नेपाल टि२० लिगमा काठमाडौँको तेस्रो जित

हिमाल प्रेस १७ पुष २०७९ १६:०५
10
SHARES
नेपाल टि२० लिगमा काठमाडौँको तेस्रो जित

काठमाडौँ- नेपाल टि२० लिगमा आइतबार काठमाडौँ नाइट्सले जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ। काठमाडौँले लिगमा जनकपुरलाई दोस्रो पटक हराएको हो। समग्रमा काठमाडौँका लागि लिगमा यो तेस्रो जित हो भने जनकपुरका लागि दोस्रो हार। यो नतिजाको बाबजुद दुई टिमको स्थान परिवर्तन भएको छैन।

काठमाडौँ पाँच खेलबाट ६ अंक बटुलर तेस्रो स्थानमा छ। एक खेल बढी खेलेको जनकपुर भने आठ अंकसहित दोस्रो स्थान र लुम्बिनी अल स्टार्स शीर्षस्थानमा यथावत छन्।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा १८० रनको योगफल तयार पारेको थियो। काठमाडौँका लागि दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गरे। ओपनिङ गरेका सुनम गौतमले ४७ बलमा ६२ र रायन बर्लले ४० बलमा ६१ रन जोडेका थिए।

जवाफी ब्याटिङ गरेको जनकपुर भने १९.१ ओभरमा ९० रन बनाएर अलआउट भयो। जनकपुरको इनिङ्स धरासयी बनाउन काठमाडौँका अविनाश बोहराले १३ रन खर्चिएर चार विकेट हात पारे। पछिल्ला तीन खेलमा एक–एक विकेट लिएका उनको यो जारी लिगमा सबैभन्दा उम्दा प्रदर्शन हो। उनले पोखरा एभेन्जर्ससँगको पहिलो खेलमा भने तीन विकेट लिएका थिए।

जनकपुरका लागि जम्मा तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकको रन बटुले। अफगानी अलराउन्डर शराफुद्दिन असरफले ३१ बलमा ३७ रन बटुले। त्यसैगरी सोमपाल कामी र खडक बोहराको नाममा १० रन रह्यो। काठमाडौँका लागि आज्मतुल्लाह ओमारजाईले दुई विकेट लिए भने कमल ऐरी, अनिल खरेल र बासिर एहमदले एक–एक विकेट लिए।

प्रकाशित: १७ पुष २०७९ १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 15 =