पूर्वाधारमा निगरानी : ३

मदन भण्डारी राजमार्ग : लहडको विकासले निम्त्याएको विनाश

मस्त केसी १९ पुष २०७९ ९:४४
78
SHARES
मदन भण्डारी राजमार्ग : लहडको विकासले निम्त्याएको विनाश चुरेको माथिल्लो भाग रोल्पा बुढागाउँमा रहेको रोल्पा सिमेन्ट उद्योग।

काठमाडौँ- चुनढुंगा खानीको अनियन्त्रित उपभोगका कारण संकटमा परेको चुरेलाई मदन भण्डारी राजमार्ग निर्माणले थप विनाशतर्फ धकेल्न सक्छ। भित्री मधेशका दाङ, उदयपुर, मकवानपुर तथा सल्यान, रोल्पा, गुल्मी, पाल्पालगायतका पहाडी जिल्लामा प्रशस्त चुनढुंगा खानी छन्।

तीमध्ये कतिपय स्थानमा सिमेन्ट उद्योग खुलिसकेका छन् भने कतिपय ठाउँमा खुल्ने क्रममा छन्। खानीको अनियन्त्रित उपभोगले चुरेलाई संकटमा पारेको विज्ञहरूको भनाइ छ। इन्जिनियर रत्नेश्वर लाल कर्ण महेन्द्र राजमार्ग र उत्तर-दक्षिण करिडोर बनेपछि नदीजन्य वस्तुलगायत प्राकृतिक स्रोतको दोहन अत्यधिक बढेको बताउँछन्।

एकातिर सरकारले चुरे तराई र मधेश संरक्षण तथा व्यवस्थापनका लागि भनेर २० वर्षे गुरुयोजना बनाएको छ भने अर्कोतिर आफैँ दोहनमा सक्रिय छ। सरकारले चौथो पञ्चवर्षीय योजना (सन् १९७०-१९७५) देखि नै चुरेको वन संरक्षणमा चासो दिँदै आएको छ। सन् २०११ मा ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ को थालनी भयो। चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा यस कार्यक्रमका लागि २ अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ।

यस वर्ष चुरे र भावर क्षेत्रको गल्छी, पहिरो नियन्त्रण तथा खोचहरूमा पानी पुनर्भरणका लागि ११६ पोखरी निर्माण गर्ने सरकारी योजना छ।

‘दुवैखाले बाढीलाई आमन्त्रण गर्ने विनाशकारी मानवीय गतिविधि हो। डोजरले चिरा पारेको पहाड, बम ब्लास्ट गरेर बनाइने सडक, अन्धाधुन्ध निर्माण गरिएका बहुतले भवन, तटबन्ध वा बाँध, अवैज्ञानिक खेतीप्रणाली बाढीपहिरोका कारक हुन्।’

जलाधारविद् मधुकर उपाध्याय पनि मानवीय गतिविधिले भावर क्षेत्र, भित्री मधेश र पहाडलाई पहिरो तथा तराई-मधेशलाई बाढीले सताएको बताउँछन्। उनका अनुसार ठूलो वर्षाका कारण तत्कालै आउने ‘फ्लस फ्लड’ र नदीमा पानी बढ्दै गएपछि आउने ‘रिभर फ्लड’ दुवै बढिरहेको छ।

‘दुवैखाले बाढीलाई आमन्त्रण गर्ने विनाशकारी मानवीय गतिविधि हो’, उनी भन्छन्, ‘डोजरले चिरा पारेको पहाड, बम ब्लास्ट गरेर बनाइने सडक, अन्धाधुन्ध निर्माण गरिएका बहुतले भवन, तटबन्ध वा बाँध, अवैज्ञानिक खेतीप्रणाली बाढीपहिरोका कारक हुन्।’

पानीको प्राकृतिक वहावमा हुने अवरोधलाई बाढीपहिरोको अर्को ठूलो कारण मानिन्छ। दुई वर्षअघि सप्तरीको तिलाठीमा आएको बाढीदेखि कास्की अर्मलालगायत क्षेत्रमा बर्सेनि जमिनमा पर्ने भ्वाङ यसका उदाहरण हुन्। उपाध्याय अधिकांश सडक पानीको बहावलाई अवरोध गर्ने गरी बनेको बताउँछन्।

हिउँदमा विकासको काम गर्दा बर्खामा मनसुन चल्छ भन्ने कुरा बिर्सने र नदी किनार वा पहिले पानी जमेको ठाउँमै बस्ती बस्नुलाई भूगर्भविद् सुमन पन्थी जानाजान विपत्तिलाई दिइएको निम्तो ठान्छन्। आफैँलाई हानि हुने गरिको वातावरणविरोधी गतिविधिमा लगाम लगाउनैपर्ने उनको सुझाव छ।

बाढीपहिरोबाट हुने क्षति न्यूनीकरणका लागि जनचेतना, पूर्वसूचना, राहत, उद्धारजस्ता तात्कालिक उपाय पर्याप्त नहुने जानकारहरूको निष्कर्ष छ। जलस्रोतविद् अजय दीक्षित बाढीको जोखिम घटाउन वन र जलाधार संरक्षणसँगै खोला किनारमा तटबन्ध निर्माणका लागि लगानी बढाउनुपर्ने बताउँछन्।

उनी भन्छन्, ‘अब पनि बाढीपहिरोले जनधनमा पुगेको क्षतिको समीक्षा गरेर व्यवस्थापनको उपाय नखोज्नु भनेको अझ ठूलो विनाश पर्खनु हो।’

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठ वातावरणलाई प्रमुख प्राथमिकतामा राखेर विकासको काम अघि बढाउनुपर्ने बताउँछिन्। ‘अहिलेको लागि मात्रै हेरेर हुँदैन, विकासमा दूरदर्शिता हुनुपर्छ,’ उनी भन्छिन्, ‘अहिलेको विकासले भोलि वातावरण, मौसम र जनजीवनमा पर्ने प्रभाव पनि ख्याल गर्नुपर्छ।’

वन्यजन्तुको बाटो विच्छेद

चुरे एकमात्र यस्तो जैविक कोरिडोर हो, जसका माध्यमबाट नेपालका हरेक स्थानमा वन्यजन्तु आवतजावत गर्न सक्छन्। पूर्वबाट हिँडेको कुनै जनावर विना अवरोध पश्चिम पुग्न सक्छ। तर चुरेलाई खण्डखण्ड पारेर मदन भण्डारी राजमार्ग बनेसँगै पूर्व-पश्चिम गाडी हुँइकिनेछन्। वरपर सटर जोडिनेछन्। मानिसको चहलपहल बढ्नेछ।

वन्यजन्तु संरक्षणमा लागेका अभियन्ता उत्तरदक्षिण वन्यजन्तुको आवागमन गर्न वन्यजन्तुले चुरेको बाटो प्रयोग गर्ने बताउँछन्।

डब्लूडब्लू एफ नेपालकी सिनियर क्याम्पेन एन्ड एजुकेसन अफिसर शिखा गुरुङ चुरे नेपालको एउटा मात्रै वन्यजन्तु सजिलै उत्तर-दक्षिण र पूर्व-पश्चिम आवातजावत गर्ने जैविक मार्ग भएको बताउँछिन्।

‘वन्यजन्तुका लागि घना जंगल नै सुरक्षित बासस्थल हो,’ उनी भन्छिन्, ‘चुरेको बीचबाटै बन्ने बाटोले उनीहरूको क्रीडास्थल, खाना, बस्न र लुक्न चाहिने स्थान विच्छेद गरिदिन्छ।’ सडकमार्ग अघि बढाउँदा वन्यजन्तु आवातजावतका साथै उनीहरूको प्राकृतिक आनीबानीमा अवरोध गर्ने उनको बुझाइ छ।

चुरेको जैविकमार्गले राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्रका वन्यजन्तु वारपारमा समेत सहयोग पुर्‍याउँछ। राजमार्गले वन्यजन्तुको बाटो विखण्डन हुन गई बासस्थान, उनीहरूको आहारमा समस्या हुने र दुर्लभ वन्यजन्तु लोप हुने समस्या हुन सक्छ।

धरान-चतरा खण्डमा चुरेको बीचबाट अगाडि बढेको मदन भण्डारी राजमार्ग।

चुरेमा हात्ती, बाघ, चितुवा, मृग, चित्तल, बँदेल, हुँडार, भालुलगायत जनावर ओहोरदोहोर गर्छन्। यसै पनि जंगल क्षेत्रमा पाइने दुुर्लभ वन्यजन्तु सालक, नीलगाई, हरिण, जरायो, घोरल, बँदेललगायत संकटमा परेका छन्। बाटोको विकाससँगै हुने वन विनाशले उनीहरूको ओहोरदोहारमा असर मात्रै गर्ने छैन, पानीको स्रोत र बासस्थानसमेत मास्नेछ।

चुरेमा राजमार्ग बनाएर वन्यजन्तु ओहोरदोहोर गर्ने बाटोमा धराप थाप्ने काम मात्रै नभएर पानीको मुहानसमेत सुकाउने जानकारहरू बताउँछन्। ‘सुख्खायाममा पिउने पानी नहुँदा वन्यजन्तु पानीका लागि चुरे तल र आसपासका मानवबस्तीमा जाने गर्छन्,’ गुरुङ भन्छिन्, ‘यसले वन्यजन्तुका साथै मानवीय क्षति पनि बढाउँदै गएको छ।’ यसमै राजमार्ग बन्दा मानव-वन्यजन्तुबीचको द्वन्द्व बढ्ने र चुरे दोहन हुने उनको बुझाइ छ।

वन्यजस्तुको प्राकृतिक बासस्थानमा आहारा, पानीलगायतको अभाव हुँदा मानववस्ती पस्ने क्रम बढेको छ। जानकारहरूका अनुसार मानवबस्ती नजिकै आएपछि स्थानीयबासीले वन्यजन्तुलाई अनावश्यक दुःख दिने, कुट्ने, खेद्नेलगायतका गतिविधि देखाउँछन्।

चुरे क्षेत्रमा पाइने वन्यजन्तुको महत्त्व र आवश्यकताको विषयमा त्यस आसपास बसोबास गर्ने सर्वसाधारणले नबुझ्दा समस्या भएको ‘संरक्षण गर्नुपर्छ, दुर्लभ वन्यजन्तुको सिकार गर्नु हुँदैन भन्ने सर्वसाधारणलाई ज्ञानै छैन,’ गुरुङ भन्छिन्, ‘आरक्षण क्षेत्रबाहिरका वन्यजन्तुको संरक्षणका लागि सरकारले संरक्षणको नीति ल्याउन सकेको छैन।’ त्यसैले पनि चुरे क्षेत्रका वन्यजन्तु संकटमा पर्दै गएको उनको भनाइ छ।

मानवीय चाप, जल, जमिन र जंगलको दोहनले चुरेको पर्यावरण खल्बलिएको जानकारहरूको भनाइ छ। जैविक विविधतामाथि अनुसन्धान गर्दै आएका रिसोर्स हिमालय फाउन्डेसनका प्रमुख कार्यक्रम अधिकृत डा. दिनेश न्यौपाने बासस्थान कम हुँदा र सीमित क्षेत्रभित्र साँघुरिएर बस्नुपर्ने अवस्था आउँदा वन्यजन्तु मानवबीच द्वन्द्व बढेको बताउँछन्।

‘आवश्यक आहारा र क्षेत्र पुगेन भने वन्यजन्तु आसपासमा गाउँसम्म पुग्छन्,’ उनी भन्छन्, ‘यही कारण मानिससँग जम्काभेट हुँदा आक्रमणमा पर्छन्।’ मानवीय क्षति पुर्‍याउने अवस्था नहुँदा वन्यजन्तुलाई चलाउन नहुने उनको सुझाव छ।

डब्लूडब्लूएफकी गुरुङ पनि मानव-वन्यजन्तु द्वन्द्व बढ्नुमा मानिसकै गतिविधि प्रमुख कारण भएको औँल्याउँछिन्। ‘प्राकृतिक स्रोत मानिसजत्तिकै वन्यजन्तुकलाई पनि आवश्यक छ भन्ने सबैले बुझ्नुपर्छ,’ उनी भन्छिन्, ‘स्रोतको उपभोग गर्दा उनीहरूको प्राकृतिक वातावरणमा असर पुर्‍याइदिन भएन।’ अर्बौँ रुपैयाँ लगानीमा बन्ने विकास परियोजनाले वातावरण र वन्यजन्तुमा ख्याल नगर्दा समस्या निम्तिएको उनको बुझाइ छ। क्रमश:

पूर्वाधारमा निगरानी : २

मदन भण्डारी राजमार्ग : चुरे चिर्ने बाटो

पूर्वाधारमा निगरानी : १

प्रकाशित: १९ पुष २०७९ ९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =