झापाको कनकाई अस्पतालभित्रै अक्सिजन प्लान्ट

हिमाल प्रेस १८ पुष २०७९ २०:०२
40
SHARES
झापाको कनकाई अस्पतालभित्रै अक्सिजन प्लान्ट

झापा– झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई नगर अस्पतालको हाताभित्रको अक्सिजन प्लान्ट सञ्चालनमा आउने भएको छ। नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले सोमबार उक्त प्लान्ट उद्घाटन गरेका छन्। नगरपालिका, विभिन्न संघ संस्था र व्यक्तिगत रूपमा सहयोग संकलन गरी १ करोड ६६ लाख ५ हजार रुपैयाँ लागतमा प्लान्ट स्थापना गरिएको हो।

कोभिड महामारीका बेला मेयर पोखरेलले व्यक्तिगत रूपमा १० लाख रुपैयाँ उपलब्ध गराएर अक्सिजन प्लान्ट स्थापनाको अभियान सञ्चालन गरेका थिए। ‘कोभिडको महामारीका समयमा मानिसले अक्सिजन अभावमा अकालमा ज्यान गुमाउनुपरेको पाएपछि आफ्नै सहयोगमा प्लान्ट स्थनापको अभियान चलाएँ, धेरैले सहयोग गर्नुभयो, त्यसैको परिणाममा आज प्लान्ट स्थापना भएको छ,’ उनले भने।

कोभिडकालदेखि हालसम्म नगरपालिकाले नगरवासीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउँदै आएको उनले बताए। यहाँबाट उत्पादित अक्सिजन आवश्यकताका आधारमा जिल्लाका विभिन्न अस्पतालमा सहुलियत दरमा उपलब्ध गराउन सकिने उनले जानकारी दिए।

अभियानका क्रममा विभिन्न संघ संस्था र व्यक्ति गरी १ सय १७ दाताबाट ५८ लाख ४३ हजार रुपैयाँ संकलन भएको बताइएको छ। नगरपालिकाबाट १ करोड ७ लाख २ हजार २ सय ९२ लगानी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन न्यौपानेले बताए।

प्लान्टको क्षमता दैनिक १६० सिलिन्डर रहेको प्राविधिक प्रवल वाग्लेले जानकारी दिए। कार्यक्रममा अक्सिजन प्लान्ट सञ्चालन गर्न सहयोग गर्ने दातालाई सम्मान गरिएको छ।

प्रकाशित: १८ पुष २०७९ २०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =