कीर्तिमान नजिक केन, शीर्षचार नजिक टोटनहम

हिमाल प्रेस २१ पुष २०७९ १०:१५
6
SHARES
कीर्तिमान नजिक केन, शीर्षचार नजिक टोटनहम

काठमाडौँ- टोटनहममा पछिल्लो समय छाइरहेको निराशालाई ह्यारी केनले बुधबार राति केही हदसम्म कम गरेका छन्। उनले क्रिस्टल प्यालेसविरुद्ध दुई गोल गरे। उनले दोस्रो हाफमा सरासर दुई गोल गरेपछि टोनहमले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ४–० को जित दर्ता गर्‍यो। टोटनहमका बाँकी दुई गोल माट डोहट्री र ह्युङ मिन सनले गरे।

उता नोटिङहम फरेस्टले साउथह्याम्पटनलाई १–० ले हरायो। यही जितले नोटिङहमलाई रेलिगेसन क्षेत्रबाट बाहिर निकाल्यो। अरु खेलमा उल्भरह्याम्पटन र एस्टन भिल्लाले १–१ को बराबरी खेले भने वेस्टह्याम लिड्स युनाइटेडसँग २–२ को बराबरीमा रोकियो।

विश्वकपपछि खेलेका दुई खेलबाट एक अंक मात्र बटुलेका टोटनहम शीर्ष चारको दौडबाट बाहिरिएला कि भन्ने डर उत्पन्न भएको थियो। गत सिजन टोटनहमलाई चौथो बनाएका प्रशिक्षक एन्टोनियो कोन्टेले यसपल्ट त्यस्तो सफलता दोहोर्‍याउने वाचा गर्न नसकिने बताएका थिए।

तर यो जितले टोटनहमलाई शीर्ष चारको दौडमा फर्काउने अपेक्षा गरिएको छ। पाँचौँ स्थानको टोटनहम र चौथो स्थानको म्यानचेस्टर युनाइटेडबीच अब दुई अंकको दूरी छ। यद्यपि युनाइटेडले टोटनहमको भन्दा एक खेल कम खेलेको छ।

पछिल्लो खेलमा एस्टन भिल्लासँग हारेपछि कोन्टेले प्रदर्शनमा सुधार हुनुपर्ने बताएका थिए। त्यसकारण प्यालेसमाथिको जितले उनी प्रशन्न देखिए। ‘यो टिम मानसिक रुपमा बलियो छ। भिल्लासँग खेलाडीहरू बलियो नदेखिए पनि आजको खेलमा उनीहरूले आफूलाई प्रमाणित गरे,’ कोन्टेले भने, ‘यो तीन अंक महत्त्वपूर्ण छ। किनभने यसले हामीलाई चौथो स्थानसँगको दूरी बढ्न दिँदैन। फेरि जितिरहे मात्र आत्मविश्वास बढ्छ। यसकारण यो खेल जित्नैपर्ने थियो।’

पहिलो हाफमा प्यालेस बलियो देखिए पनि दोस्रो हाफमा स्ट्राइकर केनले पाँच मिनेटभित्र दुई गोल गर्न सफल भए। प्रिमियर लिगमा ३०० औँ खेल पूरा गरेका केन टोटनहमको सर्वाधिक गोलकर्ता बन्न मात्र तीन गोलले पछि छन्। यो कीर्तिमान अहिलेसम्म जिम्मी ग्रिभ्सको नाममा छ। उनले उत्तरी लन्डनको यो क्लबका लागि दुई ६६ गोल गरेका थिए।

गत साता चेल्सीलाई १–१ को बराबरीमा रोकेको नटिङहम फरेस्ट साउथह्याम्पटनलाई हराउँदै रेलिगेसनबाट बच्ने अभियान बलियो बनाएको छ। पछिल्ला पाँच खेलमध्ये एकमा मात्र हार व्यहोेरेको नटिङहम १५ औँ स्थानमा उक्लियो। १७ अंक बटुलेको नटिङहम र १८ औँ स्थानको एभरटनबीच दुई अंककको दूरी कायम छ।

‘रेलिगेसन क्षेबाट बाहिर निस्किन पाउँदा खुसी छौँ। तर हामी फुर्किएका छैनौँ। किनभने प्रत्येक खेल हाम्रा लागि महत्त्वपूर्ण छन्। फेरि हाम्रो लक्ष्य रेलिगेसनबाट बच्ने मात्र होइन, बरु सकेसम्म अंक तालिकामा माथि रहने हो। यसका लागि हामी मेहनत गरिरहेका छौँ,’ यही सिजन प्रिमियर लिगमा बढुवा भएको फरेस्ट प्रशिक्षक स्टिभ कुपरले बीबीसीसँग भनेका छन्।

लिड्सको रंगशाला एल्लान्ड रोडमा वेस्टह्याले ४६ औँ मिनेटमा २–१ को अग्रता लिएको थियो। लुकास पाक्वेटाले ४५ औँ मिनेटमा गोल गरेपछि खेलमा फर्किएको वेस्टह्यामलाई जियानलुका स्कामाक्काले अघि बढाएका थिए।

तर ७० औँ मिनेटमा रोड्रिगोले गोल गरेपछि लिड्सले खेल २–२ को बराबरीमा पुर्‍यायो। जसले गर्दा अक्टोबर यता पहिलो जित दर्ता गर्ने वेस्टह्यामको इच्छा पूरा भएन। लिड्सको पहिलो गोल भने विल्फ्रिड नोन्टोले गरेका थिए। यो नतिजापछि लिड्स १४ औँ र वेस्टह्याम १७ औँ स्थानमा छन्।

प्रकाशित: २१ पुष २०७९ १०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =