आहारारा गोल्डकप : मनाङलाई हराउँदै भुटनिज युथ स्पोर्टस् क्लब सेमिफाइनलमा

हिमाल प्रेस १९ पुष २०७९ १७:३५
6
SHARES
आहारारा गोल्डकप : मनाङलाई हराउँदै भुटनिज युथ स्पोर्टस् क्लब सेमिफाइनलमा

पोखरा- साविक उपविजेता मनाङ मर्स्याङ्दी क्लब २२ औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ। पोखरा रंगशालामा मंगलबार अन्तिम क्वाटरफाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी) १-० गोलअन्तरले मनाङको चुनौती पन्छाएको हो। जीतसँगै पाहुना टोली प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

अब फाइनल प्रवेशका दोस्रो सेमिफाइनलमा बिहीबार उसको भेट चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग हुनेछ।

खेलको १८ औँ मिनेटमा प्रवीण बस्नेतले गरेको प्रहार मनाङ किपरले रोक्न सकेनन्। उनको एकमात्र गोल अन्ततः निर्णायक साबित भएको हो। डिबक्स नजिक रहेका प्रवीणले ओभर हेड आएको बललाई सहजै क्याच गर्दै कीपर बिट भएको अवस्थामा सहजै गोलमा परिणत गरेका हुन्।

उनको गोलसहित १-० को अग्रता लिएको मिनेसोटाले अन्ततः निर्धारित ९० मिनेटसँग कायम गर्दा सर्वाधिक ६ पटकसम्म उपाधि विजेता मनाङ घर फर्किन बाध्य भएको हो। आहारारामा सर्वाधिक उपाधि विजेता मनाङ र अर्को विभागीय क्लब नेपाल पुलिस क्लब हो। उनीहरुले समान ६ पटक उपाधि चुमेका छन्। मनाङ १२ पटक फाइनल पुगिसकेको टिम हो।

गत वर्षदेखि आहारारा खेल्न आएको पाहुना टोली बीवाईएससी अघिल्लो पटक क्वाटरफाइनलमा एपीएफसँग ३-१ ले पराजित भए पनि यसपालि सेमिफाइनल यात्रा गर्न सफल छ।
खेल अवधिभर दुवै टिमले गोलका केही महट्त्वपूर्ण अवसर खेर फालेका थिए।

बुधबारदेखि सेमिफाइनलका खेल सुरु हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ। पहिलो सेमिफाइनलमा साविक विजेता एफिएफ फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटाले क्वाटरफाइनलमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-१ र एफिएफले धरान फुटबल क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै भेट सुनिश्चित गरेका हुन्।

प्रकाशित: १९ पुष २०७९ १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =