावृष्टिका साथै तराईमा बाढीको जोखिम बढाएको बताउँछन्। ‘चुरे दोहोनले उत्तर–दक्षिण बग्ने अधिकांश खोलाको धार परिवर्तन गराइरहेको छ,’ उनी भन्छन्, ‘यसले सानो वर्षाले पनि तराई जलमग्न हुने गरेको छ।’ चुरेको वन विनाश मात्र रोक्न सक्दा पनि बाढीपहिरो कम हुने उनी बताउँछन्।

चुरे दोहोन, वन विनाश, जथाभाबी खानीजन्य पदार्थ उत्खनन् गर्दा तराई क्षेत्रका पानीको मुहान सुक्दै गएको जानकारहरू बताउँछन्। चुरेमा बढिरहेको अनियन्त्रित दोहनले तराईको उर्वर भूमि र जलभण्डार हरेक वर्ष मासिरहेका छन्। यसको असरले समुदाय विस्थापनमा पर्ने, कृषि उत्पादनमा ह्रास आउने र औद्यागिक संस्कृतिको अवसान हुने खतरा बढ्छ। मानव समुदायले आफ्नो निहित आवश्यकता पूरा गर्न जल र जमिनको उपयोग गर्दा वातावरणीय प्रणालीमा पर्न जाने प्रतिकूल असरलाई ख्याल नराख्दा त्यसको असर प्रकृतिमा परेको छ।

विज्ञहरूका अनुसार अहिले तराईमा ठूलाठूला आँपका बगैंचा कम हुँदै गएका छन्। नदी दोहन, वन विनाश, जथाभाबी सडक निर्माणका कारण प्राकृतिक प्रक्रियामा पारेको प्रभावले तराईको उत्पादकत्व घटिरहेको छ। पानीका मुहान सुकेपछि मध्यपहाड र तराईका अधिकांश जिल्लामा खानेपानीको संकट देखिन थालेको छ।

चुरे विनाशले बगरमा परिणत भएको धनुषाको छेडीपोखरी। तस्बिरः रासस

चुरेको बाक्लो जंगलले कमजोर भूबनोटलाई अँठ्याएर राखेको छ। पानी पर्दा जमिनले सोस्छ र जमिनमुनि रिचार्ज हुन्छ। त्यही भूमिगत पानी मध्यपहाडमा मूल बनेर फुट्छ। तराईका पोखरी भरिन्छन्। तर चुरेको अवैध उत्खनन्सँगै तराईका पोखरी उजाड देखिन थालेका छन्।

यसको परिणाम जमिनमुनिको पानीको सतह हरेक दिन भासिँदै गइरहेको जलस्रोतविद् अजय दीक्षित बताउँछन्। ‘चुरे अतिक्रमणले पानीको अभाव मात्रै होइन तराई–मधेशका अधिकांश क्षेत्र सामान्य झरीमा पनि डुबानमा पर्न थालेका छन्,’ उनी भन्छन्, ‘डाँडै नांगो हुने गरी वन मासिएपछि बाढीको गति तीव्र हुन्छ। यसले क्षति पनि बढी गर्छ।’ पछिल्ला दुई दशकमा तराई डुबान र बाढीको घटना निकै बढ्नुको कारण चुरे विनाश नै भएको दीक्षितको बुझाइ छ।

जानकारहरूका अनुसार ३० को दशकसम्म तराईमा विनाश गर्ने बागमती र कोसीको बाढी मात्रै थियो। अहिले भने अवस्था जटिल बनेको छ। प्राकृतिक स्रोतको अत्यधिक दोहनले साना खोल्सामा समेत विनाशकारी बाढीको प्रकोप देखिन थालेको छ। केही बेरको झरीमै कमलो माटो, गिट्टी र ढुंगा बगाएर तराईमा थुप्रिन थाल्छ। सोही कारण जब पानी पर्छ, चुरेको फुसफुसे माटो बगेर जान्छ। बालुवा, ढुंगा, गिट्टीलाई नदीले बगाएर लैजान्छन् अनि पानीले तराईको बस्ती डुबाउँछ। खेतमा बालुवा र माटो थुप्रिन्छ।

आकाशबाट परेको पानी जमिनले सोसेर भित्र भण्डारण हुने हो। त्यस्तै ठूला नदीबाट बिस्तारै सोसेर भूमिगत पानी भण्डारण हुन्छ। अहिले भण्डारण हुने पानीभन्दा प्रयोग हुने मात्रा बढी छ। गहिरो इनार र ठूला घर बनाउने चलन बढ्दै गएको छ। यसले पनि तराईमा पानीको हाहाकार बढेको दीक्षितको भनाइ छ।

‘पहिला खयरका जंगल थिए। खोलामा ढुंगा थिए जसले गर्दा पानी रोकिँदै बग्थ्यो। अहिले पानी बग्दा तीव्र गतिमा आउने भयो, कुनै अवरोध भएन र चुरेबाट भाबर क्षेत्रमा माटोसँग पानी मिसिएर आउँदा बाक्लो भएर जमिनले सोस्न सकेन,’ उनी थप्छन्।

३० को दशकसम्म हरेक बर्खायाममा तराईमा सतहिया (सात दिनसम्म पानी) पर्थ्यो। यस्तै बर्खे झरीले धारा कुवा रिचार्ज हुन्थे र सुख्खा मौसममा पनि गाउँका कुवा धारामा पिउने पानीको अभाव हुन्थेन। करेसाबारीमा सागसब्जी लगाउन पाइन्थ्यो। पछिल्लो समय चुरेसँगै तल्लो भेगमा भएको चारकोसे झाडी मासिँदै छ। परिणाम तराईमा सतहिया नभएको दशकौँ बितिसक्यो। पानीको अभाव चर्किंदो छ।

गर्मीका बेला तराई क्षेत्रमा पानी अभाव हुन थालेको छ। गत वर्ष महोत्तरीको उत्तरी भेगका सातवटा गाउँमा पानी अभाव भयो। सिरहा, सप्तरीका कतिपय गाउँमा इनारबाट पानी आउन छोडिसकेको छ।

‘नागरिकले दीर्घकालका लागि सोच्दैनन्, उनीहरूले तात्कालिक आवश्यकतालाई मात्र हेर्छन्। त्यसकारण नीति, नियम र नियमनको कुरा सरकारको तर्फबाटै हुनुपर्छ।’

यस्तै अवस्था रहे तराईमा पानीकै लागि लडाइँ सुरु हुने पत्रकार झा बताउँछन्। ‘यसको मुख्य कारण मध्यवर्ती क्षेत्रका रूपमा रहेको जंगल सखाप हुनु हो,’ उनी भन्छन्, ‘विकासका नाममा भइरहेको चुरेको जग भत्काउने काम तत्काल बन्द गर्नुपर्छ।’

जानकारहरूका अनुसार चुरे उत्खनन्मा महेन्द्र राजमार्गको पनि थोरबहुत हात छ। यो अलि तल्लो भेगमा बनेको भए तराईमा विनाश कम हुने उनीहरू बताउँछन्। अव्यवस्थित सहरीकरण र वन फडानीका कारण जमिनले पर्याप्त मात्रामा वर्षाको पानी सोसेर पठाउन नसक्नु पनि भूमिगत पानीको सतह तल हुँदै जानुको अर्को कारण भएको धेरैको बुझाइ छ।

भूगर्भशास्त्री डा. पन्थी जथाभावी बनाइएको सडक र अव्यवस्थित बसोबासले प्राकृतिक प्रकोपका घटना बढ्ने बताउँछन्। ‘डाँडाकाँडा सबै कोर्तर्दा पहिरो, भूक्ष्यको प्रकोप बढ्छ,’ उनी भन्छन्, ‘यसले भूकम्प आउँदा हुने क्षति पनि बढ्छ।’

जलस्रोतविद् दीक्षित भन्छन्, ‘नागरिकले दीर्घकालका लागि सोच्दैनन्, उनीहरूले तात्कालिक आवश्यकतालाई मात्र हेर्छन्। त्यसकारण नीति, नियम र नियमनको कुरा सरकारको तर्फबाटै हुनुपर्छ।’ नदीजन्य वस्तुको दोहन रोक्नुका साथै रुख रोप्न र कृत्रिम पोखरीको निर्माण गर्न उनी सुझाउँछन्।

‘आफ्नो क्षेत्रको भूमिगत पानीको अवस्थाबारे स्थानीय सरकारहरूले नक्सा बनाउन अब जरुरी भइसक्यो,’ उनी भन्छन्, ‘त्यसपछि के कति र कसरी पानी तान्ने भन्ने कुराबारे नीति बनाउनुपर्छ।’

चुरे पहाडबाट बगेर आउने भललाई दुई दशक अगाडिसम्म तराईमा उब्जनी बढाउने पानी मानिन्थ्यो। चुरेबाट बगेर आउने पाँगो माटोले तराईलाई उर्बर बनाउँथ्यो। अहिले भलपानीले पाँगो माटो होइन बालुवा र गेग्य्रान बोक्छ। जसले तराई-मधेशमा बबण्डर मच्चाइरहेको छ। क्रमशः

पूर्वाधारमा निगरानी : १

प्रकाशित: ४ पुष २०७९ ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 14 =