भ्रदगोल पूर्वाधार

बुटवल : बजारै पुरिने खतरा

विनोद परियार ७ जेठ २०८० १८:४९
132
SHARES
बुटवल : बजारै पुरिने खतरा पहिरो प्रभावित बुटवलको ज्योतिनगर क्षेत्र । तस्बिरहरू : विनोद परियार

जब आकाशमा बादल मडारिन थाल्छ। बुटवल ज्योतिनगर र लक्ष्मीनगरका स्थानीयको निद्रा हराउँछ। दुई वर्षअघि पहिरोले खुइलिएको डाँडा अझै पनि उस्तै छ। आकाश गर्जन थालेसँगै त्यही चुरे डाँडाबाट पहिरो बस्तीमा आउने त होइन भन्ने पिरलोमा पर्छन् यहाँका बासिन्दा। ‘पानी पर्न थालेपछि डर लाग्छ’, २०७८ साल भदौ १४ गतेको पहिरोले विस्थापित ७० वर्षीय रेउमाया गुरुङले भनिन्।

गुरुङको घर २ वर्षअघि पहिरोले क्षतविक्षत बनेको थियो। ‘५० वर्ष भयो यहाँ बस्न थालेको, दुई वर्षदेखि आफ्नै घर सबैभन्दा असुरक्षित भयो’, रेउमायाले भनिन्, ‘यो वर्ष पहिरो नियन्त्रणको काम त भइरहेको छ, तर मन ढुक्क छैन।’ बुटवल-३ ज्योतिनगर चेतना पासाङ टोलकी रेउमाया मात्रै होइनन् पहिरोले विस्थापित अझै पनि त्रसित छन्।

‘अन्त जाने ठाउँ छैन, यहाँ बस्न पहिरोकै डर छ’, ज्योनितगरकी ६२ वर्षीया लक्ष्मी श्रेष्ठले भनिन्, ‘परार पहिरोले घरमा क्षति भयो, पोहोर पानी पर्न थालेपछि वर्षाभरि भाडामा बस्नुपर्‍यो, यो वर्ष पनि के हुने हो भन्ने डर छ।’

ज्योतिनगरकै ६४ वर्षीया शिवसती श्रेष्ठको मन चुरेजस्तै छियाछिया बनेको दुई वर्ष पुग्यो। ‘भर्खर घर बनेको थियो, बाढी आएर पस्यो’, उनले भनिन्, ‘आकाश कालो हुन थालेपछि मन आत्तिन्छ।’ करिब १० वर्षको बसाइपछि श्रेष्ठले मुस्किलले पक्की घर बनाएकी थिइन्। घरमा दुई वर्षअघि चुरेबाट बग्दै आएको ढुंगासहितको लेदो छिरेपछि श्रेष्ठलाई ऋणले थिचेको छ।

‘अहिले मर्मत गरेर घरमा बसे पनि वर्षा सुरु भएसँगै जोखिम बढेको उनी बताउँछिन्। त्यसो त ज्योतिनगर र लक्ष्मीनगरका बस्ती झन् पछि झन् असुरक्षित बन्दै गएका छन्। चुरेको माथिल्लो भागबाटै जमिन भासिएर पहिरो गएपछि डाँडा खुइलिएको छ।

चुरेमा देखिएको क्षतविक्षत दृश्य दुई वर्षदेखि कायमै छ। बुटवलको सिरानका रूपमा रहेको चुरे पहिरोले तहसनहस भएकाले बुटवल बजार नै जोखिममा देखिएको छ।

२०५५ साल र २०७८ सालमा चुरेको काखैमा रहेको ज्योतिनगर र लक्ष्मीनगरका बस्तीमा पहिरो आएकाले बुटवल बजार जोखिममा रहेको भूगोलविद् डा.भोजराज कडरियाले बताए।

उनका अनुसार चुरे पहाड आफैँमा कमजोर भूबनोटको भएकाले पहिरोले छियाछिया देखिएको चुरेको डाँडाले राम्रो संकेत देखाउँदैन। उनले चुरे कान्छो पहाड भएकाले त्यसै पनि कमजोर बनेको बताए।

‘पानी परेपछि चुरे घिउजस्तै पग्लन्छ’, डा. कडरियाले भने, ‘पहाडको टुप्पोबाट पानी पस्यो भने त्यो पहाड बिस्तारै खलबलिन्छ, त्यसरी पहाड खलबलिएपछि पुरै डाँडै बग्न सक्छ।’

दुई वर्षअघि चुरेबाट बगेको लेदोसहितको बाढी बुटवलको मुख्य बजार क्षेत्रसम्म पुगेको थियो। ‘पानी पर्न थालेपछि रातभर जागा बस्नुुपर्छ’, ज्योतिनगर मिलनपथ पहिरो नियन्त्रण समितिका अध्यक्ष हस्त केसीले भने। उनले ७८ सालमा एक दर्जन घर र सयौँ परिवार विस्थापित भएकाले फेरि त्यही नियति दोहरिने शंकाले पिरोल्ने गरेको सुनाए।

त्यसो त यो क्षेत्र पहिल्यैदेखि पहिरोको जोखिममा थियो। २०५५ भदौ २० गते पहिरोका कारण ५७ घर विस्थापित भएका थिए।

चुरेलाई नेपालको कान्छो पहाड भनिन्छ। बुटवल बजार त्यही चुरेको फेदीमा छ। चुरेको खोँचबाट बग्दै आएको तिनाउ नदीको किनारमा अवस्थित बुटवलको मुख्य बजार क्षेत्र जति प्राकृतिक रुपमा सुन्दर छ, त्यति नै बाढीपहिरोको जोखिममा छ।

बुटवलदेखि केही उँचो भागमा रहेको बुटवल-३ र ४ मा पर्ने ज्योतिनगर र लक्ष्मीनगर बस्ती आवासीय हिसाबले निकै लोभलाग्दा छन्। तर यही लोभलाग्दो क्षेत्र भूगर्भशास्त्रीले दुई दशकअघि नै बसोबासका हिसाबले उपयुक्त नभएको सिफारिस गरेको थियो। २०३८, २०५५ र २०७८ गरी ३ पटकसम्म ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र पहिरोले नराम्रोसँग प्रभाावित बनेको इतिहास छ।

२०५५ साल भदौ २० गते चुरे पहाड खसेपछि ज्योतिनगर लक्ष्मीनगर क्षेत्रमा ५७ घर क्षतिग्रस्त बनेको थियो। त्यतिखेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले स्थलगत निरीक्षणसमेत गरेका थिए। पहिरोपछि तत्कालीन बुटवल नगरपालिकाले बुटवल तामनगरमा पहिरोबाट विस्थपितलाई स्थानान्तरण गरेको थियो।

‘२०५५ सालमा आएको बाढीपछि भूगर्भविद्हरूको एउटा टोली आएको थियो, बस्तीको माथि डाँडा नै चिराचिरा परेको भनेर रिपोर्ट दिएका थिए’,  बुटवल उपमहानगरका तत्कालीन उपमेयर विमलबहादुर शाक्यले भने। उनका अनुसार तत्कालीन समयमा नगरपालिकाले बायो इन्जिनियरिङ गरेर पहिरो रोकथाम गरेको हो।

‘अहिले पनि चुरेको पहिरोले मन आत्तिन्छ, बुटवल नै जोखिममा छ’, उनले भने, ‘राष्ट्रिय बजेटले पहिरो नियन्त्रणका लागि काम गर्नुपर्छ, अन्यथा पहिरोले बस्ती जोगाउन सकिँदैन।’

उनले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र पहिल्यैदेखि नै असुरक्षित रहेको बताए। अनावश्यक दोहन, मानवीय स्वार्थका कारण पनि ज्योतिनगरमा पहिरो निम्तिएको उनको भनाइ छ।

चुरे संरक्षणका लागि खोलिएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले गरेको अध्ययनमा डाँडाको माथिल्लो भागमा धाँजा फाटेको उल्लेख छ। समितिले गरेको अध्ययनमा वसन्तपुर डाँडाको केही तल्लो भागमा २०७२ सालको भूकम्पपछि धाँजा फाटेको छ। वर्षामा त्यहीँबाट पहिरो जाने र बुटवलको ज्योतिनगर, लक्ष्मीनगर र आदर्श नगर प्रभावित हुनसक्ने अध्ययनमा उल्लेख छ।

चुरेको माथिल्लो भागमा पहिरो नियन्त्रणका लागि काम भइरहेको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले जनाएको छ। चुरे निकै संवेदनशील भए पनि त्यहाँ लक्ष्मी पार्क, पैदलमार्ग, सडक र मन्दिरजस्ता भौतिक पूर्वाधार निर्माण गरिनुले पनि पहिरो देखापरेको हुनसक्ने अनुमान छ।

पहिरो नियन्त्रणका लागि बस्तीमा काम धमाधम

चुरेको पहिरोका कारण सिंगो बुटवल बजार जोखिममा रहेकाले बुटवल उपमहानगरले विपद् व्यवस्थापनबाट हुने गरी पहिरो नियन्त्रणका लागि पूर्वाधार निर्माण गरेको छ। बुटवलले विपद् पूर्वाधारका लागि चालु आर्थिक वर्ष ०७९/८० का लागि दुई करोड ९४ लाख रुपैयाँ छुट्यााएको बुटवल उपमहानगरका वन वातावरण तथा विपद् व्यवस्थापन शाखाका वातावरण इन्जिनियर योगेश चापागाईले बताए।

उनका अनुसार दुई करोड रुपैयाँ विपद् कोषका लागि छुट्याइएको छ। ज्योतिनगर पहिरो नियन्त्रणका लागि ग्याबिन, रिटेरिङवाल, खोल्साखोल्सी सुधार, मर्मत, कल्भर्ट निर्माणका लागि ८५ लाख रुपैयाँ बजेटको काम भइरहेको नगरपालिकाका प्रवक्ता शिव रानाले बताए। उनले तिनाउ नदीको कटान रोक्न जाली लगाउने र ज्योतिनगर पहिरो प्रभावित क्षेत्रमा खोल्साखोल्सीमा पर्खाल लगाउने काम भइरहेको बताए।

‘स्थानीय सरकारको क्षमताले भ्याउनेसम्मका विपद्को तयारीमा हामी जुटेका छौँ’, प्रवक्ता रानाले भने। बुटवलको वडा न. ३ र ४ मा अहिले पूर्वाधार निर्माणका काम धमाधम चलिरहेको छ।

बुटवल वडा न. ३ का वडा सदस्य अमृत खड्काले पहिरोबाट करिब एक हजार घर जोखिममा रहेकाले वडा तहबाट पनि नियन्त्रणको कामलाई तीव्रता दिइएको बताए। स्थानीय सरकारले बस्तीमा पहिरो पस्न नदिने र सुुरक्षित गर्ने उपायका काम गरिरहेको भए पनि दीर्घकालीन रूपमा पहिरो नियन्त्रण गर्न प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने उनले बताए।

‘नगरपालिकाले सक्दो गरेको छ, तर बजेट पर्याप्त नहुँदा दीर्घकालीन काम गर्न पाएका छैनौैँ’, जनप्रतिनिधि खड्काले भने। बुटवल उपमहानगरपालिकाद्वारा ज्योतिनगर क्षेत्रका सम्भावित जोखिमयुक्त घरको बिमा गर्ने योजना उपमहानगर छ।

नगरप्रमुख खेलराज पाण्डेय आफैँले सम्भावित जोखिमको क्षतिबाट जोगाउन घरको बिमाका लागि अध्ययन गर्न लगाएको प्रवक्ता रानाले बताए। ‘पहिरोबाट प्रभावित नहुनका लागि नगरपालिकाले सक्दो काम गरिरहेको छ’, उनले भने।

तिनाउ किनारका बस्ती पनि जोखिममा

वर्षायामसँगै तिनाउ किनारका बस्ती सधैँ जोखिममा पर्छ। अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले तीव्र कटान गर्ने, बस्तीमा बाढी पस्ने समस्या देखिएको छ। गत वर्ष पनि केही घर बगाएको थियो। तिनाउ नदी अतिक्रमण गरी बसेका २० हजार घर जोखिममा छन्। बुटवल उपमहानगरले किनारका बस्तीलाई जोगाउन तटबन्धको काम गरेको छ।

बुटवल उपमहानगरले बस्ती जोगाउन यस वर्ष उत्खननसमेत रोकेको छ। तिनाउका कारण बुटवलका सुन्दरनगर, देवीनगरका हात्तीसुुढ, मझुवा, बुुद्धनगर, प्रगतिनगरलगायतका बस्ती जोखिममा छन्। तिनाउको छेउमा घर बनेकाले बस्ती जोखिममा परेको हो। वर्षा सुरु भएपछि यस वर्ष पनि खोला किनारका बासिन्दा रातभर जागा बस्नुपर्नेछ।

प्रकाशित: ७ जेठ २०८० १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + five =