आहा-रारा पोखरा गोल्कडप सुरु, धरानद्वारा आयोजक १-० ले पराजित

हिमाल प्रेस १४ पुष २०७९ १७:३१
8
SHARES
आहा-रारा पोखरा गोल्कडप सुरु, धरानद्वारा आयोजक १-० ले पराजित

पोखरा– २२ औं आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि पोखरा रंगशालामा सुरु भएको छ। १० दिनसम्म चल्ने प्रतियोगितामा १० टिमले भाग लिएका छन्। उद्घाटन खेलमा आयोजकलाई १-० गोलअन्तरले पराजित गदै धरान फुटबल क्लब विजयी भएको छ।

खेल सुरुआतको पाँचौं मिनेटमै अग्रता लिएको धरानले अन्ततः निर्धारित ९० मिनेटसम्म अग्रता जोगाउँदै क्वार्टरफाइनल स्थान सुरक्षित गरेको हो। धरानका लागि प्रकाश बुढाथोकीले फ्रिकिकमा गरेको प्रहारले विपक्षी पोस्टको जाली चुम्दा जारी संस्करणमा पहिलो गोल निर्णाायक बन्न पुगेको हो। आयोजक सहारा क्लबले दोस्रो हाफको अन्त्यतिरका केही राम्रा प्रहार गोलमा परिणत हुन नसक्दा पहिलो खेलबाटै बिदा लिनुपरेको हो।

धरानका लागि क्याराभानसहित १५ औं पटकको सहभागिता हो। १६ औं संस्करणमा मात्र उसको लागि सेमिफाइनल अनुभव छ। त्यसबेला धरान नेपाल पुलिससँग १-० को हार बेहोरेको थियो। आयोजक सहाराको निम्ति १२ औं संस्करणको मात्र जीतको अनुभव छ।

यद्यपि, मोफसलको चर्चित सहारा क्लबद्वारा गएको दुई दशकदेखि निरन्तर आयोजित प्रतियोगिताले पुसको चिसो सिरेटो पनि तताउने आयोजकको विश्वास छ।

२३ पुससम्म संचालन हुने प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको भुटानीज युथ स्पोर्टस् क्लब मिनिसोटा, धरान फुटबल क्लब र आयोजकको टिम छन्। गत वर्षको विजेता एपिएफ क्लब हो भने उपविजेता मनाङ मस्र्याङ्दी क्लब हो।

आयोजकले यसपालि पुरस्कार राशिमा वृद्धि गरेको छ। प्रथम पुरस्कारमा २ लाख थप गरि १२ लाख र द्वितीय पुरस्कारमा १ लाख थप गरी ६ लाख कायम गरिएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए। यस्तै, बेस्ट अफ फाइभलाई नगद पुरस्कार २५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, प्रत्येक खेलको म्यान अफ दि म्याच पुरस्कार ८ हजार तथा फाइनलको म्यान अफ दि म्याचलाई १० हजार प्रदान गरिनेछ। भने टिमलाई नगद १० हजार दिइनेछ।

प्रतियोगिताबाट १ करोड ५९ लाख ५० हजार आम्दानी र १ करोड १३ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको क्लब अध्यक्ष सुरज गुरुङले बताए।

यसपालि सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरियो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तामाङलाई नगद ५० हजार र सम्मान पत्र प्रदान गरे। यो पुरस्कारबाट यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विस्ट पुरस्कृत भैसकेका छन्।

यसैबीच, रेफ्री प्रकाश बुढाथोकीलाई बल हस्तान्तरण गरी खेल उद्घाटन गर्दै मेयर आचार्यले पोखरा खेलकुदको सहरको रुपमा विकास भएको बताए। उनले पोखरा महानगरले खेलको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले १ जनवरीमा यहाँ अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनसँगै खेलपर्यटनले थप टेवा दिने विश्वास राखे। ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ नाराका साथ संचालित प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ हो।

खेलबाट बचत रकम क्लबबाट सञ्‍चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लब वरिष्ठ उपाध्यक्ष केशवराज बरालले बताए। एकेडेमीमा हाल १० जिल्लाका १३ जना प्रशिक्षार्थी छन्।

बिहीबारको खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबीच हुने प्रतियोगिता संयोजक विश्वराज बरालले जानकारी दिए।

प्रकाशित: १४ पुष २०७९ १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =